ad ad

खेल


आईपीएल: सन्दीपले किन पाएनन् खेल्ने मौका?

आईपीएल: सन्दीपले किन पाएनन् खेल्ने मौका?

लक्ष्मी जि.सी
असोज २०, २०७७ मंगलबार १३:२८,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को दिल्ली क्यापिटल्समा आबद्ध छन्। संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा जारी आईपीएलमा सो टोलीले ५ खेल खेलिसकेको छ।

आईपीएल सुरु हुनुअघि क्यारेबियन प्रिमियर लिगमा जमैका तलावाजबाट राम्रो प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले मौका दिने अनुमान गरिएको थियो। तर, सन्दीपले अहिलेसम्म खेल्ने मौका पाएका छैनन्।

सन् २०१८ मा सन्दीपलाई दिल्लीले न्यूनतम मूल्य ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो। उक्त सिजनमा सन्दीपले अन्तिम ३ खेलमा ५ विकेट लिँदै राम्रो प्रभाव छाडेपछि सन् २०१९ को संस्करणमा दिल्लीले सन्दीपलाई टोलीमै राख्ने निर्णय गरेको थियो। सन्दीपले सो वर्ष विश्वका चर्चित फ्रेन्चाइज लिगहरुमा उत्कृष्ट प्रर्दशन गर्दै दिल्लीमा नियमित स्थानका लागि बलियो दाबेदारी प्रस्तुत गरेका थिए। तर, सन् २०१९ मा पनि दिल्लीले सन्दीपलाई ६ खेलमा मात्र मौका दियो। जसमा उनले ८ विकेट लिएका थिए।

सन्दीप यो सिजनमा पनि दिल्लीमै छन्। तर, अहिलेसम्म उनले मैदानमा उत्रिने मौका पाएका छैनन्। सन्दीपले खेल्न नपाउनुको पहिलो कारण हो, दिल्लीसँग पर्याप्त स्तरीय स्पिनर हुनु। अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विन, अमित मिश्रा र अलराउन्डर अक्षर पटेल दिल्लीमै छन्। तर, मिश्राले औँलाको चोटका कारण बाँकी खेल गुमाउने भएका छन्। आश्विन र अक्षरले भने राम्रो प्रर्दशन गर्दै आएका छन्। सोमबार बेंगलोरलाई पराजित गर्न अलराउन्डर अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिँदै म्यान अफ द म्याच चुनिएका थिए। यदि आश्विन र पटेलले नियमित राम्रो प्रर्दशन गरिरहे सन्दीपले अवसर नपाउन सकछन्।

जारी सिजनमा दिल्लीले सुरुवातमै उत्कृष्ट प्रर्दशन गरेको छ। ५ खेलमा ४ मा जित र १ मा हारसहित दिल्ली शीर्ष स्थानमा छ।

दिल्लीको टोलीमा स्थान पाउन खेलाडीहरुबीच निकै ठूलो प्रतिस्पर्धा छ। आईपीएलमा चार मात्र विदेशी खेलाडी खेलाउन पाइन्छ। सुरुवाती ५ खेलमा दिल्लीले दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो रबाडा, एनरिच नर्खिया, अस्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस र वेस्टइन्डिजका ब्याट्सम्यान सिम्रन हेटमायरलाई खेलाउँदै आएको छ। आगामी खेलमा पनि दिल्लीले यी चार खेलाडीलाई नै निरन्तरता दिने देखिन्छ। रबाडा दिल्लीका प्रमुख हतियार हुन्। रबाडा पहिलो रोजाइमा पर्छन्।

सुरुवाती पाँच खेलमा रबाडाले १२ विकेट लिएका छन्। योर्कर बलिङका लागि परिचित उनी डेथ ओभर स्पेलिस्ट मानिन्छन्। दिल्लीसँग उत्कृष्ट भारतीय तीव्र गतिका बलर छैनन्। त्यसैले दुई विदेशी तीव्र गतिका बलर खेलाएको छ। नर्खियाले पनि ७ विकेट लिई स्थान बलियो बनाएका छन्। यता बल र ब्याट दुवैमा अहम् भूमिका खेल्दै आएका मार्कस स्टोइनिस पनि दिल्लीको पहिलो रोजाइमा पर्छन्। उनले ३ विकेट र १ सय २३ रन बनाएका छन् । स्टोइनिसले तल्लोक्रममा आक्रामक ब्याटिङका साथ बेंगलोर र पन्जाबबिरुद्ध अर्धशतक बनाएका थिए। वेस्ट इन्डिजका सिम्रन हेटमायर पनि ठूलो सट खेल्न माहिर मानिन्छन्।

दिल्लीमा भारतीय तीव्र गतिका बलर इशान्त शर्मा, मोहित शर्मा, हर्षल पटेल र आवेश खान छन्। दिल्लीले सुरुवाती पाँच खेलमा यीमध्ये चार बलरलाई प्रयोग गरिसकेको छ। तर, तिनले अपेक्षित प्रदर्शन गर्न सकेका छैनन्। तसर्थ नर्खियाले खराब प्रर्दशन गरेको खण्डमा पनि दिल्लीले अस्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल सामलाई खेलाउने छ। दिल्लीको मध्यक्रम बलियो बनाउन सिम्रन हेटमायललाई खेलाउनै पर्ने हुन्छ।

शीर्षक्रमका ब्याट्सम्यान पृथ्वी श, शिखर धवन र श्रेयस ऐयर नचलेको खण्डमा मध्यक्रम कमजोर बन्न जान्छ। त्यसैले मध्यक्रम सम्हाल्ने जिम्मा ऋषभ पन्त र हेटमायरको काँधमा छ। तीव्र गतिमा बलिङ गर्ने स्टोइनिसले ठूलो इनिङ र आक्रामक ब्याटिङ गर्ने गर्दछन्। स्टोइनिसलाई बेन्चमा राख्दा दिल्लीको टोली सन्तुलन बिग्रिन्छ। यसैकारण सन्दीप बेन्चमा बस्नु परेको छ।

दिल्लीले सन्दीपसँगै, अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरी, वेस्ट इन्डिजका अलराउन्डर किमो पल र अस्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल सामलाई बेन्चमा राखेको छ।

दिल्लीमा भारतीय उच्च कोटीका फास्ट बलर नहुनु, मध्यक्रम र तल्लोक्रममा पनि विदेशी खेलाडीमा निर्भर हुनुजस्ता कारणले सन्दीपले मौका पाउने सम्भावना कम छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .