ad ad

खेल


नेपाल सुपर लिगः कस्तो छ अफ्रिकादेखि युरोपसम्मका खेलाडीको प्रदर्शन?

नेपाल सुपर लिगः कस्तो छ अफ्रिकादेखि युरोपसम्मका खेलाडीको प्रदर्शन?

लक्ष्मी जि.सी
बैशाख २०, २०७८ सोमबार १३:१२,

घरेलु फुटबलमा विदेशी खेलाडीको संलग्नता र तिनको प्रदर्शनकै आधारमा ए डिभिजन क्लबहरुले सफलता हासिल गर्दै आएका छन्। ३ विभागीय टोलीबाहेक सबै क्लबले विदेशी खेलाडी ल्याउने परम्परा बसिसकेको छ। नेपाली व्यवसायिक फुटबलमा खासगरी अफ्रिकी मुलुकका खेलाडी सहभागी हुन्छन्।

अहिले दशरथ रंगशालामा देशको पहिलो फ्रेन्चाइच फुटबल नेपाल सुपर लिग (एनएसएल) चलिरहेको छ। लिगमा सहभागी ७ टोलीमा २० विदेशी खेलाडी खेलिरहेका छन्। तीमध्ये आधाभन्दा बढी अफ्रिकी खेलाडी छन्।

क्लबका खेलाडी सावर्जनिक गर्दा नै बुटवल लुम्बिनी क्लबका प्रबन्ध निर्देशक राजुकाजी शाक्यले भनेका थिए– ‘जसले राम्रा विदेशी खेलाडी ल्याउन सक्छ, उसैले लिग जित्ने सम्भावना बढी हुन्छ।’

NSL football 3

विदेशी खेलाडीमा पनि अफ्रिकी खेलाडीले नै नेपालमा सफलता प्राप्त गरेको एफसी चितवनका प्रशिक्षक मेघराज केसी बताउँछन्।

‘युरोपबाट नेपाल आएका खेलाडीहरुले राम्रो प्रर्दशन गर्न सकेका छैनन्, उता दिन सकिएर आए जस्तो भएको छ। उता राम्रो भए पनि यता राम्रो गर्न सकेका छैनन्,’ उनले भने।

केसीको भनाइलाई पुष्टि गर्ने एक खेलाडी हुन् धनगढीका अफिज ओलावाले। झन्डै एक दशकयता उनी नेपालमा खेलिरहेका छन्। घरेलु फुटबलका सफल क्लब मनाङ मर्स्याङ्दी, थ्री स्टार र त्यसअघि आरसीटीबाट खेलिसकेका ओलावाले यसपटक धनगढीबाट उत्रिए। उनको क्षमता देखिसकेका दर्शकले उनी जहाँ जान्छन् त्यहाँ प्रभाव पार्ने अनुमान गरेका थिए। पहिलो खेलमा खासै प्रभाव जमाउन चुकेका ओलावाले त्यसपछि टोलीका दुवै सफलतामा केन्द्रमा रहे। एक खेलमा उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए।

NSL football 4

टोलीको दोस्रो खेलमा २ गोल गरेका ओलावालेले तेस्रो खेलमा १ गोल गरेका थिए। उनीसँग बगंलादेश प्रिमियर लिगको पनि अनुभव छ। फ्रांक्लिन कि टाला र ओलावालेसँगै विदेशी कोटामै खेलेका नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङका कारण पनि धनगढीलाई दाबेदारका रुपमा हेरिएको छ।

घरेलु लिगमा यसपटक केही युरोपेली खेलाडी पनि छन्। तर, केहीलाई छाडेर विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। विराटनगर सिटी एफसी लिगको सुरुवातमा बलियो टोलीको रुपमा देखिएको थियो। विराटनगरले नाइजेरियाका एन्डेलाजा सोमिडे, उरुग्वे फरवार्ड पेड्रो मानजी र क्यामरुनी डिफेन्डर उर्लिच सिवीलाई उतारेको छ।

पेड्रो भारतीय लिगमा सनसनी मच्चाएका खेलाडी हुन्। सुरुवाती २ खेलमा गोल गर्न नसकेका उनले शनिबार तेस्रो खेलमा बुटवल लुम्बिनीविरुद्ध खाता खोले। त्यो गोलबाट उनले आफूमा रहेको क्षमताको संकेत गरेका छन्। सन् २०१८–१९ को आई लिगमा चेन्नई सिटी एफसीलाई च्याम्पियन बनाउँदा पेड्रोले गोल्डेन बुट जितेका थिए।

NSL football 7

विराटनगरका विदेशी प्रशिक्षक भारतीय यान लले पेड्रोले सोचेअनुसार प्रदर्शन गर्न अझै नसके पनि उनी स्तरीय खेलाडी भएको बताउँदै आएका छन्। विराटनगरको अघिल्लो चरणको यात्रामा उनीलगायत विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने अनुमान गरिएको छ।

नाइजेरियाका सोमिडेसँग भने नेपाली फुटबलको अनुभव छ। सन् २०१८ मा मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका उनी सन् २०१९ मा मछिन्द्र क्लबमा थिए। मच्छिन्द्रलाई ए डिभिजन लिगमा पहिलो उपाधि दिलाउन उनले ६ गोल गरे।

क्यामरुनी डिफेन्डर उर्लिच सिवी नेपालको घरेलु प्रतियोगितामा लामो समयदेखि खेल्दै आएका छन्। हिमालयन शेर्पा, सहारा क्लबबाट खेलिसकेका उनी अहिले विराटनगरमा आवद्ध छन्।

NSL football 8

ललितपुर सिटी एफसीमा डिफेन्डर पिटर सेगुन, अजरवैजानी फरवार्ड नुरलान नोब्रोजोभ र क्रोयसियाका भिलिम पोसिनकोभिक छन्। श्रम स्वीकृतिका कारण पिटर सेगुनले अघिल्ला ३ खेल गुमाए। नेपालको घरेलु प्रतियोगितामा लामो अनुभव बटुलेका २७ वर्षीय पिटर यो पटक ललितपुरमा अनुबन्ध भएका हुन्। नोब्रोजोभ सन् २०१४–१५ मा भएको अजरबैजान प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुन्।

ललितपुरले जारी लिगमा सम्झनलायक प्रर्दशन गर्न सकेको छैन। 

लिगका ४ खेल सकिदा समेत जित हासिल गर्न नसकेपछि टोलीका प्रशिक्षक प्रदीप हुमागाईंले आइतबार पदबाट राजिनामा दिए।

अमेरिका बस्दै आएका हुमागाईले नेपाल फर्केका बेला घरेलु क्लवको कमान्ड सम्हाल्ने मौका पाएका थिए तर त्यसमा उनले आफूलाई अब्बल सावित गर्न भने सकेनन्।

NSL football 11

चितवनले युरोपका अनुभवी फरवार्ड गोरान जोकोभिचलाई अनुबन्ध गर्दा धेरैले उत्कृष्ट नतिजाको आशा गरेका थिए। जोकोभिचले युरोपा लिग छनोट, थाइ लिग, सुपर लिगा, एफसी च्याम्पियन्स लिग खेलिसकेका छन्।

चितवनलाई उपाधि दिलाउनु नै आफ्नो लक्ष्य बताएका उनको प्रदर्शन त्यस अनुरुपको हुन सकेको छैन। इजिप्टका अहमद मोहम्मद इल सेड सबानले इजिप्ट प्रिमियर लिग, इजिप्ट कप खेलिसकेका छन्।

बुटवल लुम्बिनी एफसीले घाना र नाइजेरियाका खेलाडी अनुबन्ध गरेको छ। पछिल्लो समय भारतको बैंग्लुरु युनाइटेडबाट खेलेका विलियम ओपोकु मिडफिल्डर हुन्।

आई लिगको खेलिसकेका नाइजेरियाका डिफेन्डर ३१ वर्षीय करिम ओमोलाज नुरिम २०१९ मा मिनेर्भा पञ्जाब र मोहम्मेडन क्लबमा थिए। शनिबार विराटनगरसँग २–२ को बराबरी गर्दा उनले गोलको खाता खोलेका थिए। अर्मान्ड वियडुअमले भने एनएसएलमा पहिलो गोल गर्दै जितको खाता खोलेका थिए। सो खेलमा उनी प्लेयर अफ दि म्याच समेत बने।

संकटा क्लबबाट ए डिभिजन लिग खेलका क्यामरुनी मिडफिल्डर मेसुके ओलोमोउ काठमाडौँ रेजर्समा छन्। अहिले उनी फरवार्डको भूमिकामा छन्। काठमाडौले फरवार्ड स्टेफन समिरलाई पनि अनुबन्ध गरेको थियो। आइभरी कोस्टका कारा लार्वा फ्लोरेन्ट काठमाडौँबाट सेन्ट्रल ब्याक खेलिरहेका छन्।

पोखरा थन्डर्सले भने मौसा अबगाना, बिडियास रिम राफेल र मेचा यान्निकलाई टोलीमा अनुबन्ध गरेको छ।

NSL football 10

प्रशिक्षक पनि विदेशी
टोपे फुजा घरेलु फुटबलका परिचित नाम हो। उनले मनाङ मर्स्याङ्दी क्लबलाई ए डिभिजन लिग जिताइसकेका छन्। यसपटक उनले धनगढी एफसीको कमान सम्हालेका छन्। ७ टोलीको सहभागिता रहेको एनएसएलमा फुजासहित २ विदेशी प्रशिक्षक छन्। फुजासँग भारतीय क्लब सम्हालेको अनुभव पनि छ।

विदेशी खेलाडीको प्रभाव लामो समयदेखि रहेपनि विदेशी प्रशिक्षक कमै क्लबले राखेका छन्। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक योहान कालिनले झन्डै १० वर्षअघि मछिन्द्र क्लबलाई प्रशिक्षण दिएका थिए। उनको त्यति बेलाकै प्रभावले लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई राष्ट्रिय टोलीको जिम्मेवारी दिएको थियो।

विराटनगरले भारतीय प्रशिक्षक यान ललाई ल्याएको छ। एसियाकै युवा प्रशिक्षकमध्येका एक लको योजनामा विराटनगरले सन्तोषजक प्रदर्शन गरेको छ। उनीसँग आई लिगका टोली सम्हालेको अनुभव छ। ३ चरणको खेल सकिँदा एनएसएलमा विदेशी खेलाडी मात्रै होइन विदेशी प्रशिक्षकले पनि प्रभाव जमाउने सम्भावना देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .