खेल


विभागीय टोलीले थेगेको महिला फुटबल, एन्फाले कहिले चेत्छ?

विभागीय टोलीले थेगेको महिला फुटबल, एन्फाले कहिले चेत्छ?

लक्ष्मी जि.सी
असार २३, २०८२ सोमबार १३:१३, काठमाडौँ

पछिल्ला केही वर्षमा नेपाली महिला फुटबल टोलीले जनस्तरमा उल्लेख्य उत्साह र आशा जगाएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो प्रदर्शनले देशभर फुटबलप्रति आकर्षित गराएको छ। तर यो उत्साह र सम्भावनाभित्र एक गहिरो चुनौती पनि लुकेको छ- व्यवस्थागत कमजोरी र दिगो योजनाको अभाव। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबलप्रति देखाएको बेवास्ता अब प्रश्नको घेरामा आएको छ। व्यवस्थागत सुधार र दिगो योजनाको अभावमा योभन्दा माथि जाने सम्भावना कम छ। 

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले झन्डै एक वर्षअघि भनेजस्तै – विश्वकप, एसियन कप भन्दा पहिला साफ च्याम्पियनसिपमा ध्यान दिन जरुरी छ। तर प्रश्न उठ्छ, जब टोलीसँग सपना छ, तर त्यसलाई सार्थक बनाउन चाहिने पूर्वाधार र लगानी किन छैन?

महिला टोलीले पछिल्ला वर्षमा जुन स्तरको खेल प्रदर्शन गरेको छ, त्यसको मुख्य श्रेय एन्फालाई कम  ३ विभागीय टोलीलाई बढी जान्छ। एपिएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले नियमित प्रशिक्षणसहित खेलाडीको संरक्षण गरेर महिला फुटबल टोलीलाई बलियो बनाउन मद्दत गरिरहेका छन्।

राष्ट्रिय टोलीको थोरै तयारी र विभागीय प्रशिक्षणको भरमा उनीहरूले क्षेत्रीय स्तरमा चुनौती दिएका छन्। डेढ दशक लामो साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) लगातार जस्तै फाइनल पुगेर पनि नेपाली टोली च्याम्पियन बन्न सकेको छैन। त्यसका बाबजुद समर्थक हरेक खेल र प्रतियोगितामा सफल नतिजाको अपेक्षा त्यहि टोलीसँग राख्छन्। किनकी महिला टोलीले बारम्बार आफूलाई दाबेदारका रुपमा उभ्याएको छ। 

यसपटक उज्वेकिस्तानमा घरेलु टोलीसँगको पेनाल्टीमा पराजयपछि एसियन कपबाट बाहिरिएको नेपाली टोलीको त्यो हारबाट निकै महंगो सावित भएको छ। त्यो हारले महिला टोलीको आगामी फिफा विश्वकप र ओलम्पिक छनोटको ढोकासमेत बन्द भएको छ।

डेढ दशकमा साग, साफसहित अन्य प्रतियोगिताको गरि १२ वटा फाइनल खेल्दा नेपाल च्याम्पियन बन्न सकेको छैन। यसपटक उज्वेकिस्तानसँग पनि अन्तिम खेल एसियन कप छनोटका लागि फाइनल सरहको खेल थियो। निर्धारित ९० मिनेटमा ३-३ को बराबरी गर्न सफल नेपाली टोली टाइब्रेकरमा अभागी रह्यो।

‘उपाधि नजिक पुग्ने’ तर त्यसपछि सफल हुन नसक्ने महिला टोलीको नियति जस्तै भएको छ। एन्फाको योजनाविहीन रणनीति महिला मात्र नभई समग्र नेपाली फुटबलको समस्याको मूल जरो हो। सन् २०२७ वा २०३१ को विश्वकप खेल्ने ठूलो सपना देखेको एन्फासँग महिला फुटबललाई ठोस कार्यक्रम भने छैन।

यस्तो विषमतामा लक्ष्य राख्ने तर त्यसको सैद्धान्तिक र व्यावहारिक तयारी नगर्ने प्रवृत्ति आत्मघाती मात्र होइन, खेलाडीका लागि पनि अन्यायपूर्ण हो। एन्फा स्वयंले यदि विश्वकप चाहेको हो भने अहिले नै २०३१ को योजनामा गम्भीरतापूर्वक अघि बढ्नु पर्छ। कार्यक्रमसहित लगानी बढाउन आवश्यक छ।

घर बलियो बनाउने हो भने जग बलियो हुनुपर्छ। नेपाली महिला फुटबलको जग भनेको ग्रासरुट स्तर, उमेर समूहको विकास र निरन्तर घरेलु प्रतिस्पर्धा हन्। अहिले तीनवटै क्षेत्रमा ध्यान नदिइएको स्पष्ट देखिन्छ। 

उमेर समूहमा छनोट, प्रशिक्षण र प्रतिस्पर्धा नगरी नयाँ खेलाडी उत्पादन हुने सम्भावना न्यून हुन्छ। अहिलेका कतिपय खेलाडी २०३१ को विश्वकपको तयारीका लागि टोलीमा नहुन सक्छन्।  त्यसैले विकल्प निर्माणमा ढिलाइ गर्नु भोलिका लागि जोखिमपूर्ण हुनेछ।

भुटान, बंगलादेश जस्ता देशहरूले महिला फुटबलमा प्रगति गरिरहेका छन्। नेपालसँग कहिल्यै प्रतिस्पर्धा गर्न नसक्ने मानिएका यिनीहरूसँग अहिले बराबरी खेल्नु गम्भीर चेतावनी हो। भुटानले पनि चुनौती दिन थालिसकेको छ। साफ च्याम्पियनसिपको पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले नेपाललाई हराइसकेको छ।

यदि रणनीति परिवर्तन भएन भने निकट भविष्यमा नेपाल दक्षिण एसियामा पनि कमजोर प्रतिद्धन्द्वीको रुपमा चिनिन थाल्न सक्छ। एन्फाले ग्रासरुटमा लगानी  बढाएर विद्यालय, समुदाय र स्थानीय क्लबबाट महिला फुटबलको आधार विस्तार गर्न आवश्यक भइसकेको छ। उमेर समूह यु १४, यु १७, यु २० को प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्न आवश्यक भइसकेको छ।

महिला फुटबलले आशा देखाएको छ। उपाधि जित्न नसकेपनि सम्भावना बढी महिला टोली मै छ। तर यी सबै प्रयास संस्थागत ढिलाइ र अस्थायी व्यवस्थाको कारणले दीर्घकालीन नबन्ने खतरा बढ्दो छ। सपना देख्नु राम्रो हो, तर त्यसलाई साकार पार्न चाहिने संरचना, लगानी र प्रतिबद्धता अझै गम्भीर रुपमा अभावमा छ।

यदि नेपाल साँच्चै भविष्यमा महिला विश्वकप, एसियन कप खेल्ने हो भने योजनाबद्ध संरचना निर्माण अनिवार्य सर्त हो। अन्यथा, हरेक पटक ‘नजिक पुग्ने तर जित्न नसक्ने’ नियति नै महिला फुटबलको परिचय बन्दै जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad