ad ad

खेल


विराटनगर सिटीलाई पराजित गर्दै काठमाडौं रेजर्स प्ले अफमा

विराटनगर सिटीलाई पराजित गर्दै काठमाडौं रेजर्स प्ले अफमा

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १४:२२,

क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि सानदार जित निकाल्दै प्ले अफमा पुग्न सफल भएको छ।

काठमाडौंले २–० ले पछि परेको अवस्था उल्टाउँदै विराटनगरमाथि ५–४ को रोमाञ्चक जित निकालेको हो।

काठमाडौंका लागि स्टेफन विनोङ समिर र छिरिङ गुरुङले एक एक गरे। विराटनगरका पेड्रो मान्जीले दुई तथा एडेलाजा सोमेडे, र कप्तान रन्जित धिमालले समान एक गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोल गर्दै विराटनगर सिटी एफसीलाई १–० को अग्रता दिलाए। रन्जित धिमालको क्रसमा एडेलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गर्न सफल भएका थिए।

१४औं मिनेटमा एडेलाजाको हेडरलाई आशिष गुरुङले क्लियर गर्दै बचाए। १६औं मिनेटमा एडेलाजाको क्रसमा पेड्रो मान्जीको ओभर हेड किक पोस्टबाट थोरै माथि बाहिरिदा विराटनगर अग्रता दोब्बर पार्नबाट चुक्यो। २५औं मिनेटमा सुनिल बलको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै विराटनगरको गोल टारे।

३३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे। सन्तोष तामाङको पासमा मान्जीले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक विकेश कुथ अघि बढेको अवस्थामा गोल गर्न सफल भएका थिए। ३५औं मिनेटमा मेसौके ओलोउमोउले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

उनले गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो। ३६औं मिनेटमा मेसौकेले ओलोउमोउले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। स्टेफन विनोङ समिरको पासमा विक्रम धिमाललाई बिट गर्दै गरेको प्रहार टप कर्नरमा गोल हुदा गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन्। ४१औं मिनेटमा स्टेफेन विनोङ समिरले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए।

उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसौकेको क्रस पासमा सन्जोक राईको हेडर पोस्ट नजिकैबाट बाहिरियो।

५२औं मिनेटमा पेड्रो मान्जीको पासमा अशोक थापाको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै काठमाडौंको अग्रतालाई जोगाउँदा विराटनगर अग्रता लिनबाट चुक्यो। ६८औं मिनेटमा मैसोकेको ह्याट्रिक गर्दै काठमाडौंलाई ४–२ ले अघि बढाए। पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै सिक्स यार्ड बक्सभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन्।

लिगमा यो पहिलो ह्याट्रिक हो। ७९औं मिनेटमा कप्तान रन्जित धिमालले आर्कबाट सुन्दर गोल गर्दै विराटनगरलाई ४–३ को अवस्थामा ल्याए। उनले सन्तोष तामाङका पासमा आर्कमा बल नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए।

८३औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंको जिततर्फ डो-याए। मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएका छिरिङले मेसौकेको पासमा उत्कृष्ट फिनिस गरेका थिए। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेड्रो मान्जीले गोल गर्दै खेललाई ५–४ को अवस्थामा ल्याएपनि काठमाडौं विजयी हुन सफल भयो।

काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ इमर्जिङ खेलाडी घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे। काठमाडौंकै मेसौके ओलोमेउ प्लेयर अफ दि म्याच घोषित भए। उनले २५ हजार रुपैयाँ हात पारे।

जितपछि काठमाडौंको प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ। काठमाडौं ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। पराजित विराटनगरको प्ले अफमा पुग्ने सम्भावना भने जीवित छ। विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .