ad ad

खेल


‘पहलमान वडाअध्यक्ष’ : आठौँ पटक जिते छेलो पहलमानको उपाधि

‘पहलमान वडाअध्यक्ष’ : आठौँ पटक जिते छेलो पहलमानको उपाधि

नेपालखबर
कात्तिक ६, २०८० सोमबार १९:३२, काठमाडौँ

म्याग्दीको धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन्।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्षसमेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए।

प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले सहभागिता जनाएका थिए। पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ।

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ। खत्रीले आठौँ पटक पहलमानको उपाधि जित्दा यसअघि २०७८ र २०७९ मा विजयी भएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बने।

यसअघि विसं २०७० देखि ७६ सम्म सात वटा उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिएनन। २०७९ मा यामसँग पराजित भएका थिए। निरन्तरको अभ्यास, शारीरिक व्यायम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताए।

विजयी खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याललगायतले फेता गुटाएर सम्मान गरे।

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ।

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन्।

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ। यस वर्षको दसैँको नवमीका दिन करिब पाँच हजार जनाले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .