ad ad

खेल


मोहम्मद सलाह: कष्टकर जीवनदेखि फुटबल स्टारसम्म

मोहम्मद सलाह: कष्टकर जीवनदेखि फुटबल स्टारसम्म

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार २:४५,

इजिप्टको नाइल नदीको काखमा रहेको नागरिग गाउँका बालकहरुलाई उनीहरुको जीवनको लक्ष्य सोधियो भने प्रायः सबैले एउटै जवाफ दिन्छन्, मोहम्मद सलाह जस्तो स्टार फुटबलर बन्ने। जो अहिले प्रिमियर लिग र अफ्रिकाका सर्वोत्कृट खेलाडी हुन्।

सलाह त्यही गाउँका निवासी हुन्। उनले २०१७–१८ को सिजनमा विश्वकै सर्वाधिक दर्शकले हेर्ने इङ्लिस प्रिमियर लिगमा सनसनी मच्चाए। लिभरपुलबाट ३८ खेल खेल्दै ३२ गोल गरेका उनले सर्वाधिक गोल गर्दै गोल्डेन बुट पनि जिते।

उनको अब्बलता गोलमा मात्र देखिएन। उनको खेल्ने शैलीबाट प्रशिक्षक, सहकर्मी र विपक्षी टोलीका खेलाडी पनि कायल थिए। फलस्वरुप खेलाडीको भोटबाट जितिने ‘प्रोफेसनल प्लेयर्स एसोसियसन’ अवार्ड पनि सलाहकै पोल्टामा रह्यो।

तर रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा काँधमा चोट बोकेपछि भने उनी विश्वकपसम्म हुने हुन कि हैनन् भन्ने सर्वत्र चासो छ। इजिप्टको मात्र होइन, विश्वभरका सलाहका प्रसंशक उनी चाँडै निको होऊन् र विश्वकप खेलुन् भनेर प्रार्थना गरिरहेका छन्।

सलाहमा टिकेको इजिप्टको आशा
रुस विश्वकपमा इजिप्टलाई २८ वर्षपछि छनोट गराउन सलाहको भूमिका सशक्त थियो। उनले टोलीबाट सर्वाधिक ५ गोल गरेका थिए। कंगोविरुद्धको अन्तिम निर्णायक खेलमा २–१ को जित निकाल्दै इजिप्ट १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको थियो। उक्त खेलका दुवै गोल सलाहले गरेका थिए। खेल १–१ को बराबरीमा रहेको बेला अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै उनले इजिप्टलाई रुसको यात्रा तय गराएका थिए।

लामो प्रतीक्षापछि विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व पाइरहेका इजिप्टबासीले यसपटक सलाहको उपस्थितिसँगै प्रभावशाली प्रदर्शनको अपेक्षा राखेका थिए। तर, इजिप्ट समूह चरणबाटै बाहिरियो। इजिष्टले विश्वकपमा रसिया र साउदी अरेबियाविरुद्ध १-१ गोल गरेको थियो र दुबै गोल सलाहकै नाममा रहे। 

राष्ट्रिय टोलीमा सलाहको उपस्थितिको अर्थ दुई कारणले महत्वपूर्ण रहेको खेल विश्लेषक यासिर आयुब प्रस्ट्याउँछन्। ‘पहिलो त उनको प्रदर्शन, उनले गरेका गोल अनि उनको उत्कृष्ट लय नै हो। अर्को सलाह टोलीमा भएपछि विपक्षी टोलीलाई पनि त्यसको दबाब पर्छ। धेरै टोलीले आफ्नो उर्जा उनलाई रोक्नमा खर्चने छन्। तर सलाह नभए विपक्षी टोलीले ठूलो खेलाडी नभएको भन्दै इजिप्टमाथि धावा बोल्न सक्छन्।’

दैनिक १० घण्टाको कष्टकर यात्रा हुँदै विश्वकपको यात्रा
नागरिग युवा क्लबबाट ८ वर्षको उमेरमै सलाहले फुटबलसँग साइनो गाँसेका थिए। सलाहलाई प्रशिक्षण दिएका क्लबका जुनियर प्रशिक्षक घाम्री अब्देल हमिद भन्छन्, ‘उनको जन्मजात प्रतिभा त सुरुवाती दिनमै देखिएको थियो। तर उनले जन्मजात प्रतिभाबाट मात्रै सफलता हात पारेका चाहिँ होइनन्। उनको दृढ संकल्प, आत्मविश्वास र नियमित प्रयासले मात्रै सम्भव भएको हो।’

गाउँमै फुटबलको कखरा सिकेपछि थप प्रशिक्षणका लागि सलाह १४ वर्षको उमेरमा राजधानी कायरोको अरब कन्ट्रयाक्टर्स क्लबमा प्रशिक्षण लिने निर्णयमा पुगे। गाउँबाट क्लबसम्म पुग्न उनले गरेको संघर्ष निकै कष्टप्रद थियो। आवतजावतमा मात्र उनको दैनिक १० घण्टा खर्च हुन्थ्यो।

नागरिग गाउँका मेयर तथा सलाहका आफन्त समेत रहेका महेर सातिय्या अहिलेपनि उनको उक्त संघर्ष सम्झिन्छन्, ‘नागरिगदेखि बोस्योन, त्यसपछि अल्घरबिया प्रान्तको राजधानी टान्टाको बस, त्यहाँबाट कायरो शहरका लागि बस र त्यसपछि बल्ल क्लब रहेको नासर शहरका लागि अर्को बस सलाहले समात्थे। बाटो पनि राजमार्ग होइन। गाउँको भत्केको, बिग्रेको खाल्डैखाल्डो भएको सडकमा हप्तामा उनी पाँच दिन दैनिक १० घण्टा यात्रा गर्थे। ती सडकमा बसको घच्याकघुचुकले मान्छेले कहिल्यै शान्तिपूर्वक यात्रा गर्न पाउँदैन थिए। एक अर्थमा त्यो यातनाको यात्रा थियो।’

कष्टकर दैनिक यात्रा गरेपनि प्रशिक्षणमा जान सलाहले कहिलै नाइँनास्ती गरेनन्। आफ्नो संघर्षका दिन सम्झिँदै एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले प्रशिक्षणमा जानका लागि स्कुल पनि छिटो छोड्नुपथ्र्यो। म बिहान ७ बजे स्कुल जान्थेँ र ९ बजे नै स्कुलबाट निस्किन्थे। मैले स्कुलमा विदाका लागि निवेदन पनि दिएको थिएँ। बिहान ९ बजे हिँडेको म बल्ल २ बजे बल्ल क्लब पुग्थेँ।’

अफ्रिकी युवाहरु आफन्तको सुझाव, राष्ट्रिय खेलाडीहरुबाट पाएको प्रेरणा तथा गरिबीबाट मुक्त हुने चाहनाका कारण फुटबलको सपना देख्ने गर्छन्। सलाह भने आफ्ना बुबा अलाह घालीको मुहारमा मुस्कान ल्याउन फुटबलमा आएका थिए।

बुबा घालीले पनि सधैँ सलाहलाई साथ दिइरहे। सँधै उनले राम्रो फुटबलर बनेर इच्छा पूरा गरोस् भन्ने उनको चाहना थियो। समय पाउनेबित्तिकै घाली आफैँले छोरालाई प्रशिक्षणमा लिएर जान्थे र पूरै समय उनको प्रशिक्षण हेर्थे।

सलाहका आदर्श खेलाडी भने मोहम्मद अबु तिर्का हुन्, जो इजिप्टका एक महान खेलाडी थिए। उनले चारपटक अफ्रिकाको सर्वाेत्कृष्ट खेलाडीको अवार्ड जित्नुका साथै दुई पटक इजिप्टलाई अफ्रिका कपको उपाधि पनि दिलाएका थिए।

सलाहलाई यु–२० उमेर समूहमा प्रशिक्षण दिएका डिया इल सैयदका अनुसार उनी अबु तिर्काले खेलेको भिडियो हेर्ने र उनको सिको गर्ने प्रयास पनि गर्थे। प्रशिक्षणका क्रममा पनि उनी अन्य साथीहरुलाई व्यवसायिक खेलाडी भनेको तिर्का जस्तै हुनुपर्छ भन्ने गर्दथे।

२०१२ मा भएको लण्डन ओलम्पिकमा सलाह पहिलो पटक अन्तराष्ट्रिय खेलाडीको रुपमा उदाएका थिए। ओलम्पिकमा सलाहले परिपक्व खेल पस्केपछि उनलाई ‘उत्कृष्ट अफ्रिकी खेलाडी–२०१२’ को अवार्ड दिइयो। जुन उनको जीवनको ठूलो घुम्ती बन्यो।

ओलम्पिक लगत्तै उनलाई स्वीस क्लब बासेलले अनुबन्धित गर्यो। त्यहाँ २ वर्ष बिताएपछि इङ्लिस क्लब चेल्सीले उनीसँग अनुबन्ध गर्यो। चेल्सीमा उनको प्रदर्शन गतिलो हुन सकेन। चेल्सीको मुख्य टोलीमा पनि उनले धेरै मौका पाएनन्। त्यसपछि उनी ऋणमा इटालीको फिओरिन्टिना गए। त्यहाँपनि अपेक्षा अनुरुप खेल्न नसकेपछि २०१५ मै रोम गए। त्यहाँ भने उनले अद्भूत प्रदर्शन गरे। लिगमा मात्रै २९ गोल गरे। उनको चर्चा चुलिन थाल्यो।

लिभरपुल आएपछि महिनैपिच्छे कीर्तिमान
लण्डन ओलम्पिकमा सलाहको प्रभावशाली प्रदर्शन देखेपछि लिभरपुलका स्पोर्टिङ डाइरेक्टर माइकल एडवार्डले उनलाई पछ्याइरहेका थिए। रोममा उत्कृष्ट प्रदर्शनपछि भने सलाहलाई भित्र्याउने सही समय आएको भन्दै एडवार्डले प्रशिक्षक योर्गन क्लोपलाई मनाए र २०१७ को जुनमा४३ मिलियन पाउण्डको सम्झौतासहित सलाहको प्रिमियर लिगमा पुनरागमन भयो।

वाट्फोर्डविरुद्ध अगष्टमा डेब्यु गोल गर्दै २०१७–१८ को सिजन सुरुवात गरेका सलाह त्यसपछि कहिल्यै रोकिएनन्। यस सिजनमा लिभरपुलबाट ५२ खेलमा उनले ४४ गोल गरिसकेका छन्। जुन डेब्यू सिजनमा लिभरपुलका खेलाडीले गरेको सर्वाधिक गोलपनि हो।

लिभरपुलमा जुन महिनामा आवद्ध भएका सलाहले त्यसपछिका महिनाहरुमा भने लगातार कीर्तिमान कायम राख्दै गए।

सलाहका कीर्तिमान

जुन, २०१७: क्लब कीर्तिमानी रकममा अनुबन्ध
सलाहलाई अनुबन्ध गर्न लिभरपुलले खर्चेको ४३ मिलियन पाउण्ड रकम त्यसबेलासम्म सो क्लबले खेलाडी भित्र्याउन गरेको सबैभन्दा ठूलो खर्च थियो।

अगष्ट, २०१७: महिनाको उत्कृष्ट खेलाडी
अगष्टमा सलाहले लिभरपुलबाट प्रिमियर लिगमा डेब्यु गरे। वाट्फोर्डविरुद्धको डेब्यु खेलमै उनले गोल गरेका हुन्। त्यो महिना खेलेका पाँच खेलमा ३ गोल गरेपछि उनी पहिलो पटक लिभरपुलको महिनाको उत्कृष्ट खेलाडी चुनिए।

सेप्टेम्बर, २०१७: च्याम्पियन्स लिगमा दुई क्लबबाट गोल, फेरि महिनाको उत्कृष्ट खेलाडी
यस महिना च्याम्पियन्स लिगमा दुई क्लबबाट गोल गर्ने एक्लो इजिप्टियन खेलाडी बन्दै उनले कीर्तिमान राखे। २०१३ मा बासेलबाट चेल्सीविरुद्ध गोल गरेका सलाहले सेप्टेम्बरमा लिभरपुलबाट सेभियाविरुद्ध गोल गरेका थिए। साथै यस महिना पनि उनी लिभरपुलका उत्कृष्ट महिना खेलाडी घोषित भए।

अक्टोबर, २०१७: इजिप्ट विश्वकपमा छनोट
अक्टोबरमा सलाहले आफ्नो देशलाई २८ वर्षपछि विश्वकपमा पु¥याए। कंगोविरुद्ध २–१ को जित निकाल्दै इजिप्टले रुस विश्वकपको यात्रा तय गरेको थियो। सो जित दिलाउन सलाहले इञ्जुरी समयमा निर्णायक गोल गरेका थिए।

यसै महिना लिभरपुलबाट प्रिमियर लिगमा सबैभन्दा छिटो ५ गोल गर्ने कीर्तिमान राख्न उनी १ खेलले चुके। उनलाई ५ गोल पूरा गर्न ९ खेल खेल्नुपर्यो भने उनीअघि रोब्बी फ्वोरेलले ८ खेलमा ५ गोल गरेका थिए।

नोभेम्बर, २०१७: रोब्बीलाई उछिने, फेरि महिनाको उत्कृष्ट खेलाडी
यस महिना भने रोब्बीको कीर्तिमान सलाहले तोडे। रोब्बीले १२ खेलमा ८ गोल गरेका थिए। सलाहले १२ खेलमा ९ गोल गर्दै उनको कीर्तिमान तोडे।

यस महिनामा उनले फेरि महिनाको उत्कृष्ट खेलाडीको उपाधि जिते। यस महिना उनले खेलेका ७ खेलमा ५ गोल गरेका थिए।

डिसेम्बर, २०१७: अफ्रिकाको वर्ष खेलाडी, फेरि महिनाको उत्कृष्ट खेलाडी
यस महिना उनले अफ्रिकाको वर्ष खेलाडीको उपाधि जिते। पिएरे इमरिक, नाबी काइटा, सादियो माने र भिक्टर मोजेजलाई पछि पार्दै उनी ‘अफ्रिकन फुटबलर अफ दि इयर’ बनेका थिए। यस महिना पुनः उनले प्रिमियर लिगको महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जिते।

जनवरी, २०१८: अरबको उत्कृष्ट वर्ष खेलाडी
२०१८ को पहिलो महिना नै उनले अरबको वर्ष खेलाडीको अवार्ड जिते। लिभरपुल र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावशाली लय देखाएपछि अरब देशका १०० देशका खेल पत्रकारहरुको भोटबाट उनी वर्षको उत्कृष्ट खेलाडी चुनिएका थिए। यसै महिना वेष्ट ब्रोमविचसँग गोल गर्दै सलाहले ३२ खेलमा लिभरपुलबाट २५ गोल पनि पूरा गरेका थिए।

फेब्रुअरी, २०१८: पाँचौपटक महिनाको उत्कृष्ट खेलाडी
यस महिना सलाह पाँचौँ पटक लिभरपुलको महिनाभरिको उत्कृष्ट खेलाडी चुनिए। यस महिना लिभरपुलले खेलेका चारवटै खेलमा उनले गोल गरेका थिए। यसै महिना उनले लिभरपुलबाट ३० गोल पनि पूरा गरे।

मार्च, २०१८: प्रिमियर लिगको तेस्रो पटक महिनाको उत्कृष्ट खेलाडी, पीएफए अवार्ड
यस महिना तीन पटक प्रिमियर लिगको महिनाको उत्कृष्ट खेलाडी बन्दै उनले कीर्तिमान रचे। यसअघि कोही पनि एकै सिजनमा तीन पटक महिनाको उत्कृष्ट खेलाडी चुनिएका थिएनन्। यसै महिना उनले ‘प्रोफेसनल फुटबलर्स एसोसियसन’को अवार्ड पनि हात पारे। अनलाइनबाट भएको भोटिङमा उनी एक्लैले ८० प्रतिशत भोट पाएका थिए। उनी त्यतिमै रोकिएनन्। यसैमहिना उनी छैटौं पटक क्लबको पनि उत्कृष्ट खेलाडी चुनिए।

अप्रिल, २०१८: लिभरपुलका लागि सर्वाधिक छिटो ४० गोलको कीर्तिमान
यस महिना उनी लिभरपुलका लागि सर्वाधिक छिटो ४० गोल गर्ने खेलाडी बने। उनले ४५ खेलमा ४० गोल पूरा गरेका थिए। ४० गोल पूरा गर्न यसअघि जर्ज एलानले ४९, ज्याक पार्किन्ससले ६० र रोब्बी फाउलरले ६१ खेल खेल्नुपरेको थियो।

यस सिजनको सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि यसैमहिना सलाह बने। बर्नामाउथविरुद्ध हेडर गोल गर्दै उनले २२ खेलमा गोल गरेका थिए। यसअघि क्रिस्टियानो रोनाल्डो र रोबिन भान पर्सीले २१ खेलमा गोल गर्दै बनाएको कीर्तिमान सलाहले तोडेका थिए।

मे, २०१८: सिजनको उत्कृष्ट खेलाडी
यस महिना सलाहले प्रिमियर लिग र लिभरपुलको सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जिते। प्रिमियर लिगको ३८ खेलमा ३२ गोल गर्दै उनी यस सिजनमा सर्बाधिक गोल गर्ने खेलाडी बने। यससँगै उनले गोल्डेन बुट पनि हात पारे।

२०१९, च्याम्पियन्स लिगको उपाधि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .