१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत धावक गोपीचन्द्र पार्कीले पुरुष ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन्।
नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भएका छन्। गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।
उनले भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडी पारेका थिए। सुनिलले १४ मिनेट ५५.२१ सेकेन्डमा दुरी पुरा गरे। नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते। दौडका दौरान अधिकांश समय शीर्ष तीनमै रहेका गोपीले अन्तिम १ सय मिटरमा मात्र अग्रता लिएका थिए।
भारतका सुनिलले अन्तिम २ सय मिटर बाँकी रहँदा तीव्र गति लिंदै एक समय झन्डै २० मिटरको अग्रता बनाएका थिए। तर गोपीले आफ्नो गति बढाउँदै अन्तिम १ सय मिटर बाँकी रहँदा अग्रता लिन सफल रहे। योसँगै एथलेटिक्समा नेपालले १३ औँ सागमा दोस्रो स्वर्ण जितेको छ। यसअघि सन्तोषीले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ३७ पुगेको छ।
प्रतिक्रिया