ad ad

खेल


हारको जिम्मेवारी पारसले मात्रै लिने हो?

हारको जिम्मेवारी पारसले मात्रै लिने हो?

शरद भेषावकर
साउन १६, २०७६ बिहिबार ९:१८,

टि–२० विश्वकप अन्तर्गत एसिया छनौटको फाइनलसम्म पुगेका थियौं। ग्लोबल छनौटमा पुग्न एउटा गेम बाँकी थियो। सिंगापुर होम टिम भएकाले उनीहरुलाई त्यहाँको अवस्थाबारे राम्रो थाहा थियो। मैदानबारे थाहा थियो। यसै प्रतियोगिताका लागि उनीहरुले धेरै महिना अघिदेखि तयारी गरेका थिए। र, उनीहरुको फाइनलमा रन हान्ने अष्ट्रेलियन खेलाडी (टिम डेविड)ले एक दमै राम्रो खेलिदिए। परिणाम, हामी ग्लोबल क्वालिफायरमा पुग्नबाट चुक्याैं।

कुनै बेला अरु टिमले आफ्नोभन्दा राम्रो खेल्यो भने त्यसमा केही गर्न सकिदैँन। उनीहरुले राम्रो खेलेकै हो भनेर क्रेडिट दिनुपर्छ। हामीले राम्रो खेल्न सकेनौं। पूरै टिमले राम्रो खेल्न सकेन। जति खेल्नुपर्ने हो हामीले खेल्न नसकेकै हो।

अब किन खेल्न सकेनौं? भन्नुहुन्छ भने त्यसमा धेरै कुराहरु संग्लन हुन्छन्।

nepali teeemसिंगापुरविरुद्ध  पराजित भएपछि निराश नेपाली टोलीका सदस्यहरु

सिंगापुरसँगको ८२ रनको हारसँगै विश्वकपमा पुग्ने सपना टुट्दा त्यस क्षण सारै दुःख लाग्यो, जसरी सम्पूर्ण नेपाललाई दु:खी भए। प्रत्यक्ष त्यहाँ खेलेका खेलाडीभन्दा बढी दु:ख कसलाई लागेको होला र? खेलाडीहरु, अझ हामी सिनियर खेलाडीहरुको त खेल्नलाई धेरै वर्ष पनि बाँकी छैन्। हामीलाई झनै एकदमै नरमाइलो लागेको छ। तर गर्न सक्ने जति हामीले गरेकै हो।

उनीहरु(सिंगापुर)ले तीन चार महिना अघिदेखि तयारी गरिरहेको  थिए। खेलाडीहरु खोजेर पनि ल्याए। हामीले यसअघि उनीहरुसँग खेल्दाका खेलाडी र अहिलेका खेलाडीहरुमा फरक थिए। टोलीमा धेरै परिवर्तन थियो। उनीहरुले नयाँ खेलाडीहरु खोजेर ल्याएका हुन्। त्यसले पनि फरक पर्‍यो। तर, त्यस्तो भन्दैमा हामीलाई पनि ‘एक्सुज’ दिन मिल्दैन। मैले यसअघि पनि भनेको थिएँ, हामीले ५०–६० प्रतिशतमात्रै पनि खेल्यौं भने जित्छौं भनेर। तर हामीले हामीसँग भएको ‘पोटेन्सियल’को ५० प्रतिशत पनि राम्रो खेल्न सकेनौं। सबै डिपार्टमेन्टमा चुक्यौं।

अगाडि बढ्नलाई खेलाडीले आफ्नो सबै इफोर्ट लगाइरहेकै हुन्छ। हामीले अन्य जे जस्तो भए पनि मैदानमा शतप्रतिशत दिएर खेलिरहेकै हुन्छौं। त्यसबेला पनि कहिलेकाही रिजल्ट आउँदैन्। तर, प्रतियोगिता अघि तयारी राम्रो हुनैपर्छ। खाली एक दुई महिनाको तयारीले मात्रै पुग्दैन। पछिल्लो तीन चार वर्षमा हाम्रो बोर्ड छैन्, फन्ड पनि छैन्। छोटो तयारीका भरमा हामी प्रतियोगिता खेल्न जान्छौं। त्यो सानो-सानो कुराहरुको असर अहिले ठूलो बन्दै यस्तो नतिजामा परिणत भएको हो। गत तीन चार वर्षयता क्यान निलम्बनमा पर्नु नेपाली क्रिकेट यस अवस्थामा पुग्नुको एक मुख्य कारण हो।

Sharad and Coachप्रशिक्षक पटुवालसँग कुराकानी गर्दै शरद भेषावकर

कीर्तिपुर मैदान अहिले बेवारिसे अवस्थामा छ। दयनीय अवस्थाको फोटोहरु सामाजिक सञ्जालमा देख्दा निकै दुःख लाग्छ। केही कुरा पनि कन्डिसनमा छैन। जसरी तसरी मिलाएर खेलिरहेका छौं। त्यसबीच पनि खेलाडीले मैदानमा आफ्नो शतप्रतिशत दिएकै हुन्छन्।

नेपाली खेलाडीहरुले मेहनत गरे-नगरेको सबैले देखि नै रहेका छन्। गेम नहुँदा पनि खेलाडीहरु बिहानदेखि बेलुकासम्म ग्राउण्डमै बिताइरहेका हुन्छन्। अहिले पनि हेर्नुभयो भने कोही न कोही खेलाडीहरु अभ्यास गरिरहेकै भेट्नुपर्छ। भनेपछि खेलाडीको मेहनतका बावजुद पनि रिजल्ट नआउँनुको कारण चाहिँ अर्कै होला नि त?

हामीभन्दा तल्लोस्तरका देशहरुले पनि व्यवस्थित रुपमा योजनाबद्ध हिसाबले तयारी गर्न शुरु गरिसके। उनीहरुको सरकारले राम्रो लगानी गरिरहेको छ। खेलाडीहरू बाहिर गएर खेलिरहेका हुन्छन्। हाम्रो सन्दीप(लामिछाने) र अहिले सोमपाल (कामी) मात्रै बाहिरबाट खेल्छन्। खेल्ने त ११ जनाले हो, सबै जनाको तयारी राम्रो नभइ परिणाम हात पार्न गाह्रो हुन्छ।

वरियताको आधारमा मात्रै हेरेर हुँदैन्। टि–२० एकदमै ‘डेन्जरेस’ गेम हो। एउटा ब्याट्सम्यानले राम्रो खेल्दियो भने खेल नै पल्टन्छि। त्यसका लागि राम्रो योजनाबद्ध तयारी हुनैपर्छ।

sharad Veswkarrrrrशरद भेषावकर नेपाली टोलीका सिनियर सदस्य हुन्

मैले देखेको ट्रेन्ड कस्तो छ भने जो पनि आएर खेलाडीलाई नै प्रश्न गर्छन्। खोई, मैले कहिले पनि राखेपको मान्छे, क्रिकेट संघको चुनावका लागि लडिरहेको मान्छेलाई प्रश्न गरेको देखेको छैन। उहाँहरुलाई गएर पनि प्रश्न गर्नुपर्यो। यसका लागि कसले जिम्मेवारी लिने त जवाफ माग्नुपर्यो?

पारस(खड्का)ले मात्रै भनिररहेको हुन्छ, हारको जिम्मेवार म लिन्छु, म जिम्मेवार छु। कप्तान भएका नाताले उसले त्यसो भन्छ तर खेल्ने सबैजना खेलाडीहरु उत्तिकै जिम्मेवार छन्। त्यस्तै क्यान पनि जिम्मेवार होला। नेपाल सरकार जिम्मेवार होला, राखेप जिम्मेवार होला। खै के–के सहयोग पाइरहेको छ? क्रिकेटमा के सहयोग गरेको छ सरकारले?

हामी ओडिआई स्टाटस पाइसक्यौं एउटा राम्रो मैदान छैन। भएको ग्राउण्डमा सामान छैन। अहिले गएर फोटो खिच्नुस् न कीर्तिपुर मैदानको। नेपाली क्रिकेटको अहिलेको अवस्था सबैलाई थाहा भएको कुरा हो, हामीले भनिरहनु पर्दैन।

अहिले हामी कहाँ चुक्यौं राखेप, आउने बोर्ड बसेर राम्रोसँग अनुसन्धान गर्नुपर्छ। आशा गरौं, आउने दिनमा राम्रो होला। पहिले कुरा त क्यान नै हो। त्यही भएर जतिसक्दो छिटो क्यान फर्किनु पर्छ।

(अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० विश्वकप पुग्ने सिँढीका रुपमा रहेको एसिया छनौटको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल ग्लोबल छनौटमा पुग्न असफल भएको थियो। उपाधि दाबेदार नेपालको खराब प्रदर्शनबारे राष्ट्रिय टोलीका सिनियर सदस्य शरद भेषावकरसँग नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .