ad ad

खेल


सिलवालले पूरा गरेनन् सागमा भएको खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता

सिलवालले पूरा गरेनन् सागमा भएको खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता

लक्ष्मी जि.सी
बैशाख १७, २०७७ बुधबार २:९,

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको दोस्रो दिन पत्रकारहरुसँग भनेका थिए, ‘आम्दानी कति भयो? खर्च कति भयो? नब्बे दिनभित्र सार्वजनिक गर्छु। एउटा पदकका लागि खेलकुद परिषद्ले कति रकम खर्च गरेको रहेछ। हिसाबकिताब गर्नुहोला।’

२०७६ मंसिर अन्त्यमा जनाएको प्रतिबद्धताअनुसार गत फागुनभित्रै खर्च विवरण सार्वजनिक भइसक्नु पर्ने हो। साग २०७६ मंसिर २५ गते सम्पन्न भएको थियो। सिलवाल स्वयंले तोकेको समय सीमा नाघेको आज बुधबार ५२ दिन भएको छ। तर हिसाब सार्वजनिकको कुनै छाँट छैन।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सिलवालले गतवर्ष असार २३ गते सदस्यसचिवको पदभार ग्रहण गर्दा सुशासन र आर्थिक पारदर्शिता आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए। आफैँले तोकेको समय करिब २ महिना घर्किसक्दा पनि खर्च विवरण सार्वजनिक नहुँदा उनको आर्थिक पारदर्शिताबारे गम्भीर प्रश्न उब्जिएको छ।

के भनेका थिए सिलवालले सुन्नुहोस्:

सागका लागि पूर्वाधार निर्माण, व्यवस्थापन, पदक, एन्टी डोपिङ, मेडिकल तथा चिकित्सक, खेल सामग्रीमा ठूलो धनराशी खर्च भएको थियो। उद्घाटन र समापनमा समेत करोड बढी खर्च भएको थियो। यो पटक सागका खेल काठमाडौं, पोखरा जनकपुरमा खेलाइएको थियो ।

सदस्यसचिव सिलवालको भनाइअनुसार काठमाडौं र पोखरामा साग आयोजना गर्दा २ अर्ब ७५ करोड खर्च भएको छ। त्यसमा सरकारले ३ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यस पटक सागका केही खेल जनकपुरमा समेत गराइएको थियो। त्यसको खर्च छुट्टै छ।

कार्तिक ३० गते राखेपले आयोजना गरेको पत्रकार सम्मेलनमा सागमा ५ अर्बभन्दा बढी रकम खर्च हुने जानकारी दिइएको थियो। 

खर्च विवरण ९० दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका सिलवाल अहिले भने खर्च गर्नेहरुले विवरण नदिएकाले सार्वजनिक गर्न ढिलाई भएको बताउँछन्।

‘हामीले सबैसँग खर्च विवरण मागेका थियौं तर अन्तिम समयसम्म पनि खर्च विवरण नआएकाले ढिला भएको हो,’ उनले नेपालखबरसँग भने, ‘अनुशासनको कमीले गर्दा पनि ढिलो भयो। हामीले भनेको समयमा खर्च विवरण पाएनौं।’

sarcदशरथ रंगशालामा भएको थियो साग उद्घाटन। फाइल तस्विर

सदस्य सचिव नियुक्त भएपछि सिलवालले राखेपको वर्षौदेखि बाँकी रहेको पेस्की उठाउन तदारुकता देखाएका थिए। त्यतिबेला उनले पैसा तत्काल भुक्तान गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सागको खर्च विवरण समयमै नदिनेप्रति भने उनी मौन छन्।

‘हामीले खर्च विवरण बुझाउन भनि सूचना पनि निकालेका थियौं,’ सदस्यसचिव सिलवाल भन्छन्, ‘पहिलेदेखि कै ढिलासुस्ती गर्ने बाँनीले अप्ठारो पार्यो।’ बजेट अन्तिम चरणमा रहेको भन्दै छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरे। 

उनले भने, ‘अझै केही समय कुर्नुपर्ने हुन्छ। अहिले बजेटको अन्तिम चरणको काम भइरहेको छ त्यो सकिनासाथ केही दिनमा खर्च विवरण सार्वजनिक गर्छौं। लकडाउन लम्बियो भने लकडाउनकै बीचमा गर्छौं। यदि वैशाख २५ गते नै लकडाउन अन्त्य भयो भने त्यसपछि सार्वजनिक गर्छौ।’

यो पनि:  १३ औं सागलाई ५ अर्ब बजेट आवश्यक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .