खेल


थाइल्यान्डमा मैत्रीपूर्ण खेल्दै एसियनकपको तयारीमा नेपाली टोली (भिडिओ)


लक्ष्मी जि.सी
जेठ १३ , काठमाडौँ

एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्यसअघि थाइल्यान्डमा मैत्रीपूर्ण खेल खेल्दैछ।  
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार राष्ट्रिय टोलीलाई बिदाइ गर्‍यो। नेपाली टोली बुधबार थाइल्यान्ड प्रस्थान गर्नेछ। नेपालले १६ गते शुक्रबार अभ्यास खेल र १९ गते सोमबार अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। 

फिफा वरीयतामा थाइल्यान्ड ४७ औँ स्थानमा छ। थाइल्यान्डसँगको खेलका लागि टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन्। 

तामाङले घोषणा गरेको टोलीमा मुख्य फरवार्डद्वय सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेलबाहेक अन्य खेलाडी प्रशिक्षणमा व्यस्त छन्। हाल व्यवसायिक लिगका लागि देश बाहिर रहेका साम्बा र रेखा उतैबाट थाइल्यान्ड ओर्लिनेछन्।   

व्यावसायिक लिगका लागि बाहिर रहेकी टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा पनि स्वदेश फर्किएर दुई दिनदेखि टोलीसँगै प्रशिक्षणमा सामेल भइसकेकी छिन्। यस्तै भुटानमा रहेकी डिफेन्डर पूजा राना पनि स्वदेश फर्किएर टोलीसँगै अभ्यासमा जुटिसकेकी छिन्। राष्ट्रिय टोलीका मुख्य चार खेलाडीले विदेशी लिगमा सिकेको अनुभवले टोलीलाई नै फाइदा पुग्ने प्रशिक्षक तामाङको विश्वास छ। 

उनीहरुले युरोप र एसियामा सिकेको कुरालाई खेलाडीलाई भनिदियो भने सहज हुने र उनीहरुको उपस्थितीले टोली अझ सशक्त हुने तामाङ बताउँछन्। विदेशी लिगको अनुभव बटुलेका खेलाडीले नेपालका खेलाडीलाई सिकाउन जरुरी रहेको र पछिल्लो समय एञ्जिलाको आत्मविश्वास बढेको महसुस प्रशिक्षक तामाङले गरेका छन्। 

थाइल्यान्डसँगको खेलका लागि नेपालले अभ्यासका क्रममा भेट्रानसँग अभ्यास खेल खेलेको थियो। यो खेलले एसियन छनोटलाई धेरै फाइदा पुग्ने प्रशिक्षक तामाङले बताउँछन्।  

थाइल्यान्डसँगको खेलका लागि तामाङले घोषणा गरेको टोलीमा डिफेन्डर मनमाया दमाइले मात्र डेब्यु गर्न बाँकी छ। उमेर समूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएकी मनमाया सिनियर टोलीमा डेब्यूको पखाईमा छिन्। 

प्रशिक्षक तामाङको नजरमा मनमाया राम्रो खेलाडी हुन्। लेफ्ट डिफेन्समा यसअघि देखिएको समस्यालाई मनमायाले पूरा गर्ने विश्वास उनले गरेका छन्। 

मनमाया आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्ने ध्याउन्नमा छिन्। यसअघि प्रारम्भिक छनोटमा स्थान बनाउँदै आएकी मनमाया दोस्रो पटक अन्तिम २३ मा स्थान बनाएकी हुन्। ‘पहिला पनि प्रारम्भिक छनोटमा पर्दै आएको थिएँ, अब खेल्न पाएँ भने राम्रो खेल्नेछु’ उनले भनिन्।  

साफ महिला च्याम्पियनसिपमा घाइते भएका हिरा कुमारी भुजेल, दीपा शाही मैदानबाहिर छन्। अमिसा कार्की आर्मीको आन्तरिक प्रशिक्षणमा व्यस्त हुँदा सजनी थोकरले भने अन्तिम टोलीमा स्थान बनाउन सकिनन्। उनीहरुको स्थानमा सुस्मा तामाङ, सरस्वती हमाल र चन्द्रा भण्डारीले पुनरागमनको मौका पाएका छन्।

एन्फाले सन् २०२७ वा २०३१ मा विश्वकप खेल्ने लक्ष्य राखेकोले त्यो लक्ष्य पूरा गर्न पनि नयाँ खेलाडीको आवश्यक रहेको प्रशिक्षक तामाङ बताउँछन्। 

खेलाडीको फिटनेसलाई लिएर भने प्रशिक्षक तामाङ केही शंसकित देखिन्छन्। उनी भन्छन्, ‘लगातार मोफसलको प्रतियोगितामा खेलाडी व्यस्त हुँदा छोटो समयमा फिटनेसमा राम्रो काम गर्न नपाएको र ८० देखि ८५ प्रतिशत फिटनेसमा राम्रो छ। हामी त्यहीअनुसार नै खेल्नेछौँ।’ 

अनुभवी र युवा खेलाडीको मिश्रणले नेपाली टोली थप बलियो बनेको अनुभव कप्तान एञ्जिाला तुम्बाप्पो सुब्बाले गरेकी छिन्। दुई मुख्य फरवार्डबिना अभ्यास भएकाले टोलीमा सन्तुलन मिल्न केही गाह्रो भए पनि रश्मी कुमारी घिसिङले राम्रो गरिरहेको छिन्।

‘उनीहरु (साम्बा र रेखा) थाइल्यान्डमा आएर टोलीमा मिसिएर केही दिन अभ्यास गरेपछि टोली सन्तुलनमा आउनेछ। नयाँ खेलाडीले राम्रो गरिरहेका छन्, अझै नयाँ खेलाडीहरु आउन बाँकी छ,’ कप्तान एञ्जिला भन्छिन्, ‘ थाइल्यान्डबाट केही सिक्न पाउनेछौँ, त्यहाँ गरेका गल्तीलाई सुधार गर्दै जाँदा एसियन कप छनोट खेल्न केही सहज हुनेछ। हामी हाम्रो उत्कृष्ट खेल प्रर्दशन गर्नेछौँ। विदेशी लिगको अनुभवले राष्ट्रिय टोलीमा पनि मद्दत गर्नेछ। बाहिर राम्रो गरिरहेको हुँदा नेपालबाट खेल्दा अझ राम्रो गरौँ भन्ने हुने रहेछ।’

थाइल्यान्डसँगको दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली एसियन कपको तयारीमा जुट्नेछ। एसियन कपका लागि टोलीमा विदेशी प्रशिक्षक राख्ने तयारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको छ। केही प्रक्रिया मिलाएर केही दिनमा नै विदेशी प्रशिक्षकको नाम सार्वजनिक गर्ने तयारीमा एन्फा छ। विदेशी प्रशिक्षक आएपछि टोलीमा हेरफेरको सम्भावना पनि छ। 

एसियन कप छनोट आउन अब १ महिना मात्र बाँकी छ। त्यसअघिको थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलले नेपाली टोलीलाई केही सहयोग पुग्ने आशा छ। थाइल्यान्डबाट नेपाल फर्किएपछि नेपाली टोली सिधै एसियन कप छनोटको तयारीमा जुट्नेछ।  

एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समूह एफमा छ। छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ।

नेपाली टोलीः
गोलरक्षकः एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैसी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिर, मनमाया दमाई
मिडफिल्डरः अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू,  सविता राना मगर, सरस्वती हमाल, सुस्मा तामाङ
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

जेठ १४, २०८२ बुधबार ८:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad