ad ad

खेल


नेपालको एसियाड यात्रा : कमजोर तयारीमा बढी अपेक्षा

नेपालको एसियाड यात्रा : कमजोर तयारीमा बढी अपेक्षा

लक्ष्मी जि.सी
असोज २३, २०८० मंगलबार १०:३५, काठमाडौँ

हरेक ४ वर्षमा हुने एसियाली मुलुकहरूका लागि सबैभन्दा ठूलो खेल मेला एसियाली खेलकुदमा पदकका हिसाबले यसपटक नेपालको इज्जत जोगिएको छ। तयारीका हिसाबले हेर्दा पदक जित्ने आशा गर्नु खेलाडीमाथि अन्याय  हुन्थ्यो। 

यद्यपि चीनको हाङ्जाओमा एसियन गेम्सको १९ औं संस्करण समापनको अघिल्लो करातेकी एरिका गुरुङले रजत पदक  जित्दै नेपाली खेलकुदलाई ठूलो गुन लगाएकी थिइन्। त्यसअघि  पहिलो सहभागितामा नै महिला कबड्डी टोलीले कास्य पदक जितेर नेपाललाई कम्तीमा खाली हात हुने अवस्थाबाट जोगाएको थियो।

सन् २००६ को एसियन गेम्समा तेक्वान्दोमा ३ कास्य पदक जितेयता २०१०, २०१४ र २०१८ मा नेपालले एउटा पदकमा चित्त बुझाउनु परेको थियो। २०१० मा बक्सिङमा कास्य, २०१४ मा करातेले कास्य र २०१८ मा प्याराग्लाइडिङले टिम  इभेन्टमा  रजत पदक जितेको थियो।

यसपटक २००६ पछि पहिलो पटक पदकका हिसाबले सुखद नतिजा प्राप्त भएको छ। तर,  २९ खेल र २ सय ५३ खेलाडीको ठूलो टोलीको सहभागिता रहँदा अपेक्षा पनि बढी हुन्छ। संख्यात्मक हेर्दा एसियन गेम्समा पहिलो पटक यति धेरै संख्यामा खेलाडीले देशको प्रतिनिधित्व गरेका थिए। एसियाडको ७२ वर्षे इतिहासमा नेपालले अहिलेसम्म ३ रजत र २३ कास्य पदक जितेको छ।  एसियाडमा सहभागी अधिकांश खेल सहभागितामा नै सिमित बने।

एसियाडमा यसपटक केही खेलाडीले कीर्तिमान र सन्तोषजनक प्रदर्शन गरेपनि अघिकांश खेलले भने निराश बनाए। 

करातेको ऐतिहासिक रजत पदक
हरेक  पटक तेक्वान्दो र करातेबाट पदकको अपेक्षा गरिन्छ। हुन पनि एसियाड इतिहासमा अधिकांश पदक कराते र तेक्वान्दोले नै दिलााएका छन्। तेक्वान्दाले २००६ यता पदक  जित्न  सकेको छैन। करातेले भने यसपटक एतिहास रचेको छ। एसियाडमा पहिलो पटक रजत पदक जितेको छ। करातेकी एरिका गुरुङले महिला ६८ केजी तौल समुहमा रजत पदक जित्दै इतिहास रचिन्।

नेपालले २५ वर्षपछि व्यक्तिगत स्पर्धामा रजत पदक जितेको हो। यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन्। २०१८ को एसियाडमा नेपालले प्याराग्लाडिङमा रजत पदक जितेको थियो। नेपालले एसियाडमा अहिले सम्म यीनै ३ रजत पदक जितेको छ।

कबड्डीको ऐतिहासिक कास्य
एसियाडमा कबड्डीबाट धेरैले पदकको आशा गरेका थिएनन्। प्रशिक्षणमा पनि प्राथमिकतामा नपरेको कबड्डीले भारत पुगेर धर्मशालामा बसेर प्रशिक्षण गर्नुपरेको थियो।

कसैको नजरमा नरहेकोे कबड्डीले एसियाडमा पदकविहीन हुने सम्भावनाबाट जोगाएको थियो। समूह चरणको पहिलो खेलमा नै बंगलादेशलाई हराउँदै नेपाली टोलीले कम्तीमा कास्य जित्ने ढोका खोललेको थियो।  भारतसँग पराजित हुँदै नेपाल फाइनल पुग्नबाट बन्चित भएको थियो। 

ठूला प्रतियोगिता हुँदा सधैँ विवादमा तानिरहने नेपालको प्रतिनिधि मण्डल यो पटक पनि त्यसबाट अछुतो रहन सकेन।

नेपालबाट युवा तथा खेलकुद मन्त्रीदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवलगायत अधिकांश सदस्य, कर्मचारी एवंम नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षलगायत कार्यसमितिका अधिकांश पदाधिकारी, सदस्य र  एनओसी कर्मचारी चीन पुगेका थिए।

विदेश भ्रमण लोभमा बदनाम खेलकुद क्षेत्र यो पटक त पूर्व खेलाडी कै कारण पनि विवादमा पर्यो। तेक्वान्दोका कीर्तिमानी खेलाडी ओलम्पियन दिपक विष्ट गल्फको टिम म्यानेजर र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा करातेका पूर्व खेलाडी दिपक श्रेष्ठ उसुको टिम म्यानेजर बनेर हाङजाओ पुगेपछि चर्को आलोचनाको शिकार हुनुपरेको छ।

श्रेष्ठलाई मेनेजर बनाएको विरोधमा नेपाल उसु महासंघले विज्ञप्ती नै जारी गर्यो। महासंघले उसुका टिम म्यानेजरका रुपमा नारायण गिरि भएपनि अन्तिम समयमा नाम काटिएको विरोध जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको थियो, टिम म्यानेजर गिरीको नाम काटेर उसु खेलसँग कुनै सरोकार नभएको व्यक्तीलाई म्यानेजर बनाएर राखेपका सदस्य सचिव टंकलाल घिसिङले मौखिक जानकारी गराएको प्रति महासंघको ध्यानाकर्षण भएको भन्दै छानविन आवश्यक छ।

कराते महासघंका अध्यक्ष युवराज लामाले श्रेष्ठ करातेको टोलीबाट नगएको भन्दै सामाजिक सञ्जालमा स्पष्ट पारेका थिए।

यस्तै विष्ट पनि गल्फको टिम म्यानेजर बनेर एसियाड पुगे। गल्फका लागि टिम म्यानेजर दिन नसक्ने बताएका सदस्य सचिवले अन्त्यमा सोही जिम्मेवारीमा विष्टलाई चीन पुर्याएका थिए। नेपाल गल्फ संघका विकास निर्देशक तथा सदस्य दीपक आचार्यले राखेपले  गल्फको तयारीमा सहयोग गरेपनि व्यवस्थापक नियुक्तिमा भने सही निर्णय नगरेको बताए।

खेल नै नबुझेको व्यक्ति व्यवस्थापक बनाएर  पठाउँदा अनेक समस्या आउने उनले बताएका थिए।  राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी बास्केटबल टोलीका व्यवस्थापकको भूमिकामा चाइना पुगिन्।

राखेपबाट ४ फिजियो थेरापिष्टसहित ४३ सदस्यीय टोली हाङ्जाओ पुगे। राखेपले आफ्ना कर्मचारीलाई विभिन्न कोटामा हाङजाओ पुर्याएको थियो।  एनओसीबाट  कति जना चीन  पुगेको सार्वजनिक  भएको छैन। 

एसियाडमा नेपालका २९ खेलका २ सय ५३ खेलाडी, ५१ प्रशिक्षक र ३० म्यानेजरले भाग लिने बताइएपनि  अन्य  व्यक्तिका बारेमा भने औपचारिक जानकारी नै गराइएन।

क्रिकेटको कीर्तिमानी प्रर्दशन
नेपाली राष्टिय क्रिकेट टोलीले एसियाडमा कीर्तिमानी प्रर्दशन गरेर फर्कियो। समूह चरणको खेलमा मंगोलियामाथि २ सय ७३ रनको कीर्तिमानी जित निकाल्दै नेपालले एसियाड यात्रा यादगार बनायो। 

मंगोलियाविरुद्धको जितमा नेपालले थुप्रै विश्व कीर्तिमान कायम गर्यो। मंगोलियाविरुद्ध विस्फोटक प्रदर्शन गरेका बायाँ हाते युवा ब्याटर कुशल मल्लले विश्व कीर्तिमानी प्रर्दशन गरे। ३४ बलमा शतक पूरा गरेका कुशलले विश्व कीर्तिमान आफ्नो नाममा गरे।

यस्तै आक्रामक अलराउण्डर दिपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरे। यो कीर्तिमान अन्य ब्याटरलाई तोड्न असम्भव प्रायः छ। दिपेन्द्रले १९ औं ओभरमा लगातार पाँच छक्का हानेका थिए। योसँगै दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडे। दीपेन्द्रले मंगोलियाविरुद्ध १० बलमा ८ चौका हान्दै ५२ रनमा नटआउट रहे।

नेपालविरुद्धको खेलबाट कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेको मंगोलियासामु नेपालले ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले टी आई मा इतिहास कै त्यो उच्च योगफल हो। .त्यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार पारेका थिए।

रोहित र कुशलको साझेदारी
मंगोलियाविरुद्ध कीर्तिमानी प्रर्दशन गर्ने क्रममा तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरे। कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो।

५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे। रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए। पदकको सम्भावनाको यात्रा भने सेमिफाइनलमा  भारतसँगको हारसँगै टुंगिएको थियो। 

दीपकको कीर्तिमान
एथलेटिक्समा दीपक अधिकारीले १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरे। दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। १६ जनाले सहभागी एसियाडमा दीपक सातौं स्थानमा रहन सफल भए। दीपकले आफ्नै नाम रहेको कीर्तिमान भंग गरेका हुन्।

उनले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३० मिनेट १०ः३० सेकेन्डमा १० हजार मिटर दौड पूरा गर्दै कीर्तिमान राखेका थिए। एथलेटिक्समा अन्य खेलाडीको प्रदर्शन भने सन्तोषजनक रहेन। 

भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान
एसियाडमा भारोत्तोलनमा विशालसिंह विष्टले दुर्लभ कीर्तिमान आफ्नो नाममा गरे। पुरुष ९६ केजी तौल समूहमा विशालले ३ राष्ट्रिय कीर्तिमान कायम गर्दा कुनैपनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३ सय १ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान पनि आफनो नाममा गरेका हुन्।

यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौल समूहमा कुल ३ सय केजीसम्मको भार बहन गरेका थिएनन्। विशालले स्न्याचमा १ सय ३३ केजी, क्लिन एन्ड जर्कमा १ सय ६८ केजी र कुलमा ३ सय १ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे।

यसअघि स्न्याचमा १ सय २६ केजी, क्लिन एन्ड जर्कमा १ सय ६५ केजी र कुलमा २ सय ९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो। विशालले सो कीर्तिमान रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए।

श्लिषाको राष्ट्रिय कीर्तिमान
सुटर श्लिषा भण्डारीले १० मिटर एयर राइफलको महिलातर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन्। १९ वर्षीय श्लिषाले फुयाङ यिन्हु  छनोट चरणमा कुल ६१६.९ अंक जोड्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्।

श्लिषाले सुरुवाती तीन चरणमा १०१.१, १००.३ र १०२.५ को कमजोर प्रदर्शन गरेपनि त्यसपछिका चरणमा भने राम्रो स्कोर बनाएकी  थिइन्।  

पछिल्ला तीन चरणमा भने श्लिषाले १०५.०, १०४.८ र १०३.२ को स्कोर गरेकी थिइन्। यसअघि यो कीर्तिमान ओलम्पियन कल्पना परियारको नाममा थियो। कल्पनाले टोकियो ओलम्पिक २०२० मा ६१६.८ अंक जोड्दै कीर्तिमान आफ्नो नाममा गरेकी थिइन्।

क्यानोइङमा गणेश फाइनल चरणमा
गणेश गुरुङ शीर्ष ८ मा रहँदै एसियाड यात्राको अन्त्य गरेका थिए।  क्यानोइङ स्लालोमअन्तर्गत पुरुष कायाकको फाइनल चरणमा प्रवेश गरेका थिए। फाइनल चरणमा कोरिया र हङकङका खेलाडीलाई पछि पादैं उनी आठौं भएका थिए। 

पदक तालिका
एसियन गेम्सको पदक तालिकामा ३२ औं स्थानमा रहँदै नेपालले १९ एसियाड यात्राको अन्त्य गरेको छ। पदक तालिकाको शीर्ष स्थानमा आयोजक चीन रह्यो। चीनले २०१ स्वर्ण, १ सय ११ रजत र ७१ कास्य पदक जित्दै कुल ३ सय ८३ पदक  जित्यो।

४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित  कुल १ सय ९० पदक जित्दै कोरियता दोस्रो स्थानमा रह्यो।

५२ स्वर्ण, ६७ रजत र ६९ कास्य पदक जितेको जापान तेस्रो स्थानमा रह्यो। २८ स्वर्ण, ५९ रजत र ४१ कास्य पदक जितेको भारत कुल १ सय ७ पदकका  साथ चौथो स्थानमा रहन सफल भयो। 

हरेक  चार वर्षमा एसियाड  आयोजना हुन्छ  भने थाहा भएर पनि तयारीमा ध्यान नपुर्याउने हो भने नतिजाका लागि सधै भाग्यकै भर गर्नुपर्ने हुन्छ। यसतर्फ नेतृत्वको ध्यान  नजाने हो भने कुनै बेला खाली हात फर्कनुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .