ad ad

खेल


कोरोना कहरबीच दर्शकविना जारी छन् खेल गतिविधि

कोरोना कहरबीच दर्शकविना जारी छन् खेल गतिविधि

लक्ष्मी जि.सी
बैशाख २२, २०७८ बुधबार १४:१०,

कोरोना महामारीले गतवर्ष थलिएको नेपाली खेलकुद फेरि त्यहि अवस्थामा फर्कने संकेत देखिएको छ।

गतवर्षको सुरुवातदेखि कोरोनाले महामारीको रुप लिएपछि ओरालो लाग्दै गरेको खेलकुद क्षेत्र वर्षको अन्त्यतर्फ कोरोना संक्रमण घट्दै गएसँगै विस्तारै सामान्य अवस्थातर्फ फर्कने क्रममा थियो।

तर यो वर्ष पनि सुरुवात देखि नै महामारीको दोस्रो लहर सुरु भएपछि खेलकुद गतिविधि फेरि अनिश्चितातर्फ धकेलिएको छ।

अब फेरि खेलकुद कहिले सुरु हुने हो अहिले नै अनुमान गर्ने अवस्था छैन। नेपाल क्रिकेट संघ (क्यान) र नेपाल भलिबल संघ (एनभीए) ले कोरानाकै कारण आफ्ना सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिसकेको छ।

EmptyStadium 3

अखिल नेपाल फुटबल संघ (एन्फा) ले औपचारिक रुपमा केहि नबताए पनि अधिकांश कार्यक्रम प्रभावित भइसकेका छन्।

कोरानाकै कारण यो वर्षको एन्फा दिवसका सबै कार्यक्रम स्थगित भएको एन्फाले बुधबार सार्वजनिक गरेको छ।

देशभित्र सक्रिय अन्य खेलका अधिकांश प्रशिक्षण पनि स्थगित भइसकेका छन्।

त्यसका वावजुद महामारीकै बीचमा पनि एउटा प्रतियोगिता र केहि महिनामा जापानमा सुरु हुने टोकियो ओलम्पिकको तयारी भने जारी छ।

देशकै पहिलो फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) दशरथ रंगशालामा जारी छ। २५ मध्ये आधाभन्दा बढी खेल सम्पन्न भइसकेका छन्।

EmptyStadium 2

एनएसएल आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट र एनएसएलका सहभागी ७ टोलीले प्रतियोगिताका लागि ठूलो लगानी गरिसकेका छन्।

विदेशी खेलाडीको समेत सहभागिता रहेको एनएसएल दर्शकविना आयोजना गर्नुपर्ने भनी सरकारले मन्त्रीपरिषदबाटै निर्णय गरेको थियो।

पहिलो संस्करणमा सबै तयारी पूरा भएर स्थागित हुन परेको भए सायद त्यसको ठूलो मार एनएसएललाई पर्ने सम्भावना रहन्थ्यो। यहि असहजताबीच जारी रहेको एनएसएल जेठ १ गते सकिनेछ।

कोराना महामारीको पहिलो लहरमा केही प्रभावित भएको ओलम्पिकको तयारी दोस्रो लहरमा भने जारी राखिएको छ।

ओलम्पिक छनोटको तयारीमा रहेको करातेको टोली बन्द प्रशिक्षणमा व्यस्त छ। टोलीका प्रशिक्षक दीपक श्रेष्ठले ललितपुरको सातदोबाटोस्थित कराते हलमा नियमित प्रशिक्षण भइरहेको जानकारी दिए।

Empty Stadium 4a

नेपाल ओलम्पिक कमिटीमार्फत् युवा तथा खेलकुद मन्त्रालयबाट सवारी पास लिएर प्रशिक्षण जारी राखेको श्रेष्ठले बताएका छन्।
ओलम्पिककै छनोटका लागि आर्चरीको पोखरा र अन्य खेलको काठमाडौंमा तयारी भइरहेको छ। टोकियो ओलम्पिकमा सहभागी हुन नेपालले १० खेलका लागि प्रशिक्षण चलिरहँदा ३ खेलाडी बाहेक अन्यको सहभागिता निश्चित भने भइसकेको छैन।

पौडीबाट कीर्तिमानी खेलाडी गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सबाट गोपीचन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ। अन्य खेलाडीको हकमा भने एनओसीले वाईल्डकार्डका लागि पहल गरिरहेको छ।

करातेका अनु अधिकारी र नवीन रसाइली, तेक्वान्दोका वीर बहादुर महरा र भुपेन्द्र श्रेष्ठ, पुलिसका निमा गुरुङ छन्।

आर्चरीका ज्ञानु अवाले, तिलक पुन मगर, सुटिङका सुश्मिता नेपाल, कल्पना परियार, वेट लिफ्टिङका सानु चौधरी, कमला श्रेष्ठ, जुडोका ईन्द्र श्रेष्ठ, सोनिया भट्ट तथा बक्सिङकी मिनु गुरुङ छन्।

कराते, तेक्वान्दो, जुडोका खेलाडी छनोट प्रतियोगितामा भाग लिने बताइएको छ। त्यसमा छनोट हुन नसकेकोमा उनीहरुका लागि पनि एनओसीले वाइल्डकार्डका लागि पहिल गर्ने जनाएको छ।

EmptyStadium 1

तेक्वान्दोका प्रशिक्षक दीपक विष्टका अनुसार कोरोना दोस्रो लहर अघिसम्म नियमित अभ्यास गरेको तेक्वान्दोको टोलीका खेलाडी अहिले आ–आफ्नो ठाउँमा रहेर प्रशिक्षण गरिरहेका छन्।

विष्टले भने, ‘पहिला क्याम्पमा नै रहेर प्रशिक्षण भैरहेको थियो। कोरोनाले सबै क्षेत्रलाई जस्तै हामीलाई पनि असर गरेको छ। अहिले विभागीय टोलीका खेलाडीहरु विभागमा नै प्रशिक्षणमा छन् भने बाहिरका खेलाडीहरुले प्रशिक्षणको भिडियोहरु पठाउँछन्।’

बाध्यामक अवस्थामा जारी यी केहि गतिविधिबाहेक खेल क्षेत्र लगभग ठप्प भइसकेको छ। गत वर्ष कोरोनाका समयमा तेक्वान्दोको पुम्सेका भने थुप्रै अनलाइन प्रतिस्पर्धा भएका थिए।

सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले भाग लिएर सफलता पनि प्राप्त गरेका थिए। कोरोनाको दोस्रो लहरसँग फेरि अनलाइन प्रतियोगिता आयोजनाको संख्या बढ्ने सम्भावना छ।

विष्टका अनुसार यो वर्ष पनि पुम्सेको ओपन वल्र्ड च्याम्पियनसिप हुँदैछ। भौतिक उपस्थितिमा हुने भन्दा अनलाइन सहभागिता केहि झन्झटिलो हुने भएपनि कोरानाका समयमा पनि खेलाडीले आफ्नो खेल कौशललाई भने देखाउने अवसर पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .