ad ad

खेल


खेल्न अमेरिका पुगे पनि मेस्सीले चम्काइरहेका छन् साउदी अरबको छवि

खेल्न अमेरिका पुगे पनि मेस्सीले चम्काइरहेका छन् साउदी अरबको छवि

करिम जिदान
साउन ३१, २०८० बुधबार १९:२८,

फुटबलका निर्विवाद उस्ताद लियोनल मेस्सी केही हप्ताअघि मात्र अमेरिकी भूमिमा उत्रिएका हुन्। तर, उनले सानदार गोलहरुको खजाना नै निर्माण गरिसकेका छन्। 

इन्टर मायामीबाट आफ्नो पहिलो खेलमै अन्तिम समयमा रोमाञ्चक गोल गरेका उनले दोस्रो खेलमा पहिलो हाफमै दुई गोल गरे। त्यसयता लगातार पाँच खेलमा गोल गरिसकेका ३६ वर्षीय मेस्सीले अमेरिकाको फुटबलमा अहिले नै नमेटिने छाप छाडिसकेका छन्।

अमेरिकामा मेस्सी–उन्माद छाएको छ। तर, एउटा अर्को देश किनारामा बसेर मेस्सीले गरेको चमत्कार हेरिरहेको छ। त्यो देश हो, साउदी अरब।

केही महिनाअघि मात्र साउदी अरबको क्लब अल हिलालले मेस्सीलाई खेल्न वार्षिक ४० करोड डलरको अभूतपूर्व प्रस्ताव गरेको थियो। तर, उनले यसलाई अस्वीकार गरे र डेविड बेक्ह्याम समेतको स्वामित्वमा रहेको मयामी रोजे। 

यो अनपेक्षित निर्णय थियो। जसले घरेलु लिगमा फुटबलका सबैभन्दा ठूला स्टारहरुलाई आकर्षित गर्ने साउदी अरबको महत्वाकांक्षामा धक्का दियो।

पछिल्ला केही वर्षहरुमा खेलकुदको दुनियाँ प्रमुख खेलाडीका रुपमा उदाएको छ साउदी अरब। यो अधिराज्यले अनेक खालका अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरिरहेको छ। वार्षिक रुपमा फर्मुला वान, डब्ल्यूडब्ल्यूई शो, विश्वकै महंगो घोडा रेस र हेबिवेट बक्सिङ।

मुलुकको पब्लिक इन्भेस्टमेन्ट फन्ड भनिने साउदीको सार्वभौम सम्पत्ति कोषको समेत लगानीमा इंग्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइडेट खरिद गरिएको छ। क्रिस्टियानो रोनाल्डो, नेमार र करिम बेन्जेमा जस्ता ठूला फुटबल खेलाडीलाई घरेलु लिगमा खेलाउन साउदीले ठूलो रकम खर्चेको छ।

विश्वका शीर्ष खेलाडी र लिगहरुलाई आकर्षित गरेर साउदी अरबले आफूलाई खेल, मनोरञ्जन र पर्यटनको विश्वव्यापीका केन्द्रका रुपमा प्रस्तुत गरिरहेको थियो। यो ‘सफ्ट पावर स्ट्राटेजी’ हो, जसले साउदी अरबलाई व्यक्ति र व्यवसाय दुवैका लागि आकर्षक गन्तव्यका रुपमा उभिन सघाउँछ। मेस्सीलाई साउदीको लिगमा खेलाउन सकेको भए त्यो साउदीको यो अभियानको शिरको ताज हुने थियो।

मेस्सीले अमेरिका रोजेर साउदीको घुमाउरो आलोचना गरेको केही लाग्न सक्छ। किनभने साउदीको शासन महिला, वाक् स्वतन्त्रता पक्षधर र यौनिक अल्पसंख्यकहरुका हकमा दमनकारी छ (मेस्सीले खेलिरहेको फ्लोरिडा सहर पनि यस मामिलामा उदाहरणीय भने होइन)। 

तर, मेस्सीले साउदीको प्रस्ताव अस्वीकार गर्नुको कारण भने नैतिकभन्दा व्यक्तिगत हो। खबरहरुमा जनाइएअनुसार उनको परिवारलाई मायामीको समुद्री किनारको जीवन निकै मन पर्‍यो।

खेल्न अमेरिका गए पनि मेस्सी साउदी अरबसँगको आफ्नो औपचारिक सम्बन्धलाई भने कायम राखेका छन्। उनी साउदीको पर्यटन दूत हुन्।

साउदीको पर्यटन प्राधिकरणसँगको उनले तीन वर्षका लागि गरेको सम्झौता करिब अढाई करोड डलरको हो। यो ठूलो रकम हो। तर, हामीले याद गर्नुपर्ने कुरा के हो भने मेस्सीलाई यो रकम आवश्यक छैन। सम्झौताअनुसार मेस्सीले पर्यटन अभियानमा सघाउनुपर्ने हुन्छ, सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ, च्यारिटीमा सहभागी हुनुपर्ने हुन्छ। 

मेस्सी यो ग्रहका सबैभन्दा लोकप्रिय खेलाडी हुन्। त्यसैले अझै पनि उनले साउदीसँगको सम्बन्ध कायम राख्नु सो मुलुकका लागि निकै महत्वपूर्ण वरदान हो। अमेरिकामा खेलिरहेका बेला पनि मेस्सीले साउदीसँग सम्झौता जारी राखेका छन् भन्ने तथ्यले साउदीप्रति थप ध्यान खिच्ने काम गर्छ।

भलै साउदी अरबले विश्वका उत्कृष्ट खेलाडीलाई आफ्नो लिगमा खेलाएकोमा गर्व गर्न पाएन, तर अमेरिकामा मेस्सीको बढ्दो लोकप्रियताले साउदीलाई फाइदा हुन भने सक्छ। यसले साउदीको सफ्ट पावर विस्तार गर्न र आफूलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न उसलाई सघाउँछ।

साउदीले वर्षौंसम्म लबिइङमार्फत अमेरिकामा आफ्नो स्वार्थ पूर्ति गराउन सफल भएको छ। अमेरिकी परामर्शदाता कम्पनी, पब्लिक रिलेसन्स एजेन्सी आदिलाई हात लिएर साउदीले आफ्नो विदेश नीति, पर्यटन र खेलकुद एजेन्डालाई अघि बढाउँदै आएको छ। न्युयोर्कमा साउदी आफ्नो सरकारी कोषको सहायक कम्पनीधरी खोलेको छ। तथापि, मेस्सी साउदीका लागि अति मूल्यवान् छन्।

जब मेस्सीका विश्वभरका प्रशंसकहरु जब मैदानमा उनको जादु हेरिरहेका हुन्छन्, तब उनीहरुले साउदी अरबको विज्ञापन पनि हेरिरहेका हुन्छन्। जब मेस्सी साउदी जान्छन् वा सामाजिक सञ्जालमा साउदीको प्रचार गर्छन् तब ती पोस्टहरु अझ धेरै दर्शकमाझ पुग्छन्। उनको माध्यमबाट थुप्रै मान्छेहरु पहिलो पटक साउदीको पर्यटनसँग परिचित हुन सक्छन्।

सम्झौताको एउटा सर्त अलि चिन्ताजनक छः मेस्सीले यस्तो केही पनि भन्न पाउँदैनन्, जसले साउदीको छवि बिगार्न सक्छ। उनले बोल्न सक्ने कुरा धेरै थिए। मानव अधिकार उल्लंघनको मामिलामा साउदी अरबले ठूलो आलोचना खेप्दै आएको छ। पत्रकार जमाल खसोग्गीको हत्यालाई लिएर साउदीको चर्को विरोध भयो। त्यसका साथै, वाक् स्वतन्त्रताको दमन, असन्तुष्टहरुमाथिको धरपकड, सुधारको आवाज उठाउने एक्टिभिस्ट र बौद्धिकलाई जेल चलान जस्ता कार्य साउदीले गर्दै आएको छ। 

गत वर्ष साउदी अरबले ८१ जनालाई मृत्युदण्ड दियो। जसमध्ये सिया समुदायका ४१ जनालाई एकैदिन फासी दिइएको थियो। यो दशकौँयता गरिएको सबैभन्दा ठूलो आम मृत्युदण्ड थियो। यसले आप्रवासी कामदारलाई गर्ने व्यवहार र महिलाहरुको अवस्थाप्रति पनि आम चिन्ता छ।

साउदी अरबको मानवअधिकारको दयनीय अवस्थालाई ध्यानमा राख्दा उसले आफ्नो छवि चम्काउन खेलकुदमा यतिसारो किन लगानी गर्छ भन्ने स्पष्ट हुन्छ। विश्वका महानतम् फुटबल खेलाडी मेस्सी सर्वोत्कृष्ट व्यापारीमध्ये एक हुन्। र, अहिले उनी सर्वथा नयाँ दर्शकमाझ साउदीलाई पर्यटन गन्तव्यका रुपमा बेच्न पुगेका छन्।

(द गार्डियनबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .