अफगानिस्तानसँग हार्दै इङ्ग्ल्यान्ड आईसीसी च्याम्पियन्स ट्रफीको समूह चरणबाटै बाहिरिएको छ।
बुधबार राति पाकिस्तानको लाहोरमा भएको खेलमा इङ्ग्ल्यान्ड ८ रनले अफगानिस्तानसँग पराजित भएको हो।
समूह चरणमा लगातार दोस्रो हारसँगै इङ्ग्ल्यान्ड एक खेलअगावै सेमिफाइनल दौडबाट बाहिरिएको हो।
अफगानिस्तानले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड १ बलअगावै ३ सय १७ रन बनाउँदै अलआउट भयो।
जो रुटले १ सय २० रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनले १ सय ११ बलमा ११ चौका र २ छक्का प्रहार गरे। अन्य ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
इङ्ग्ल्यान्डलाई कम स्कोरमा रोक्न अफगानिस्तानका अज्मतुल्लाह ओमरजाइ एक्लैले ५ विकेट लिए। उनले ९.५ ओभरमा ५८ रन खर्चेर ५ विकेट लिएका हुन्। मोहम्मद नावीले २ तथा फजलहक फारुकी, रासिद खान र गुलाबदिन नैवले एक/एक विकेट लिए।
त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २५ रनको योगफल तयार पारेको थियो।
अफगानिस्तानका लागि इब्राहिम जड्रानले सर्वाधिक १ सय ७७ रनको योगदान दिए। १ सय ४६ बलमा १२ चौका र ६ छक्का प्रहार गरे।
अज्मतुल्लाह ओमरजाइले ४१ तथा मोहम्मद नावी र हसमतुल्लाह साहिदीले समान ४० रन थपे।
च्याम्पियन्स ट्रफीमा आज समूह एका पाकिस्तान र बंगालदेश भिड्नेछन्। एक खेलअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका यी दुई टोली सान्त्वना जितको खोजीमा छन्।
Shares

प्रतिक्रिया