खेल


महिला टोलीका नयाँ प्रशिक्षक प्याट्रिकले ‘स्वर्ण पुस्ता’लाई दिलाउलान् उपाधि?

१२ चोटिको उपविजेतालाई विजेता बनाउने जिम्मा बेल्जियन प्रशिक्षकको काँधमा
महिला टोलीका नयाँ प्रशिक्षक प्याट्रिकले ‘स्वर्ण पुस्ता’लाई दिलाउलान् उपाधि?

लक्ष्मी जि.सी
जेठ २३, २०८२ शुक्रबार १९:३१, काठमाडौँ

नेपाली राष्ट्रिय महिला टोलीले फुटबल खेल्न थालेको चार दशक हुन लाग्यो। तर, यति लामो समयमा पनि नेपाली महिला टोली उपाधिविहीन छ। दशकौँ उपाधिविहीन नेपालको वर्तमान महिला टोलीलाई फुटबलका विश्लेषकहरूले स्वर्ण पुस्ता भन्दै आएका छन्।  

यो पुस्ताले पनि नेपाललाई उपाधि दिलाउन सकेन भने उपाधिका लागि अझ वर्षौँ कुनपर्ने उनीहरूको तर्क छ।  सन् १९८६ बाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको नेपाली टोलीले सन् २०१० पछि मात्र फाइनल यात्रा तय गरेको थियो। सन् २०१० यता नेपालले १२ वटा फाइनल खेल्यो। तर ती सबै प्रतियोगितामा नेपाल उपविजेतामै चित्त बुझाउँदै आइरहेको छ। 

नेपालका लागि यो पटक नयाँ चुनौती छ। अस्ट्रेलियामा हुने एएफसी एसियन कप २०२६ का लागि हुने एसियन कप छनोटमा नेपाल समूह एफमा छ।

उज्बेकिस्तानमा हुने छनोटमा नेपाल समूह एफको शीर्ष स्थानमा रहन सके एसियन कपका लागि छनोट हुनेछ। एसियन कपमा छनोट हुन नसके नेपाली महिला टोलीका लागि सन् २०२७ मा हुने फिफा विश्वकप र सन् २०२८ मा हुने ओलम्पिक छनोटका लागि समेत ढोका बन्द हुनेछ। 

त्यसैले नेपाली महिला टोलीको अहिलेको मुख्य चुनौती भनेको एसियन कपमा छनोट हुनु हो। एसियन कप छनोटमा बलियो  प्रतिद्वन्द्वी  उज्वेकिस्तानसँगै श्रीलंका र लाओसलाई हराउनु पनि हो। 

यही चुनौतीलाई ध्यानमा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलोपटक महिला टोलीका लागि यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक राखेको छ। 

महिला फुटबल इतिहासमा दोस्रोपटक टोलीले विदेशी प्रशिक्षक पाएको हो। यसअघि २०७७ सालमा अस्ट्रेलियाका ग्यारी फिलिप्सले महिला टोली सम्हालेका थिए। एन्फाको प्राविधिक निर्देशकको रुपमा काम गरेका फिलिप्सलाई एन्फाले महिला टोलीको जिम्मेवारी दिएको थियो। फिलिप्सले छोटो समय मात्र नेपालको जिम्मेवारी सम्हाले। 

एन्फाले शुक्रबार मिट एन्ड ग्रिट कार्यक्रम गर्दै बेल्जियमका प्याट्रिक डि वाइल्डलाई सार्वजनिक गर्‍यो।  एन्फाले प्रशिक्षक प्याट्रिकसामु उनको जिम्मेवारी र महिला टोलीबाट एन्फाले गरेको अपेक्षाको बारेमा जानकारी गराइसकेको छ।  

त्यसैले प्रशिक्षक प्याट्रिकले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरेर प्रशिक्षणमा केन्द्रित हुने बताएका छन्। प्रशिक्षक प्याट्रिकले फुटबलमा असम्भव भन्ने केही नरहेको भन्दै तयारी राम्रो गर्न सकियो भने राम्रो नतिजा आउने बताए। 

एसियन कप छनोट आउन अब तीन साताको समय बाँकी छ। छोटो समयको तयारीमा पनि आफूहरू जितका लागि नै खेल्ने प्रशिक्षक प्याट्रिकले बताएका छन्। 

नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौँ रेजर्सको टोली सम्हालेका प्रशिक्षक प्याट्रिकले करिब दुई महिना नेपालमा बिताएका थिए।यसअघि  थाइल्यान्डसँगको मैत्रीपूर्ण खेल हेरेका प्रशिक्षक प्याट्रिकले छोटो समयमा पनि नेपाली टोलीमा केही परिवर्तन गरेर नतिजाका लागि खेल्ने बताएका छन्।

प्रशिक्षक प्याट्रिकले शनिबारबाट महिला टोलीलाई प्रशिक्षण दिनेछन्। एसियन कप छनोटमा उज्वेकिस्तानलाई हराउन आफुहरुका लागि चुनौती भएपनि त्यसअघि लाओस र श्रीलंकालाई हराउनु महत्वपूर्ण रहेको बताएका छन्। 

महिला टोलीको प्रशिक्षणको जिम्मा सम्हाल्दै गर्दा प्रशिक्षक प्याट्रिकले व्यक्तिगत रुपमा कुनै खेलाडीको बारेमा टिप्पणी नगर्ने भन्दै आफ्नो लागि सबै बराबर भएको बताए। विदेशी लिगको अनुभव बटुलेका खेलाडीको साथले आफूलाई केही सजिलो हुने प्याट्रिकको भनाइ छ।

उनले भने, 'खेलाडीले विदेशी लिग खेल्नु भनेको नेपालको खेललाई नै उच्च तहमा लैजानु हो।'

यसअघि चीन, हङकङ, हंगेरीलगायतका देशका टोली हेरिसकेका उनका सामु उनकै करियरका लागिसमेत ठूलो चुनौती छ। 

चुनौती भएर नै आफूले महिला टोली सम्हालेको बताएका प्याट्रिकले नेपालको महिला फुटबललाई अब कसरी अगाडि बढाउलान् त्यो भने समयले नै बताउने छ। 

त्यसका लागि भने प्रशिक्षक प्याट्रिकलाई खेलाडी छनोटदेखि मैदानमा सुरुवाती ११ उतार्नेसम्मको निर्णय लिन एन्फाको कुनै पक्षबाट हस्तक्षेप हुनु हुँदैन। अन्य प्रशिक्षकलाई जस्तै प्याट्रिकको निर्णयमा अन्य पक्षबाट हस्तक्षेप हुन थाल्यो भने नेपाली महिला टोलीले इतिहास रच्नेभन्दा पनि पुरानै नतिजा दोहोरिने पक्का छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad