खेल


बेहुला नभइ विवाह हुँदैन, रंगशाला बनेन भने साग हुँदैनः रमेश सिलवाल(अन्तर्वार्ता)

राखेप सदस्यसचिव रमेश सिलवाल


यज्ञराज जोशी
काठमाडौं, साउन २४

‘रंगशाला बनेन भने साग गेम हुँदैन। जापान भ्रमण रद्द गरेर म किन चीन जाँदैछु? रंगशाला नै बनेन भने अन्य कुनै तयारीको काम छैन। विवाह गर्ने, तर बेहुला नै छैन भने के विवाह हुन्छ?’

दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने मुख्य जिम्मेवारीसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएको बिहीबार(साउन २३)  एक महिना पुग्यो।

सदस्यसचिव नियुक्त हुँदा उनले तेस्रो पटक सरिसकेको साग  (मंसिर १५–२४) जसरी पनि  आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसबाहेक राखेपमा सिस्टम बसाल्ने, आर्थिक पारदर्शिता तथा सुशासन कायम गराउने उनका प्रतिबद्धता थिए।

नेपाली खेलकुदको सर्वोच्च संस्थाको मुख्य कुर्सीमा बसेको एक महिनाको अनुभव र उनले गरेका प्रतिबद्धताको अवस्थाबारे कुराकानी गर्न हामीले शुक्रबार सदस्यसचिव सिलवाललाई समय मागेका थियौं। उनले दिएको समय बिहान पौने आठमै हामी राखेपको त्रिपेश्वरस्थित मुख्यालयमा पुग्यौं।

आधाघण्टा ढिला कार्यालय पुगेका सिलवाल गाडीबाट उत्रने बित्तिकै सिधैँ कार्यालयको हातामै आयोजित तेक्वान्दो संघको कार्यक्रममा छिरे। त्यहाँ सम्मानग्रहण, मन्तव्य लगायतका कार्यक्रमहरुमा सहभागिता जनाउँदै संयुक्त फोटो खिचे र कार्यकक्षमा पसे।

त्यतिञ्जेल समय दिइएका अन्य मान्छेहरु पनि उपस्थिति भइसकेका थिए। दुई टोलीसँगको छलफलपछि बोलाएको समयभन्दा झण्डै दुई घण्टापछि भेटघाट निश्चित भयो।

हामीले अनौपचारिक कुराकानीबाट कुराकानी शुरु गर्यौ।

सञ्चै हुनुहुन्छ?
सञ्चो छैन्, तीन दिनदेखि ज्वरो आइरहेको छ। हिजो मात्रै ज्वरो १०४ डिग्री पुगेको रहेछ। तर, मलाई सञ्चो छैन भन्ने स्थिति पनि छैन्।

बिहान कतिबेला अफिस आइपुग्नुहुन्छ?
म सामान्यतयाः ७ बजे आइपुग्छु। आज नसकेर अलि ढिलो भयो।

अनि बेलुका कतिबेलासम्म बस्नुहुन्छ?
बेलुका म...यो (साग)कै कामले राति दुई बजेसम्म काम गर्छु।  घरमा राति १० बजेसम्म पुगेको छु। फाइल अध्ययन लगायतका काम गर्दा २ बजेकाे हुन्छ। 

यो सबै ब्यस्तता मंसिर १५ मा जसरी पनि साग आयोजना गर्नका निमित्त हो नि?
हो, एकसूत्रीय।

अहिले नयाँ सदस्यसचिव, नयाँ जोश छ। सागपछि यो क्रम सेलाउने होला नि?
(साग)पछि पनि कामको आवश्यकताले बस्छु। भोलि कामको आवश्यकताले कति पर्छ त्यो अनुसार हुन्छ।

ramesh silwal 6

सदस्यसचिवको नियुक्ति बुझेको एक महिनामा सागका लागि के के आधार तयार गर्नुभयो त?
हामीले तयारीलाई तीनवटा चरणमा बाँडेका छौं। एउटा पूर्वाधार निर्माण र त्यसलाई सम्पन्न गर्नु, दोस्रो पाटो खेलाडीको तयारी र प्रशिक्षण, तेस्रो पाटो उद्घाटन अघिको र समापनपश्चातको कार्य।

नम्बर एक, पूर्बाधारको कुरा गर्दा केही पूर्बाधार यसबीचमा सम्पन्न भइसके। केही सम्पन्न हुने अवस्थामा छन्। सातदोबाटोमा रहेका पूर्बाधारहरुमा हिटिङ सिस्टमको पौडीबाहेक अन्य सम्पूर्ण संरचना बनिसकेका छन्। बाहिर सफाई गर्न, झार उखाल्ने, बगैँचा बनाउँन हामीलाई सात दिनजति लाग्छ होला। हिटिङ सिस्टम हामीले कार्तिक १५ गतेसम्म बनाउने सम्झौता गरेका थियौं। त्यो कार्तिक १५ अघि नै सम्पन्न हुने स्थिति छ। त्यसैले त्यहाँका पूर्वाधारमा कुनै समस्या छैन्।

यहाँको पूर्वाधार (दशरथ रंगशाला )मा रंगरोगनको काम लगभग सकेका छौं। एकदुई दिनभन्दा बढी लाग्दैन। रेट्रोफिटिङको कामहरु सकिसकेको छ। रेलिङको काम सकिसकेको छ। ओलम्पिक टर्चको काम सुरु भइरहेको छ। गेट, पर्खालहरुको काम सुरु भइरहेको छ। त्यसबाहेक बाहिरी पुर्ननिर्माणको काम अबको १५ दिनभित्र सम्पूर्ण सकिन्छ। रंगशाला(दशरथ)को भित्रि भागमा मिडिया सेन्टर, खेलअघि पछि पत्रकार सम्मेलन गर्ने रुम, चेञ्जिङ रुम, ट्वाइलेट, बाथरुम र भीआइपी रुमका काम चाही १५ दिनभित्र सकिन्छन। केही सकिसक्यो, केही सकिने क्रममा छन।

भिडियो: 

 

मुख्य काम भनेको दशरथ रंगशालाको प्याराििफट(त्रिपुरेश्वर–सुन्धाराखण्ड)मा छानो हाल्नु र सिटको हो। सिटको अर्डर भैसकेको छ। कस्तो सिट र कति बन्दैछ भन्ने चेक गर्नका लागि म चीन जादैँछु। किनभने हामीसँग माफी माग्ने समय छैन्। यसले गरेर उसले गरेर भन्दै दोष लगाउने समयपनि हामीसँग छैन। अहिले हामीलाई सबैभन्दा गाह्रो परेको भनेको प्याराफिटको छानो हाल्नु हो। त्यसका लागि केही सामान भारत र केही सामान चीनबाट ल्याउनुपर्छ। भारतबाट आउने सामान(प्याराफिटका डन्डी)लाई हामीले ‘अन द स्पट’ नै भ्रमण गरौं। उपाध्यक्ष(पिताम्बर तिम्सिना) हिजोमात्रै भारतबाट फर्कनुभयो। हाम्रो अलिकति ढिलो हुने थियो। अन्त्य पठाउने लागिएको सामानलाई हामीले अनुरोध गरेर नेपालमा ल्याउदैछौं। र, अबको ७ दिनभित्र त्यो सामान शतप्रतिशत नेपाल आइपुग्छ। यसले भनेको समयभन्दा अघि नै काम गर्ने लक्षण देखिएको छ।

यसपछाडी म यही हप्ता चीन(छाना ल्याउन) जादैछु। त्यहाँ गएर फास्ट ट्रयाकमा सामान ल्याउने मेरो प्रयास हुन्छ। दुईवटै भैसकेपछि कार्तिक १५ भित्र रंगशालाको काम सकिनेमा म विश्वस्त छु।

पोखरामा ह्यान्डबल, भलिबल, ट्रायथोलन, आर्चरीको काममा पोखरामा समस्या छैन। समस्या भनेको पोखराको रंगशालाको हो। त्यो रंगशाला म आएपछि एउटा फेरिने(पहिले आर्टिफिसियल बनाउने भनिएको, अहिले प्राकृतिक बनाउने निर्णय) काम भयो। त्यहाँ १६ हजार ५ सय क्षमताको रंगशाला थियो त्यसलाई २० हजारमा वृद्धि गरिएको छ। त्यो बन्नेक्रममा छ र कार्तिक १५ भित्र सम्पन्न हुन्छ। ट्रयाक एण्ड फिल्डको टेण्डर भैसक्यो। वरिपरिको एरिनाका लागि ठेकेदार भारत गएका छन् र प्राकृतिक घाँसको अर्डर भैसकेको छ। यीसबै हेर्दा पूर्बाधारको निर्माण कार्तिक १५ गतेसम्म सकिन्छ।

अर्को पाटो खेलाडीको प्रशिक्षण हो, अधिकांश खेलको साउन १ गतेबाट र बाँकी रहेका खेलको साउन १५ गतेबाट बन्द प्रशिक्षण सुरु भैसकेको छ।

रह्यो उद्घाटन र समापन समारोह। त्यसका निमित्त हामीले आवश्यक होमवर्क गरिरहेका छौं। हामी योजनाबद्ध रुपमा गरेका छौं र नतिजापनि क्रमशः देखिदैँछ।

कार्तिक १५ भित्र पूर्वाधार निर्माणको काम नसकिएमा तेस्रो पटक सरेको साग चौथो पटक सर्छ होला नि?
यदि तर भनेर सुख पाउने अवस्था हामीलाई छैन। यदि कार्तिक १५ भित्र भएन भने पनि मंसिर १ भित्र त सबै हुन्छ। मंसिर १५ मा हाम्रो गेम हो। अन्तर्राष्ट्रिय रुपमा गेम खेल्ने हो भने भौतिक पूर्वाधार न्यूनतम पनि ६ महिनाअघि निर्माण गर्नुपर्छ। राष्ट्रियस्तरमा ठूला इभेन्ट गर्ने हो भने न्यूनतम रुपमा ३ महिनाअघि गर्नुपर्छ तर मसँग त्यो समय छैन। त्यसैले कार्तिक १५ मा सकिएन भने १६ मा सकिएला, १७ मा सकिएला तर मंसिर १ उता पुर्याउनु हुँदैन। त्यही योजनाले हामी कार्यरत छौं। ठेकेदारले प्रतिबद्धता गरेर ल्याप्चे लगाएको चीजलाई अन द स्पट हेर्न पनि त्यसैका लागि गएका हौं। भारतमा गएर दुई छाक खाने या भारत घुम्ने रहरले त हैन होला। गएको कारण हामी आफैपनि ढुक्क हुन चाहान्छौं। रंगशाला बनेन भने गेम हुँदैन। त्यो त चासोको विषय बनाउनुपर्यो नी। मैले जापान भ्रमण रद्द गरेर किन चीन जान खोजेको त? रंगशालै बनेन भने अन्य कुनै तयारीको काम छैन। विवाह चाँही गर्ने, बेहुलै छैन भने के विवाह हुन्छ? बेहुला बेहुली त चाहिएला नि। अरु चीज नभए पनि हुन्छ। १५ दिन हाम्रो बाटोको म्याद हो। कार्तिक १५ मा विविध कारणले हुन सकेन् भने मंसिर १ मा त सकिनुपर्यो नि। कहिलेकाही सानातिना कुरामा अल्झन सक्छन्। मंसिर १ मा चाही कुनै कसुर बाँकी नरहोस भनेर हामीले कार्तिक १५ को डेटलाइन राखेका हौं।

ramesh silwal 7

मंसिर १ मा कामचलाउ पूर्वाधार बन्छन् कि ठिकठाक पूर्ण दुरुस्त बन्छन्?
मंसिर १ हैन्, अहिले डेटलाइन कार्तिक १५ हो। काम चलाउ किन गर्ने? अन्तर्राष्ट्रिय गेम भयो भने अन्तर्राष्ट्रियस्तरको त हुनुपर्यो नि परेन र? झट्ट हेर्दा हामीलाई यो ४ महिनामा के होला र भन्ने आशंका लाग्न सक्छ। एउटा चारआनाको घर बनाउनुपर्यो भने त दुई वर्ष लाग्छ। यत्रो चीज चारमहिनामा के होला भनेर? चारमहिना भनेको नि १ सय २० दिन हो र त्यसमा धेरै काम गर्नसकिन्छ। ‘डबल सिफ्ट’ गरेर वा ‘फेज वाइज’ गरेर काम निकाल्न सकिन्छ।

भएकै एउटा रंगशालाको पुर्न निर्माणमा त चारवर्षसम्म पूरा भएको छैन। तपाईले चार महिनामा अन्तर्राष्ट्रियस्तरका खेलस्थलमा साग गराउँछु भन्दा कसरी पत्याउनु?
यसो गरौं। धेरै कुरो नि परेन। कार्तिक १५ नि आइहाल्छ। अहिले नै भिडियो खिचेर लिएर जानुस्। त्यतिखेर हेर्नुस्। बन्यो कि बनेन् तपाई आफै मुल्यांकन गर्नुहोला।

सागको कार्यविधि अहिलेसम्म क्याबिनेटमा पुगेको छैन्, कसरी काम गरिरहनुभएको छ?
मैले एउटा अचम्म मानेको छु। कार्यविधि कसलाई चाहिने भन्नुस त? कार्यविधि मलाई र साग आयोजक तयारी समितिलाई चाहिने हो। त्यो भन्दा बढी मिडियालाई चाहिएको छ कार्यविधि। कार्यविधि भनेको काम यसरी गर्ने, काम नरोकियोस भन्ने त हो नि। तर, काम त रोकिएको छैन नि। निर्माणको पनि काम भैरहेको छ। प्रशिक्षणको पनि काम भैरहेको छ। कार्यविधिले रोकिएको छैन।

सबैकुरा अनुशासनमा ल्याउन पनि त छिटो कार्यविधि चाहियो हैन र?
कार्यविधि भनेको नयाँ बनाएको मात्रै हो। हिजोका दुईवटा साग गेममा त कार्यविधि थिएनन्। त्यही पनि चल्यो। काम नगर्ने मान्छेले कार्यविधि भन्ने हो। असार मसान्तसम्म कार्यविधि भएन भने साग हुँदैन् भनेर मैले पत्रिकामा पढेको छु। साग गर्नलाई कार्यविधिले कहाँ रोकेको छ? कार्यविधिले सहजता ल्याउँछ त्यतिमात्रै हो। तर, राखेप र सदस्यसचिवलाई दिएको अधिकार प्रयोग गर्दा कार्यविधि आवश्यक पर्दैन। कार्यविधिले के गर्न हुने र के गर्न नहुने भन्नेमात्रै त हो। कार्यविधिले यति खेलाडी, यति प्रशिक्षक राख, प्रतिदिन यति सुविधा देउ, यो स्तरमा गर भन्ने त हो। मानिलिऔं कार्यविधि आएन रे, अब १३औं साग रोक्ने त? नरोक्ने, त्यसबेला हाम्रो ऐन, नियम, नियमावलीले जे व्यवस्था गरेको छ। त्यसबाट काम सुरु गर्ने। त्यसमा लेखिएको कुरा हामी बसेर निर्णय गर्न सकिहाल्छौं नि। कार्यविधि भनेको हाउ गुजी हो। कार्यविधिले रोकिएको छैन्।

सागका अहिले अधिकांश कामहरु सचिवालयबाट भइरहेका छन्। उपसमितिहरु गठन गर्दै काम गर्नुपर्ने आवश्यकता महसुस भएको छैन्?
अहिले सचिवालयले काम निकालिरहेकाले उपसमितिहरु निर्माण गरिहाल्नुपर्ने आवश्यकता छैन। ‘ओभर क्राउडेड’ हुन्छ। किनभने कम्तिमा १ सय ५ जना उपसमितिमा हुन्छन्। अरुअरु गर्दाखेरि डेढ सय देखि दुई सयसम्म मान्छेहरु त्यहाँ हरदिन संग्लन हुन्छन्। डेढ दुई सयमान्छेहरु बस्ने ठाउँ पनि अहिले छैन। पहिले त कहाँ राख्ने भन्ने कुरा निश्चित गर्नुपर्यो। मान्छेलाई काम दिने तर बस्ने ठाँउपनि दिएन भने काम हुँदैन। नहुने वित्तिकै त्यसले काम गर्नेलाई पनि निरुत्साहित गरिदिन्छ। कहिलेकाही यसमा हामीले सजकता अपनाउनुपर्छ। यदि काम रोकियो, कामको दायरा बढ्यो भने उपसमिति चाहिने हो। अहिले सचिवालयले भ्याएको छ। जब यसले भ्याएन र दायरा फराकिलो बनाउँनुपर्यो भने त्यतिबेला हामी अरु साथीहरु थपेर यसलाई अघि बढाउछौं।

ramesh silwal 8

सागको बजेट सरकारबाट कहिले पारित गराउनुहुन्छ?
बजेट समस्या छैन्। हामीले बजेट बनाएका छौं। फलोअप गरेका छौं। सरकारले बजेटले काम रोकिदैँन, काम अगाडि बढाउनुस् भन्नुभएको छ। प्रधानमन्त्री, अर्थमन्त्री ज्यूले त्यसो भनिसकेपछि हामीले आउदैन कि भनेर शंका मानिरहनुपर्ने अवस्था छैन। तयारीका क्रममा रकम तलमाथि हुनसक्छ तर बजेट रोकिदैँन।

उद्घाटन–समापन कस्तो हुने भन्नेबारेमा सोच्न सुरु गरिसक्नु भयो या बाँकी छ?
हामीले उद्घाटनलाई कसरी भव्य बनाउने, कसरी आम जनताले चाडका रुपमा बनाउने भन्नेबारे सोचेका छौं। सबै वर्ग, तह, तप्का, जाती, भाषा, क्षेत्र, लिङ्गलाई समेट्दै कसरी उद्घाटन गर्नेमा हामीले वर्क आउट गरेका छौं। आन्तरिक तयारी छ। यसमा अहिले हतार नगरौं। उद्घाटनको केही दिन अघि यस्तो गर्दैछौं भनेर हामी सबैलाई जानकारी दिनेछौं।

घरेलु मैदानमा हुने सागमा सबैले बढीभन्दा बढी पदकको अपेक्षा राख्नु स्वभाविक हो। खेलाडीहरुलाई चारमहिनाको प्रशिक्षण दिइदैँछ। त्यसलाई नतिजामुखी बनाउँन के कुरामा जोड दिनुभएकोछ?
तीन चारवटा कामहरु हामीले गरेका छौं। अहिले अधिकांश खेलका प्रशिक्षण देशभित्र भइरहेका छन। त्यसमा दुईवटा मेडेल छन्, केही खेलहरु स्वदेशी प्रशिक्षक तथा केही खेलहरुका लागि विदेशी प्रशिक्षकको व्यवस्था मिलाइएको छ। केही गेमहरु विदेशमा पनि प्रशिक्षण भइसकेको छ।

दोस्रो चरणमा, अधिकांश खेलहरुको तयारी या विदेशमा हुन्छ, नत्र विदेशबाट प्रशिक्षक मगाएर हुन्छ। फाइनल तयारीका लागि पनि हामीले योजना बनाएका छौं। कुन प्रशिक्षकले, कुन देशमा गएर गर्दा, कुन देशको प्रशिक्षकसँग अभ्यास गर्दा रिजल्ट आउँछ भन्नेबारे सबै संघ र मुख्य प्रशिक्षकसँग बसेर हामीले योजना मागेका छौं। कतिपयले योजना पेश गरिसकेका छन। कतिपय योजना पेश गर्ने चरणमा छन।

कति पदक ल्याउने, कुन स्थान हासिल गर्ने भन्ने नेपालकोे लक्ष्य के हुन्छ?
अहिले त्यसको हिसाबकिताब नगरौं न। हामीले संघहरुको लक्ष्य मागेका छौं। हामीले आफ्नो लक्ष्य पनि बनाएका छौं। फुटबल, भलिबल, क्रिकेटका प्रतियोगिताहरु लगत्तै हुँदैछन्। तिनीहरुको अवस्था के छ? पदक ल्याउने सम्भावनाको पनि त्यसबाट आँकलन हुनेछ। एउटा संघले, अर्को हामीले र तेस्रो खेलाडीले प्रतियोगिताहरुमा पाएको सफलताका आधारमा हामीले पदकको हरहिसाब निकाल्छौं। अहिले नै हिसाब गर्नु हतार हुन्छ। तर, अवश्य पनि पहिलेभन्दा राम्रो नतिजा आउँछ।

भारत र पाकिस्तान साग खेल्न आउने नआउनेमा आशंका उब्जिएको हो?
भारत र पाकिस्तान आउँछन् कि आउँदैनन् भन्ने आशंका मलाई त हैन मिडियाहरुलाई थियो। अहिलेसम्म पाकिस्तानबाहेक सबै राष्ट्रले आउने लिखित प्रतिबद्धता जनाइसकेका छन्। भारतले लिखित रुपमै आउने प्रतिबद्धता गरिसकेको छ। सबैले बन्द प्रशिक्षण राखिसकेका छन्। पाकिस्तानले पनि राखिसकेको छ। अनौपचारिक रुपमा आउने कुरो त भएको छ तर औपचारिक पत्र आइसकेको छैन।

हामीले अब सेड्युल बनाएर पठाउँदैछौं। अबको एक महिनाभित्र उहाँहरुले कुन कुन गेमको कुन कुन स्पर्धामा भाग लिने भनेर नाम दर्ता गर्नुपर्छ। त्यसपछि को को खेलाडी आउँदैछ भनेर फेरि एकमहिनाको समय दिएर नाम दर्ताको प्रक्रियाका लागि पत्राचार आज(शुक्रबार) हुन्छ।

अहिले दुई सहभागी राष्ट्र भारत र पाकिस्तान कस्मिरको विषयमा विभाजित छन्, त्यसले सागमा असर पुर्याउँला?
केही पनि पार्दैन। किनभने उनीहरु या युद्ध गर्न नभएर खेल्न आउने हुन्। राम्रो खेल्ने जित्छ। नराम्रो खेल्ने हार्छ। खेलको आफ्नै नियम छ। नियमको सबैले पालाना गर्न परिहाल्छ। त्यसले उनीहरुलाई मनोवैज्ञानिक प्रभाव पर्ला। यो चाँही जसरीपनि जित्नुपर्छ। जसरी पनि हराउनुपर्छ भन्ने होला। त्यसलाई सकरात्मक रुपमा लिनुपर्छ।

सरकारले सागलाई खेल महोत्सवका रुपमा मात्रै नलिएर छिमेकी देशहरुसँगको सम्बन्ध बलियो बनाउँने कडिका रुपमा पनि प्रयोग गर्नुपर्छ कि?
जब देश देशबीचको सम्बन्ध बिग्रियो भने त्यसलाई खेल, कला तथा संस्कृतिको माध्यमबाट सम्बन्ध जोड्ने काम गरिन्छ। पिङपोङ कुटनीति भनेर त्यो विश्वभर प्रशिद्ध छ। खेलले बिग्रेको सम्बन्ध सुधार्न र सम्बन्ध अझै राम्रो बनाउँन महत्वपूर्ण भूमिका खेल्छ। १३औं सागबाट हामीले त्यो अपेक्षा गरेका छौं। उच्चस्तरीय भ्रमण गराउने विषयमा त अहिलेसम्म कुनै छलफल भएको छैन। तर, हामी एकचरणमा उहाँहरुको तयारीबारे जानकारी लिन र फेरि निमन्त्रणा गर्न जादैँछौ।

तपाईको एकमहिना तिर फर्कौ, सुरुका दिनमा राखेप छिर्दा ‘सिस्टम’को अभाव छ भन्नुभएको थियो एकमहिना बित्दा के के सिस्टम बसाल्ने कार्यको थालनी गर्नुभयो?
अलिकति तपाईहरुले पनि देखिसक्नु भयो। अहिले मैले धेरै काम रुटिनवद्ध रुपमा गरेको छु। कर्मचारी प्रशासन, प्रशिक्षक–प्रशिक्षणलाई मजबुद बनाउने र खेलाडी तथा सबैलाई अनुशासनमा राख्ने गरि हाम्रो संयन्त्र मजबुद बनाउने कामको थालनी गरेको छु। त्यसअन्तर्गत मैले सम्पूर्ण कर्मचारी, प्रशिक्षकलाई सामुहिक रुपमा भेटिसकेको छु। विभागीय–विभागीय पनि भेटेको छु। तहगत रुपमा पनि भेटेको छु। सम्पूर्ण स्थायी, अस्थायी, करार र ज्यालादायीलाई भेटेको छु। उहाँहरुका कुरा सुनेको छु अनि के गर्ने भन्ने निर्देशन पनि दिएको छु।

दोस्रो कुरो, हरेक बिहीबार शाखा प्रमुखहरुको बैठक हुन्छ अहिले। उहाँहरुको योजना र कार्यक्रमसहित बैठक हुन्छ। अर्को बिहीबार चाँही अस्ती भनेका कुरा के के भयो? के के भएन? नयाँ समस्या के आयो भन्ने समिक्षा हुन्छ। त्यसले कार्यप्रणालीलाई चुस्त दुरुस्त बनाउँन मद्दत पुगको छ।

त्यस्तै प्रशिक्षकहरुको सागमा संग्लन भएको बाहेक अरुको सुचि बनाउँदैछु। उहाँहरु को, कहाँ, के गर्दैछन्? उहाँहरुलाई कार्यविधि बनाएर जिम्मा दिने काम हुदैँछ। राम्रो काम गर्नेलाई पुरस्कार दिने तथा नराम्रो काम गर्नेलाई दण्ड दिने व्यवस्था हुँदैछ।

संघहरुलाई व्यवस्थित कसरी गर्ने भनेर पनि ५० वटा संघसँग बसेर छलफल गरिसकेको छु। बाँकी १ सय ५६ संघलाई पनि हामीले कार्यक्रम, योजनाको सुचि मागेका छौं। राम्रो संघहरुको ग्रेडिङ हुन्छ। राम्रो काम गर्ने संघहरुलाई पुरस्कार हुन्छ। काम नगर्ने संघहरुको पुर्न गठन या खारेज हुन्छ। ठिकठिकै काम गर्नेलाई राम्रो काम गर्न प्रेरित गरिनेछ। त्यो खालको कार्ययोजनाको सुरुवात भएको छ।

अर्को कार्ययोजना, मेची–महाकाली अभियानका लागि पर्सी आइतबार र सोमबार हामी दुईदिन बस्दैँछौं। यो वर्ष हाम्रो ९७ वटा हाम्रो केन्द्रीय योजना छ। त्यसबाहेक एक गाउँ एक खेल मैदानको योजना छ। ९७ वटा विशिष्ट योजनाहरु हामी भाद्र मसान्तभित्र नै टेण्डर गर्दछौं। असारे विकास भन्ने अब हुँदैन। भाद्रमा टेण्डर खोलेर काम लगाइनेछ। त्यसले समयमै काम सकिन्छ। यी पद्धती बसाउने काम सुरु भएका छन्।

धेरै काम गर्न बाँकी छ। विभाग– विभागमा माइक्रो विश्लेषण गरेर काम गर्न सुरु भएका छन्। ३१ दिनमा यी सबै काम सकिदैँन। राखेप, प्रशिक्षक, खेलाडी पदाधिकारी तथा बाहिरका लागि पनि खेलजगत सम्मानित हुने खालको कामको प्रारम्भ भएको छ।

राखेपको बेरुजु नै एक अर्ब भन्दा बढी छ। आर्थिक अनुशासन पालना गराउन पहिलो एक महिनामा के गर्नुभयो?

ramesh silwalllll
अघिल्लो हप्ता मैले दुई करोड २८ लाख बेरुजु फर्छौट गरे। यो हप्ता मलाई आशा छ १० करोड जतिको बेरुजु फर्छौट हुन्छ। आर्थिक अनुशासनको पालना गराउने कार्यको प्रारम्भ भैसकेको छ। १३औं साग भएको ३५ दिन हामीलाई अवधि दिनुपर्छ, बिल भर्र्पाई यताउती छुटेको। बुझबुराथ गर्नुछ भनेर गरिदिनुुस् भनेर हामीले सुचनै दिनुपर्छ। म ३ महिना भित्र, ४५ दिनमा सकियो भने ४५ दिनमै गरिदिन्छु, ५० दिनमा सकियो भने ५० दिनमै गरिदिन्छु, आम्दानी खर्च सबै दिएर, नाफा, नोक्सान मिडियामा देखाउँछु। तर ९१ दिन पुर्याउदिन। यसले एउटा सुशासनको प्रत्याभुति देखाउँनेछ। 

र, अन्त्यमा राखेपले अहिले संघहरुको चुनाव रोकेको छ। यहीबेला नेपाल ओलम्पिक कमिटि(एनओसी)को चुनाव(भदौ २०) हुँदैछ। संघहरुको ओलम्पिक कमिटिको चुनावमा मताधिकार पनि हुन्छ। संघले चुनाव भए चुनावबाट आफ्ना विपक्षका मान्छेहरु आउलान र ओलम्पिक कमिटिमा वर्चस्व बनाउन अप्ठारो पर्ला भनेर त रोक्नुभएको हैन?
एनओसीसँग मेरो सम्बन्ध राम्रै छ। नभएको भए उनीहरुले मलाई स्वागत नै गर्दैन थिए। हिजो हामी संयुक्त बैठक बसेर धेरै कुराहरुको निर्णय गरेका छौ। अहिले सागमा सहभागिता जनाउने २७ संघको मैले चुनाव रोकेको हुँ। चुनाव हुँदा गुट उपगुट बनिदिने, खेलाडीहरु, कोचहरु एकआपसमा बाँडिने, भाँडिने भएकाले त्यो स्थिति नआओस भनेर चुनाव रोकिएको हो। हामीले धेरै अगाडि नै रोकेको हो। हामीले रोकेपछि एनओसीले चुनाव घोषणा गरेको हो। एनओसीले के गर्छ भनेर हामी रोकेर बस्ने कुरो हुँदैन। मैले चुनाव रोक्नुमा पनि एउटा शर्त छ, यदि चुनाव नभई सर्वसम्मत हुन्छ भने म साग अघि कुनै संघको निर्वाचन रोक्दिन भनेको छु।

भिडियो/फोटो: प्रविन कोइराला

साउन २४, २०७६, शुक्रबार

नेपालखबरका वरिष्ठ संवाददाता हुन्
लेखकबाट थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors