ad ad

खेल


नेपाल फेरि विश्वकप खेल्न कस्सियो

नेपाल फेरि विश्वकप खेल्न कस्सियो

यज्ञराज जोशी
असार १०, २०७६ मंगलबार ९:२४,

अष्ट्रेलियामा २०२० मा हुने टि–२० क्रिकेट विश्वकप खेल्न योग्य हुन नेपाललाई अझै दुई चरण पार गर्नुपर्छ। २०७६ साउन पहिलो साता हुने एसिया छनौट पार गरेमा नेपालले असोजमा हुने ग्लोबल छनौट खेल्नेछ। ग्लोबल छनाैटमा पार भए बल्ल २०१४ मा पहिलोपटक विश्वकप खेलिसकेको नेपालको दोस्रो चोटी विश्वकप खेल्ने सपना पूरा हुनेछ।

साउन ६ गतेबाट सिंगापुरमा शुरु हुने एसिया छनौटमा नेपालसहित आयोजक सिंगापुर, कुवेत, कतार र मलेसिया गरी ६ टोलीले सहभागिता जनाउँदैछन्। टि–२० प्रतियोगितामा राउण्ड रोबिन आधारमा सबै टोलीले एकअर्कासँग खेलिसकेपछि अंकतालिकाको शीर्षमा रहने एउटा मात्र टोली ग्लोबल छनौटमा पुग्ने हो।

यतिवेला नेपालले त्रिवि क्रिकेट मैदानमा त्यही एसिया छनौटको तयारी भइरहेको छ। अघिल्लो साता २५ सदस्यीय प्रारम्भिक टोली घोषणा भएपछि नेपालको बन्द प्रशिक्षण शुरु भएको हो। नयाँ प्रशिक्षक उमेश पटुवालको नेतृत्वमा नेपाली टोली पुनः विश्वकप खेल्न कस्सिएको छ।

नयाँ प्रशिक्षक आएसँगै खेलाडीहरुमा पनि नयाँ जोश जाँगर देखिएको कप्तान पारस खड्का बताउँछन्। ‘फेरि विश्वकप खेल्नका लागि यो महत्वपूर्ण बेला हो। हामीले यो खुट्किलो पार गर्नैपर्नेछ,’ पारसले भने, ‘नयाँ प्रशिक्षक आएपछि नयाँ जोश जागर बढेको छ तर जिम्मेवारी खेलाडीमा नै हो। आशा गरौं, उहाँको निर्देशनअनुसार हामीले खेल्नेछौं।’

नेपाल क्रिकेट संघ(क्यान) निलम्बनमा रहेका बेला नेपाली क्रिकेट हेरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल( आइसीसी)ले जेठमा मात्रै पूर्व अफगानिस्तानका ब्याटिङ प्रशिक्षक रहिसकेका उमेश पटुवाललाई एकवर्षका लागि नेपाली प्रशिक्षकमा नियुक्त गरेको थियो।

umesh patwalउमेश पटुवाल

यसअघि नेपाली टोलीमा ब्याटिङ परामर्शदाताको पनि भूमिका निर्वाह गरिसकेका पटुवालले पहिलोपटक पूर्ण रुपमा नेपाली टोली हेर्दैछन्। पटुवालले नेपाल ग्लोबल छनौटमा पुग्नेमा आशावादी रहेको बताए।

यसअघि नेपाली यू–१९ टोली वर्षाले खेल रद्द भएपछि विश्वकप खेल्न वञ्चित रहेको उदाहरण दिदैँ उनले भने, ‘क्रिकेटमा केही भन्न सकिदैन्। वर्षाले अंक बाँड्नु परेपछि यू–१९ टोली विश्वकपमा छनोट हुन रोकिएको थियो। तर हामीले त्यसतर्फ भन्दा पनि हाम्रो तयारीमा ध्यान दिनुपर्छ। हामीले दुई हप्ता नेपालमा र त्यसपछि बाहिर गएर तयारी गर्ने योजना बनाएका छौं। त्यसले ग्लोबल छनौटमा पुर्याउँनेमा विश्वस्त छु।’

उनले खेलाडीहरुलाई सिकाउँने भन्दा पनि सही समयमा सही प्रदर्शन दिने कुरामा आफूले जोड दिएको बताए। ‘सबै खेलाडीहरु प्रतिभावान छन्। मैले उनीहरुलाई सिकाउँनुपर्ने केही छैन्। मात्र कुन समयमा कस्तो खेल्ने हो भन्ने कुरामा मैले जोड दिएको छु। सबैलाई जिम्मेवार बनाउँने प्रयास गर्नेछु,’ पटुवालले भने।

मलेसियामा अन्तिम तयारी
दुई साता घरेलु मैदानमा बन्द प्रशिक्षण गरेपछि नेपाली टोलीले अन्तिम तयारी मलेसियामा गर्ने प्रस्ताव आइसिसीलाई गरेको छ। आइसीसीबाट यसैहप्ता प्रस्तावको जवाफ आउने नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले जनाए।

आइसिसीबाट प्रस्ताव पास भए नेपाली टोलीले अषाढ अन्तिम साता मलेसिया प्रस्थान गर्ने योजना बनाएको छ। त्यहीबाट आयोजनास्थल सिंगापुर जाने भएकाले अन्तिम १४ जना खेलाडीको टुंगो समेत मलेसिया जानुअघि नै लाग्नेछ।

नेपालले मलेसियामा प्रशिक्षणसँगै दुईवटा टि–२० खेलहरु खेल्ने योजना बनाएको छ। सिंगापुरसँगको हावापानी मिल्ने भएकाले त्यहाँको वातावरणमा खेलाडी घुलमिल हुन सजिलो होस् भनेर मलेसियामा अन्तिम तयारीको प्रस्ताव गरेको प्रशिक्षक पटुवालले बताउँछन्।

ब्याटिङ र विपक्षी
नेपालको तुलनात्मक रुपमा बलिङ राम्रो भएपछि ब्याटिङ भने सधैँ समस्याको विषय बन्दै आएको छ। त्यसमा पनि नेपालले धेरै प्रयोग गरेपनि उपकप्तान ज्ञानेन्द्र मल्लको ओपनिङ पार्टनर अझै पाएको छैन्।

यसपटक बन्द प्रशिक्षणमा जेठ अन्तिम साता सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सर्वाधिक रन बनाउँने दुई खेलाडीहरु राजु रिजाल र अमित श्रेष्ठसहित प्रदीप ऐरीले पनि स्थान बनाएका छन्। तीनै जना खेलाडी ओपनर भएकाले नेपाली अन्तिम १४ सदस्यीय टोलीमा केही परिवर्तन हुने देखिएको छ। त्यसबाहेक फिनिसरका रुपमा चिनिएका विनोद भण्डारी र शरद भेषावकरले पनि घरेलु प्रतियोगितामा आफूलाई ओपनिङमा परीक्षण गर्दै आएका छन्।

मध्यक्रममा भने युवा खेलाडीको आगमनसँगै नेपाली टोलीमा तीव्र प्रतिस्पर्धा छ। दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, सन्दीप जोरा, पवन सर्राफ मध्यक्रमका मुख्य दाबेदार खेलाडी हुन्। उनीहरुसँगै विनोद र शरदले माथिल्लो क्रममा स्थान नबनाए मध्यक्रमका लागि प्रतिस्पर्धा गर्नेछन्।

preperation

प्रशिक्षक पटुवाल टोलीमा ब्याटिङ नराम्रो भएको मान्दैनन्। उनी भन्छन्, ‘नेपाली ब्याटिङ नराम्रो छ भन्ने हैन। एकदिवसीयमा २ सय ५० बढी रन बनाउँने खेलाडीको ब्याटिङ नराम्रो भन्न मिल्दैन्। खेलाडीहरु ‘स्किलफुल’ छन्। उनीहरुलाई परिस्थितिअनुसार खेल्नसक्ने बनाउँनमा मेरो जोड छ।’

विश्वकपको एसिया छनौटमा तुलनात्मक रुपमा विपक्षीहरु नेपालभन्दा कमजोर टोली हुन्। कप्तान पारस खड्का नेपाल बलियो टोली देखिएपनि कुनैपनि विपक्षीलाई सजिलो गरि नलिने बताउँछन्।

‘नेपाल तुलनात्मक रुपमा बलियो टिम हो। टि–२० फम्र्याटमा चारवटा खेल खेल्नुपर्ने भएकाले कुनैपनि खेलमा आराम गर्नुपर्ने अवस्था छैन्,’ पारस भन्छन्, ‘विपक्षीहरु राम्रो या नराम्रो भन्दा पनि हामीले राम्रो क्रिकेट खेल्नुपर्यो। हामी कसैलाई पनि सजिलो गरि लिने छैनौं।’

ग्लोबल छनौटमा असली परिक्षा
एसिया छनौट पार गर्न नेपाललाई तुलनात्मक रुपमा सहज भएपनि नेपालको असली परिक्षा भने ग्लोबल छनौटमा हुनेछ। असोजमा यूएईमा हुने ग्लोबलमा नेपालसहित १४ राष्ट्रले सहभागिता जनाउँनेछन्। त्यसमध्ये ६ राष्ट्रले विश्वकप खेल्न पाउँनेछन्।

ग्लोबल छनौट खेल्ने स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान, आयरल्याण्ड्स, यूएई, पपुवा न्यूगिनी, केन्या, नामिबिया र जर्सी गरी ११ टोलीको टुंगो लागिसकेको छ। त्यसमा नेपाल खेल्ने एसिया छनौटबाट एक टोली र अमेरिका छनौटबाट दुई टोली थपिनेछन्।

12एसिया छनौटको तयारीमा रहेको नेपाली टोली

ग्लोबल छनौटमा रहेका अधिकांश टोलीहरु नेपालकै स्तरका हुन्। उनीहरुसँग पछिल्लो तीनवर्ष यता नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप, डिभिजन दुई तथा विश्वकप छनोटमा पनि लगातार खेल्दै आएको छ। जहाँ केही खेलमा नेपाल भाग्यमानी रहे पनि अधिकांश खेलमा संघर्ष गर्नुपरेको छ।

प्रशिक्षक पटुवाल र कप्तान पारसले अहिले नै ग्लोबल छनौटबारे सोचिसकेका छैनन् तर एसिया छनौटको प्रदर्शनले ग्लोबल छनौटमा असर गर्ने उनीहरु बताउँछन्। ‘अहिले हामी पूर्ण रुपमा एसिया छनौटमा केन्द्रित छौं। यहाँ सबै खेलहरु जित्नु छ,’ पारसले भने, ‘हामी सबैको सपना विश्वकप खेल्ने हो। त्यसको सुरुवात यहीबाट हुने हो।’

एसिया छनौटमा नेपालको खेल तालिका
जुलाई २३– नेपाल भर्सेस कतार
जुलाई २४– नेपाल भर्सेस मलेसिया
जुलाई २७– नेपाल भर्सेस कुवेत
जुलाई २८– नेपाल भर्सेस सिंगापुर

बन्द प्रशिक्षणमा रहेका नेपाली खेलाडीहरु
कप्तान पारस खड्का, अभिनास बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भीम सार्की, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, साहब अलाम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा, सुसान भारी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .