कर्णाली याक्सका कप्तान सोमपाल कामीले माथिल्लो क्रमका शिर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप योगफलमा ३० रन कम भएको बताएका छन्।
जनकपुर बोल्ट्ससँग ८ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रनसम्मको योगफल बनाउने लक्ष्य भए पनि शीर्ष पाँच ब्याटरले राम्रो भूमिका खेल्न नसक्दा हार बेहोर्नुपरेको विश्लेषण सुनाए।
आजको पिचमा खेल्न सहज नभए पनि जनकपुरका कप्तान अनिल साह र आसिफ शेखले राम्रो सट सेलेक्सनसँगै राम्रो ब्याटिङ गरेको उनको भनाइ थियो। उनले आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास पनि व्यक्त गरे।
विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई पिच बुझ्न गाह्रो भएको उनको धारणा छ।
आफ्नो टोलीमा ब्याटर र बलर राम्रो रहेकाले आगामी दिनमा गल्ती सुधार गर्दै जित निकाल्ने उनले बताए।
जनकपुर बोल्ट्का प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुरूप नतिजा आएको प्रतिक्रिया दिए।
खेल्दै गएपछि पिच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा विश्वास पनि उनले व्यक्त गरे। प्रशिक्षक पुबुदुले अन्तिम दुई ओभर आफूहरूका लागि राम्रो नभएको अनुभव सुनाए। विदेशी खेलाडीहरू ब्याटिङमा संघर्ष गर्दा अनिल साह र आसिफ शेखले राम्रो गर्न सकेकोमा भने उनले खुसी व्यक्त गरे।
Shares

प्रतिक्रिया