ad ad

खेल


यी खेलाडी जसले बढाए नेपाली खेलकुदको शान

यी खेलाडी जसले बढाए नेपाली खेलकुदको शान

लक्ष्मी जि.सी
बैशाख ४, २०७७ बिहिबार १:५०,

नेपाली खेलकुदको इतिहासमा वर्ष २०७६ यादगार रह्यो। तेह्राैँ दक्षिण एसियाली खेलकुद (साग) आयोजनाका कारणले मात्र होइन अरु धेरै हिसाबले वर्ष २०७६ सफल देखिन्छ।

स्वदेशमा साग आयोजना हुँदा नेपाल फेरि पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भयो। ५१ स्वर्ण, ६० रतज र ९५ कास्य गरी २ सय ६ पदक स्वदेशमै राख्यो। यो पदक संख्या नेपालले सागमा जितेको अहिलेसम्मकै सर्वाधिक हो।

यु–२३ फुटबलमा स्वर्ण, पहिलो पटक महिला टोलीले रजत, महिला बास्केटबल टोलीले रजत पदक जित्दा समूहगत खेलमा नेपालको सम्भावना थप उजागर भएको छ। व्यक्तिगत खेलमा पनि नेपाली खेलाडीले इतिहास रचेका छन्। सागमा व्यक्तिगत खेलतर्फ पुरुषको दाजोमा महिला खेलाडीको प्रदर्शन उच्च रह्यो। साग, आठौं राष्ट्रिय खेलकुद अनि खेलाडीले वर्षभरि गरेका प्रदर्शन आधारमा केही सफल महिला खेलाडीबारे हामीले यहाँ चर्चा गरेका छौं।

गौरिका सिहं (पौडी)

gaurika sing
नेपालकी जलपरीको रुपमा परिचित गौरिका सिहं वर्ष २०७६ भरि नै चर्च शिखरमा रहिन्। उनले सागको पौडीमा नेपाललाई पहिलो पटक स्वर्ण पदक मात्र जितिनन्, एकै संस्करणमा सबैभन्दा बढी पदक जित्ने इतिहास पनि रचिन्। सागमा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेकी उनले सो पदक सबै नेपालीप्रति समर्पित गरिन्। पहिलो खेलमा नै राष्ट्रिय कीर्तिमान बनाएकी उनले त्यसपछि थप नयाँ—नयाँ कीर्तिमान बनाइन्। बेलायतमा बसोबास गर्ने उनले त्यतिबेला भनेकी थिइन्, ‘मलाई नेपाली होइनौ भन्दा निकै दुःख लाग्छ।’ ओलम्पियन गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जितिन्।

सवित्रा भण्डारी साम्बा (फुटबल)

samba
गोल मेसिनको रुपमा चर्चा कमाएकी राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उच्च प्रदर्शनले गत वर्ष पनि निरन्तरता पायो। ५ वर्षदेखि राष्ट्रिय टोलीकी नियमित सदस्य उनले गत वर्ष उच्च गोलकर्ताको कीर्तिमान बनाइन्। राष्ट्रिय टोलीकी पूर्व फरवार्ड अनु लामाको ३५ गोलको कीर्तिमानलाई तोड्दै उनी शीर्ष स्थानमा उक्लिइन्। सावित्राको गोल संख्या ३८ पुगेको छ। १३ औं सागका दौरान उनले कीर्तिमान बनाइन्। पुरुषतर्फको सर्वाधिक गोलकर्तालाई सावित्राले निकै पछि पारेकी छिन्। पुरुषतर्फ सर्वाधिक गोल गर्नेमा पूर्व फरवार्डद्वय हरि खड्का र निराजन रायमाझी छन्। उनीहरुले समान १३ गोल गरेका छन्। दशक भन्दा लामो समयदेखिको यो कीर्तिमान अझै तोडिएको छैन।

यो वर्ष नै उनी भारतीय महिला लिगमा सर्वाधिक गोलकर्ता मात्र बनिनन् लगातार २ पटक आफ्नो क्लबलाई च्याम्पियन समेत बनाइन्। पहिलो वर्ष सेथु एफसीबाट खेलेकी उनले गत वर्ष गोकुलम केरला एफसी रोजेकी थिइन्। फुटबलमा जम्नुअघि सावित्राले एथलेटिक्स, भलिबल पनि खेल्थिन्।

अञ्जली चन्द (क्रिकेट)

Anjali Chand
करिब १२ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी अञ्जली चन्दले नेपाली महिला क्रिकेटका लागि दुर्लभ कीर्तिमान बनाइन्। १३ औं सागको पहिलो खेलमा मालदिभ्सविरुद्ध रन नदिइ उनले ६ विकेट लिएपछि विश्व कीर्तिमान बनाउँदै चर्चामा आइन्। नेपालले कास्य पदक जितेको सागमा अन्जली सर्वोकृष्ट खेलाडी चुनिइन्।

पोखरामा भएको खेलमा अन्जलीले २ ओभर १ बलमा रन खर्च नगरी ६ विकेट लिएर कीर्तिमान कायम गरिन्। यसअघि टी–ट्वान्टी अन्तर्राष्ट्रिय महिला क्रिकेटमा मलेसियाकी मास एलसाको नाममा ६ विकेट लिएर ३ रन खर्चेको रेकर्ड रहेको थियो।

आयशा शाक्य (तेक्वान्दो)

ayesha
नेपाली खेलकुद इतिहासमा सफल महिला खेलाडीको चर्चा गर्दा आयशाको नाम छुट्यो भने त्यो अपुरो हुनेछ। सन् २००६ मै एसियाली खेलकुद कास्य पदक जितेकी आयशाले सागका यस अघिका संस्करणमा एक स्वर्ण र एक रजत पदक जितेर खेल जीवनलाई सफल बनाइसकेकी थिइन्। तर उनको खेल्ने इच्छा मरिसकेको थिएन। २ छोराकी आमा उनले यो सागमा पुनरागमन मात्र गरिनन् दुई वटा स्वर्ण पदक जितेर नयाँ पुस्ताको प्रेरणा श्रोत पनि बनिन्। सागमा पहिलो पटक समावेश पुम्सेमा उनले एकल र जोडीमा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन्। १३ औं सागमा गौरिकापछि दोहोरो स्वर्ण पदक जित्ने आयशा एक्ली खेलाडी हुन्।

प्रतिभा माली (भलिबल)

prativa mali
त्यसो त समूहगत खेलमा सबै खेलाडीको महत्व उस्तै हुन्छ। तर, त्यसमा पनि केही खेलाडीको प्रदर्शन यस्तो हुन्छ उनीहरुको प्रदर्शन बिना टोलीको सफलता सम्भव हुँदैन। भलिबलमा त्यस्तो खेलाडीमध्ये प्रतिभा सबैभन्दा अगाडि आउँछिन्। नेपाली महिला भलिबल टोलीले गत वर्ष दुई ठूला सफलता हासिल गर्दा प्रतिभाले उच्च प्रदर्शन गरिन्। कार्तिकमा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा स्वर्ण पदक जितेको नेपाली टोलीले सागमा पहिलो पटक रजत पदक जितेको थियो। ती दुवैमा प्रतिभाको प्रदर्शन स्मरणीय रह्यो। घरेलु भलिबलमा उच्च प्रदर्शन गरेकी उनी हाल चोटका कारण कोर्ट बाहिर छिन्। माघमा क्लब च्याम्पियनसिपको फाइनलमा एपिएफविरुद्ध खेल्दा चोटग्रस्त बनेकी उनी पूर्णरुपमा फिट भएर फर्कन झन्डै वर्ष दिन लाग्ने बताइन्छ।

संगीता धामी (कुस्ती)

sangita dhami
संगीता धामीले १३ औं सागको कुस्ती महिला ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। नेपालको कुस्ती इतिहासमा त्यो पहिलो स्वर्ण पदक हो। जनकपुरमा भएको खेलमा संगीताले बंगलादेशकी सकिरा सर्कारिनलाई ५–१ ले हराउँदै पहिलो स्थान प्राप्त गरिज्। जितपछि उनले आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने र कुस्तीलाई अगाडि बढाउन चाहेको बताइन्। उनकको भनाइ थियो, ‘आमाको संघर्षकै कारण मैले सफलता पाएँ। यो स्वर्णको असली हकदार उहाँ नै हुनुहुन्छ।’ बुवाले अर्को विवाह गरेर छाडेपछि कष्टकर स्थितिमा पनि आमाले खेलमा लाग्न प्रेरित गरेकाले आफुले यो सफलता पाएको उनको भनाइ थियो।

सन्तोषी श्रेष्ठ (एथलेटिक्स)

santoshi
१३ औं सागमा सन्तोषी श्रेष्ठले पहिलो पटक स्वर्ण पदक जितिन्। साग इतिहासमा नेपाली एथलेटिक्स महिला खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो। १० हजार मिटर दौडमा सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण जितेकी हुन्। यसअघि सन् २००६ मा श्रीलंकामा भएको १० औं सागमा कान्छिमाया कोजुले १० हजार मिटर दौडमा रजत पदक जितेकी थिइन्।

सन्तोषीले भारतकी कविता यादवलाई १ मिलि सेकेण्डले पछि पार्दै ऐतिहासिक स्वर्ण आफ्नो नाममा लेखाएकी थिइन्।

सन्जु चौधरी (भारोत्तोलन)

sanju chaudhary
भारोत्तोलनकी सन्जु चौधरीले १३ औं साग अन्तर्गत महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। सन्जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्। नेपाली भारोत्तोलनको इतिहासमा यो मात्र दोस्रो स्वर्ण हो। महिलातर्फ भने भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु पहिलो महिला खेलाडी हुन्। यसअघि पुरुषतर्फ भने कमलबहादुर अधिकारीले स्वर्ण जितेका थिए।

मिनु गुरुङ (बक्सिङ)

minu gurung
बक्सिङ खेलाडी मिनु गुरुङले २० वर्षपछि नेपाललाई १३ औं सागमा ऐतिहासिक स्वर्ण पदक दिलाइन्। उनी बक्सिङमा नेपाललाई स्वर्ण पदक दिलाउने पहिलो महिला खेलाडी हुन्। बक्सिङको ५४ केजीमा मिनु गुरुङले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइना्। सन् १९९९ को आठौं साग पछि नेपालले बक्सिङमा जितेको यो पहिलो स्वर्ण पदक हो।

सोनी गुरुङ (ट्रायाथलन)

soni gurung
साग अन्तर्गत पोखरामा भएको ट्रायाथलनमा सोनी गुरुङले स्वर्ण पदक जितेपछि उनी चर्चामा रहिन्। उनले ट्रायाथलनका लागि पहिलो स्वर्ण जितेकी हुन। निर्धारित ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड १ घन्टा १३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दैले उनले स्वर्ण हात पारेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .