खेल


नेपालखबर ‘तत्कालै’मा रुबिना क्षत्री : त्यो दिन मैदानमा उत्रिँदा बाउन्ड्री हान्छु भन्नेबाहेक केही सोचिनँ (भिडिओ)

‘ग्लोबल छनोटमा पुगेपछि सबभन्दा पहिले आमालाई फोन गरेँ, करिअर पूर्ण भएजस्तो लाग्यो’

लक्ष्मी जि.सी
जेठ ८ , काठमाडौँ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुविना क्षत्री बेलवासेले नेपाली टोली ग्लोबल छनोटमा पुगेको क्षण आफ्नो लागि अहिलेसम्मकै उत्कृष्ट भएको बताएकी छिन्। 

झण्डै दुई दशक नेपाली क्रिकेटलाई समर्पित गरेकी रुविना अहिलेको टोलीमा सबैभन्दा सिनियर खेलाडी हुन्। 

थाइल्यान्डमा भएको एसिया क्षेत्र छनोटबाट एक समय झण्डै बाहिरिसकेको नेपालका लागि रुविना र कप्तान इन्दु बर्माले साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। जुन साझेदारी नेपाललाई ग्लोबल छनोटमा पुग्न महत्त्वपूर्ण रह्यो। 

ग्लोबल छनोटमा पुगेपछि नेपाली टोली बुधबार राति मात्र स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि बिहीबार नेपालखबर ‘तत्कालै’मा पूर्वकप्तान रुविनाले त्यो क्षण आफूहरु सबैका लागि अविस्मरणीय रहेको सुनाइन्। 

‘साँच्चै भन्नुपर्दा यो खुसीलाई शब्दमा बयान गर्न सकिँदैन। कुनै समय अब पुगिँदैन होला, आफ्नो लाइफ सेटल गर्न पर्छ भन्ने लागेको थियो। तर केही हैन खेल्नुपर्छ भनेर लागिरहेँ,’ उनले भनिन्, हामी ग्लोबल छनोटमा पुग्यौँ भनेर विश्वास नै गर्न सकिरहेका थिएनौँ, खेलपछि हामी सबैजना रौयौँ किनकि यो हामी सबैको सपना थियो। खेलपछि कोही किट ब्याग मिलाउन लागेका थिए, कोही गफ गर्दै थिए। झण्डै आधा घण्टासम्म पनि हामी विश्वास गर्न पनि सकिरहेका थिएनौँ।’ 

होटलमा पुगेपछि रुविनाले आमालाई फोन गरिन्, आमाको पनि खुसीको ठेगान थिएन।

‘आमाले मेरो खेल कहिल्यै पनि हेर्नुहुन्न। तर त्यो दिन नेपाल ग्लोबल छनोटमा पुगेको थाहा पाइसक्नु भएछ। उहाँको त्यो मुस्कान देखेर एउटा सपना पूरा भएजस्तो लाग्यो,’ उनले सुनाइन्। 

रुविना नेपाली महिला क्रिकेटमा शतक हान्ने पहिलो र एक्ली खेलाडी हुन्। रुविनाले शतक हान्दा समेत उनकी आमाले थाहा पाएकी थिइनन्।

‘सुपर थ्रीमा पुगेपछि अब ग्लोबल छनोटमा पुग्नुपर्छ भनेको थिएँ। मेरो आवश्यकता भएको ठाउँमा म गर्छु भनेको थिएँ,’ उनले सम्झिइन्, ‘केही खेलमा मैले राम्रो गर्न सकिरहेको थिइनँ। त्यो बेलामा कोचिङ स्टाफले मलाई तिमी सक्छौ, म्याचमा तिमी खेल्छौ भन्नुभएको थियो। त्यो दिन ब्याटिङ गर्न जाँदा दिमागमा केही थिएन। मेरो ब्याटमा कनेक्ट भयो भने बाउन्ड्री हान्छु भन्ने थियो।’ 

यूएईविरुद्धको खेलमा कप्तान इन्दु वर्मा प्लेयर अफ दि म्याच भइन्। कप्तान इन्दुले त्यो ट्रफी मनिषा उपाध्यायलाई दिइन्। मनिषाले पनि त्यो ट्रफी रुविनालाई समर्पित गरेकी थिइन्। 

त्यो क्षणलाई सम्झँदै रुविना भन्छिन्, ‘म प्राय युवा खेलाडीको बिचमा हुन्छु, उनीहरुलाई प्रेरित गरिरहेको हुन्छु, मैले त्यो बेलामा अब म दुई वर्ष पर्खन सक्दिनँ भनेको थिएँ। त्यसैले युवा खेलाडीमा केही गर्नुपर्छ भन्ने देखेँ। त्यो क्षण टिम वर्क पनि हो।’

पछिल्ला केही खेलहरुमा इन्दुको प्रदर्शन सोचेजस्तो हुन सकेको थिएन तर एसिया छनोटमा नेपालको जितमा इन्दुले कप्तानी पारी खेलिन्। 

‘धेरैले महिला क्रिकेट वर्षाको कारण सुपर थ्रीमा पुगेको हो भन्नेलाई हाम्रो खेल पनि छ है भनेर यूएईसँग देखाउनु पर्ने थियो। त्यसैले हामीले सबैले सकेको खेलेका थियौँ,’ उनी भन्छिन्। 

अहिलेको प्रर्दशनले ग्लोबल छनोटमा पर्याप्त नहुने रुविनाले राम्रोसँग बुझेकी छिन्। टोलीमा देखिएको फिल्डिङ र फिटनेसको समस्याका बारेमा सबैलाई थाहा छ।

‘अब त्यसमा काम गर्न जरुरी छ,’ रुविना भन्छिन्।  

रुविनाले आफ्नो व्यक्तिगत जीवनमा उपलब्धि थुप्रै भए पनि यो छनोटले आफ्नो करिअरलाई केही हदसम्म पूर्ण बनाएको तर सम्पूर्ण हुन भने अझै बाँकी रहेको बताइन्।

आफ्नो ब्याट नचल्दा पनि समर्थकले राम्रो साथ दिइरहेको उनले सुनाइन्।

‘नेपालमा खेलाडी भएर जन्मनु नै भाग्य हो,’ पूर्वकप्तान क्षत्रीले भनिन्।

नेपाललाई ग्लोबल छनोटमा पुर्‍याउँदा कस्तो अनुभव भयो त? हेर्नुहोस् पूर्वकप्तान रुविना क्षत्रीसँग नेपालखबर ‘तत्कालै’ :

 

जेठ ८, २०८२ बिहिबार १९:५६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad