ad ad

खेल


‘हरेक मृत्यु चिकित्सकको लापरबाहीले हुने भए सबै अस्पताल बन्द गरिदिऊँ’

राजनीतिक दलहरुले दण्डहीनतालाई प्रश्रय दिँदैछन्
‘हरेक मृत्यु चिकित्सकको लापरबाहीले हुने भए सबै अस्पताल बन्द गरिदिऊँ’

मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह क्षत्री। तस्बिर : नेपालखबर


नेपालखबर
असोज १२, २०८० शुक्रबार १३:५८, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले चिकित्सकहरुमाथिको सांघातिक आक्रमणलाई डरलाग्दो घटना भनेका छन्। 

केही सातायता चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि निरन्तर भौतिक आक्रमण हुन थालेपछि उनले हरेक बिरामीको मृत्युमा लापरबाही देख्ने हो भने सबै अस्पताल बन्द गरिदिए हुने बताएका छन्। 

‘सांघातिक आक्रमण साह्रै डरलाग्दो छ। हाम्रो समाज के अराजकतातर्फ अग्रसर भएको हो? दण्डहीनता, राज्यविहीनता, कानूनविहीनतातर्फ अग्रसर भएको हो? यो प्रश्नलाई आम नेपाली नागरिकले गम्भीर रुपमा मनन गर्ने बेला भइसकेको छ’, न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘चिकित्सकमाथिको हिंसा भनेको पूरै राज्यविहीन अवस्था हो। मणिपाल अस्पतालको घटना हेर्‍यौँ भने प्रहरीको अगाडि डाक्टरले कुटाई खाइरहेका छन्। अझ प्रहरी बाहिर आएर शानसँग मैले डाक्टरलाई कुटेर आएँ भन्छ। यो भन्दा दण्डहीनको अवस्था कहिले हुनसक्छ?’ 

खत्रीले कानुन नेपालको कार्यान्वयन एकदमै फितलो देखिएको पनि बताएका छन्। ‘कानुन कार्यान्वयन एकदमै फितलो देखियो। कानुन भनेको कागजमा लेखिएका शब्द होइनन्। कागजमा लेखिएको शब्दको भरमा सबै कुरा हुने भए त हाम्रो संविधानमा त यो देश स्वर्ग नै लेखिएको छ नि!  कानुन व्यवहारमा लागू हुनुपर्छ। राज्यको उपस्थिति भनेकै त्यही हो, लेखिएको कानुन कार्यान्वयन गर्न’, उनले भने, ‘तर, प्रहरी प्रशासन र मन्त्रिपरिषद्लाई आफ्नै धुनबाहेक अरु मतलब छैन। मणिपाल र लमजुङको घटना हेर्नुभयो भने प्रहरीकै अगाडि हातपात भइरहेको छ, प्रहरीको अगाडी घाँटी समातिएको छ। प्रहरी मौन छ, किन भने यी घटनामा कुनै न कुनै दलको संलग्नता छ।’ 

उनले देशलाई अराजकतातिर लगेर संकट ल्याउन खोजिएको बताए। खत्रीले राजा फालेर सबै समान हुन्छन् भनेकोमा अहिले दलभित्र सबै राजा हुन्छन् भन्ने भाष्य स्थापित गरिएको पनि बताए। 

उनले हेटौंडामा बिरामीको उपचारको करिब एक महिना १५ दिनपछि चिकित्सकमाथि योजनावद्ध आक्रमण भएको बताए। ‘पूर्वतयारीका साथ गरिने सांघातिक आक्रमणलाई क्षणिक आवेग वा क्षणभरको परिवेशमा भएको मान्न सकिँदैन। यो भनेको के हो भने देशमा दण्डहीनता बढ्दैछ’, उनले भने, ‘राजनीतिक संरक्षकले दण्डहीनतालाई प्रश्रय दिइरहेका छन्। घटनामा कुनै न कुनै प्रमुख दलको संलग्नता देखिने गर्छ। कतिपय घटनामा मेडिकल काउन्सिलको तर्फबाट म पुगेको छु। त्यहाँ मैले प्रहरीको निरीहताबाहेक केही देखेकै छैन। किनभन्दा दलका नेता, कार्यकर्ता संरक्षक हुनुहुन्छ। प्रत्येक दलआवद्ध व्यक्तिलाई यो देशको कानुनबाट छुट छ भन्ने भाष्य निर्माण गर्दै भएको छ।’

क्षत्रीले चिकित्सकीय अभ्यासको क्रममा त्रुटी हुने बताए। तर ती त्रुटी नियमन गर्न मेडिकल काउन्सिल रहेको उनले बताए। मेडिकल काउन्सिलको भूमिकामा पनि प्रश्न उठ्ने गरेको उनले स्वीकारे। 

‘केही हदसम्म काउन्सिलमा पर्ने उजुरीहरुमा चिकित्सकको त्रुटी भेटिने गरेका छन्। तर, यसरी उदण्डता, अराजकता फैलाउनेहरुको हामीले अध्ययन गरेका छौँ। कुनै त्रुटी भेटिँदैन। उनीहरुको माग के हुन्छ भने मेरो मान्छे अजम्बरी हुनुपर्‍यो, त्यो त संसारमा सम्भव नै छैन’, उनले भने, ‘त्यो असम्भव चिज त कसैले गर्न सक्दैन। केही चिकित्सकको कमजोरी होलान्। क्रमशः सुधार गर्नुपर्नेछ। तर, अहिले देश राज्यविहीन जस्तै भयो। म आफैँ छानबिन गर्ने समितिको प्रमुख छु। तर, एकोहोरो त हुन सक्दैन। एकातर्फ चिकित्सकको त्रुटीको छानबिन गरेर कारबाही हुने अर्कोतर्फ कार्यक्षेत्रमा राज्यको उपस्थित नरहने। राज्यविहीन भइरहनुपर्ने हो भने मैले त्यो चिकित्सकबाट के अपेक्षा राख्ने?’ 

उनले राज्य टुलुटुलु हेरेर बस्ने हो भने भोलिको दिनमा ठूला ठूला जटिल शल्यक्रिया चिकित्सकले गर्न नसक्ने बताए।

‘चिकित्सकीय कामलाई पेशा भनिँदैन संसारभर। यो त अभ्यास हो। हामीले पनि अभ्यास भन्छौँ। जति अभ्यास हुँदै जान्छ उति नै तिखारिँदै जाने हो। साइन्स इन्कम्प्लिट छ। हरेक दिन नयाँ कुरा निस्किन्छ’, उनले भने, ‘अभ्यास गर्ने व्यक्तिलाई हरेक परिणामलाई लापरबाही भन्नु हुँदैन। हाम्रो परिणाम त प्रष्ट छ नि कुनै पनि बिरामीको शल्यकृया गर्दा कि बाँच्छ, कि मर्छ। आधा बाँच्ने आधा मृत्यु हुने भन्ने त संसारमा हुँदैन। प्रत्येक मृत्यु लापरबाही नै हो भन्ने हो भने अस्पताल सबै बन्द गरिदिए भयो।’ 

अस्पतालमा चिकित्सकले बिरामी मात्रै मार्ने हुन् भन्ने भाष्य स्थापित गर्न थालिएको उनले बताए। ‘समाज यति अराजक। असहिष्णु, उदण्ड हुन मिल्दैन। देशमा कानुनी व्यवस्था कायम गर्ने हो। सबै सिस्टमका लागि भिँड्ने हो। यसको मुख्य दायित्व त राजनितीकर्मीकै हो’, उनले भने,  ‘हामी प्रणालीमा विश्वास गर्छौँ। हरेक ठाउँमा व्यक्ति हावी हुँदै जाने हो भने कसरी यो समाज अगाडि बढ्छ। अघिल्लो वर्ष दुई हजार ८ सय चिकित्सक नेपालबाहिर गए। यो वर्ष अझै बढ्ने क्रम छ।’ 

उनले वर्षेनि तीन हजारदेखि ३ हजार पाँच सय चिकित्सक नेपाल बाहिर गइरहेका बताए। ‘हामीकहाँ नयाँ दर्ता हुने एक हजार भन्दा तल झरिसकेको अवस्था छ। यो भनेको साह्रै भयावह अवस्था हो’, उनले भने, ‘यही अवस्था रहिरहे अबको पाँचसात वर्षमा हामी चिकित्सकविहीन हुन्छौँ। अहिलेको सामाजिक, राजनितिक परिवेशले स्वास्थ्यलाई कम्प्लिट्ली कोल्याप्स बनाउन खोज्दैछ। अब हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .