ad ad

खेल


भैरहवामा बहुउद्देश्यीय खेलमैदान निर्माण सुरु

भैरहवामा बहुउद्देश्यीय खेलमैदान निर्माण सुरु

प्रकाश न्यौपाने
बैशाख २, २०७८ बिहिबार १०:१७,

रुपन्देही सिद्धार्थनगर नगरपालिकाले बहुउद्देश्यीय खेलमैदान निर्माण सुरु गरेको छ।

वडा नम्बर–३ स्थित दरखसवामा निर्माण सुरु गरिएको खेल मैदानको बिहीबार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले शिलान्यास गरेका छन्।

३ विघा क्षेत्रफलमा निर्माण सुरु गरिएको खेलमैदानमा एथलेटिक्स, फुटबल लगायतका खेलका लागि मैदान बनाइने नगर प्रमुख हरिप्रसाद अधिकारीले बताए।

‘नगरपालिमा रहेको सिद्धार्थ रंगशालामा क्रिकेट मैदान बनिरहेको छ, अन्य खेलका लागि मैदान अभाव छ, यसैले हामीले यहाँ धेरै खेलहरु खेलाउन मिल्ने गरी मैदान निर्माण सुरु गरेका हौं’, उनले भने।

बहुउद्देश्यीय मैदानको पहिलो चरणमा ९८ लाख ७२ हजार रुपैयाँले पर्खाल निर्माण र मैदान सम्याइने नगरपालिकाले जनाएको छ। यसको निर्माण ठेक्का बागेश्वरी निर्माण सेवाले लिएको छ। डण्डा नदी छेउमा निर्माण थालिएको खेलमैदानसम्म जाने बाटोका लागि करिब अढाई करोडको जग्गा स्थानीय लक्ष्मण पन्थी र राधा उपाध्ययले दान गरेका छन्।

खेलमैदानको शिलान्यास गर्दै पूर्वमन्त्री भुसालले सानो र कम आयस्रोत हुँदाहुँदै पनि पूर्वाधार निर्माणमा नगरपालिकाले असाधरण काम गरेको बताए।

‘न्यून आयस्रोत छ तर पनि प्रदेश, संघ सरकार र अन्य निकायसँग समन्वय गरेर नगरको विकासमा यहाँका जनप्रतिनिधि र कर्मचारी लाग्नुभएको छ। यो आफैमा सह्रानीय काम हो’, उनले भने।

भुसालले भैरहवाको फोहोर व्यवस्थापन गर्न सबै लाग्नु पर्ने बताए।

‘यहाँको मुख्य समस्या फोहोर व्यवस्थापनका लागि स्थायी ठाउँ आवश्यक छ, यसका लागि अन्य पालिकाहरुसँग समन्वय गरेर काम अघि बढाउनुपर्छ’, उनले भने।

भैरहवा क्षेत्रमा जग्गा अभावमा धेरै काम गर्न नसकिएको बताउँदै भुसालले जग्गा भए पैसाको अभाव नहुने बताए।

उनले सिद्धार्थनगर र आसपासका स्थानीय तहलाई जोडेर उपमहानगर बनाउन तत्काल काम गर्नु पर्ने जनाए।

सिद्धार्थनगरले उपमहानगर बनाउनका लागि संघ सरकारमा प्रस्ताव पठाउने भन्दै नगर परिषद्बाट प्रस्ताव पास गरिसकेको छ।

bhairahawa-khelmaidan.jpg

एमाले नेतासमेत रहेका भुसालले हरेकको लगानी सुरक्षित भएमा मात्रै मुलुकमा रोजगारी सिर्जना हुने बताउँदै तबमात्रै मुलुक समृद्ध बन्ने जनाए। उनले राजनीति सही ट्रयाकमा भए धेरै कुरा हुने भन्दै अहिले राजनीति सही ट्रयाकमा हुन नसकेको बताए।

नगर प्रमुख अधिकारीले चालु वर्षको असार मसान्त भित्र पहिलो चरणमा खेलकुद मैदान निर्माणका लागि पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिने बताए।

उनले विस्तारै अन्य भौतिक संरचनाहरु निर्माण गरी बहुउद्देश्यीय खेलमैदानलाई पूर्णता दिइने जानकारी दिए। खेल मैदान संघीय समानिकरण अनुदानबाट निर्माण हुन लागेको हो।

कार्यक्रममा पूर्वमन्त्री हकिकुल्लाह खाँले समृद्धिका लागि सबैको एकता जरुरी रहेको बताए। उनले राजनीतिक किचलो बन्द भएमा मात्रै समृद्धितर्फ अघि बढ्न सकिने जनाए।

उप–प्रमुख उमा काफ्लेले जनप्रतिनिधि आएपछि पर्यटकीय गेट, बहुउद्देश्यीय व्यवसायिक भवन, भैरहवालाई बुद्धमय बनाउने लगायतका काम सुरु गगरिएको बताइन्। उनले नगरको आयस्रोत बृद्धि गर्दै लगिएको बताउँदै न्यून बजेटबाट पनि धेरै काम गरिएको जनाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .