ad ad

खेल


सागका पदक विजेताले पुरस्कार रकम पाउन थाले

सागका पदक विजेताले पुरस्कार रकम पाउन थाले

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १६:१४,

देशमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको झण्डै ५ महिनापछि पदक विजेता खेलाडीले सरकारद्वारा घोषित पुरस्कार रकम पाउन थालेका छन्।

पटक–पटकको घोषणापछि पछिल्लो पटक चैत मसान्तभित्र पदक विजेता खेलाडी र प्रशिक्षकको खातामा रकम जम्मा हुने बताए पनि बुधबारबाट मात्र रकम जम्मा हुनथालेको हो।

आयशा शाक्यसँग पुम्सेमा जोडी भएर स्वर्ण पदक जितेका सञ्जिवकुमार ओझाको खातामा ६ लाख रुपैयाँ जम्मा भएको एसएमएस आएको उनले बताए। आयशाको खातामा भने रकम जम्मा हुन बाँकी छ। आयशाले एकल पुम्सेमा पनि स्वर्ण पदक जितेकी थिइन्।

राखेपले पदक विजेता ४ सय ३५ जना खेलाडीको विवरण र पाउनुपर्ने रकम कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)मा पठाइसकेको र भोलि साँझसम्म सबै खेलाडीले रकम पाइसक्ने जनाएको छ।

१३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो। युवा तथा खेलकुद मन्त्रालयले हालको परिस्थितिका कारण समारोह आयोजना गरी पदकधारीलाई सम्मान गर्न सम्भव नभएको भन्दै खातामा रकम जम्मा गरिएको जनाएको छ।

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. मान बहादुर बीकेले पदक प्राप्त गर्ने ४३५ खेलाडीको खातामा १९ करोड ५३ लाख पुरस्कार रकम जम्मा गरिएको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्पर्धाका स्वर्णपदक विजेताले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो।

टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख रजतले ४ र कास्य जित्नेले २ लाख रुपैयाँ बताइएको छ। सागमा ४ स्वर्ण १ रजत र १ कास्य पदक जितेकी गौरिका सिंहले सर्वाधिक ६२ लाख रुपैयाँ प्राप्त गर्नेछिन्। उनले व्यक्तिगततर्फ २ रजत र टिम स्पर्धामा ३ काँस्य जितेकी थिइन्।

२ स्वर्ण पदक जितेका आयशा, करातेका मण्डेकाजी श्रेष्ठ र सुवास तामाङले समान २२ लाख रुपैयाँ पाउने बताइएको छ। नेपालले साग इतिहासमै सर्वाधिक सफल बनाउने क्रममा ५१ स्वर्ण, ६० रजत र ९५ काँस्य पदक जितेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .