खेल


च्याम्पियन्स ट्रफी: न्युजिल्यान्डसँग पाकिस्तान पराजित, आज भारत र बंगलादेश भिड्दै

च्याम्पियन्स ट्रफी: न्युजिल्यान्डसँग पाकिस्तान पराजित, आज भारत र बंगलादेश भिड्दै

नेपालखबर
फागुन ८, २०८१ बिहिबार ७:९, काठमाडौँ

विल योङ र टोम लामथको शतकमा न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीमा विजय सुरुवात गरेको छ।

गएराति सकिएको च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्यान्डले आयोजक पाकिस्तानलाई ६० रनले हराएको हो।

न्युजिल्यान्डले दिएको ३ सय २१ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४७.२ ओभरमा २ सय ६० रन बनाउँदा अलआउट भयो। 

पाकिस्तानलाई सस्तैमा रोक्न विलियम ओ रोर्के र मिचेल सान्टनरले समान ३ विकेट लिए। म्याट हेनरीले २ तथा नेथन स्मिथले एक विकेट आफ्नो नाममा गरे। 

पाकिस्तानका खुशदिल शाहले सर्वाधिक ६९ रनको योगदान दिए। बाबर आजम ६४ र सलमान आघाले ४२ रन बनाउँदै पेभेलियन फर्के। 

त्यसअघि कराँचीस्थित नेशनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय २० रनको योगफल तयार पारेको थियो। 

न्युजिल्यान्डका लागि विल योङ र टोम लामथले शतक पूरा गरे। ओपनर विल योङले १ सय १३ बलमा १२ चौका र १ छक्का सहयोगमा १ सय ७ रन बनाउादा नसिम शाहको बलमा क्याच आउट हुन पुगे। ओडीआई करियरमा यो उनको चौथो शतक हो। 

ओडीआई करियरको आठौँ शतक हानेका लामथ १ सय १८ रनमा अविजित रहे। उनले १ सय ४ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

पाचौँ विकेटका लागि लामथ र ग्लेन फिलिप्सले १ सय २५ रनको साझेदारी गरे। फिलिप्स ६१ रन बनाउँदै क्याच आउट भए। 

पाकिस्तानका लागि नसिम शाह र हरिस रउफले समान २ तथा अबरार अहमदले एक विकेट विकेट लिए। 

जितसँगै २ अंक जोडेको न्युजिल्यान्ड समूह ए मा अंक तालिकाको शीर्ष स्थानमा छ। 

च्याम्पियन्स ट्रफीमा आज भारत र बंगलादेश भिड्नेछन्।

समूह ए कै अर्को खेलमा भारत र बंगलादेशबीचको खेल भने यूएईको आबुधाबीमा हुनेछ।

च्याम्पियन्स ट्रफीका लागि भारतिय टोली पाकिस्तान नजाने भएकाले भारतले खेल्ने सबै खेल यूएईमा हुनेछन्।

सो खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

भारत र बंगलादेशले सन् २०१८ मा पछिल्लो पटक यो मैदानमा ओडीआइ खेलेका थिए।

यो मैदानमा भने पछिल्लो पटक २०२४ को मार्चमा ५० ओभरको खेल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad