ad ad

खेल


थोत्रो म्याटको तयारीले स्वर्ण

थोत्रो म्याटको तयारीले स्वर्ण

यज्ञराज जोशी/लक्ष्मी जि.सी
मंसिर १९, २०७६ बिहिबार ७:४,

सागका लागि ६ महिनाअगाडि उसुका खेलाडीले अभ्यास थालेका थिए। तर, उनीहरुसँग गतिलो म्याट समेत थिएन। सबैले पुरानो कामचलाउ म्याटमा अभ्यास गरे। प्रतिस्पर्धाको अघिल्लो दिन मात्रै उनीहरुले सक्कली म्याट देख्न पाए।

थोत्रो म्याटमै अभ्यास गरेकी निमा घर्तीमगरले बिहीबार नेपालका लागि स्वर्ण जितिन्। सागमा यो उनको लगातार दोस्रो स्वर्ण हो। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी समेत बनिन्। 

२०१६ को १२औं सागमा पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जितेकी थिइन्। त्यसबेला उनी भर्खर एसएलसी परिक्षाको जाँच दिने तयारीमा थिइन्। त्यसबेला नेपालले जितेका ३ स्वर्णमध्ये सबैभन्दा पहिले निमाले स्वर्ण जितेकी थिइन। त्यसबाहेक जुडोकी फुपूल्हामु खत्री र नेपाली फुटबल टिमले त्यसबेला नेपालका लागि स्वर्ण जितेको थियो।

लगनखेलस्थित आर्मीको कभर्डहलमा बिहीबार थाउलोको महिला नान्दोमा कुल १८.९१ अंक जोडेर निमाले सागमा दोस्रो स्वर्ण जितेकी हुन्। यो जारी सागको पाँचौं दिनमा बिहीबार नेपालले जितेको पहिलो स्वर्ण समेत थियो।

प्रतियोगिताको अघिल्लो दिनमात्रै आर्मी कभर्डहलमा नयाँ म्याट बिछ्याइएको थियो। स्वर्ण जितेपछि निमा र अन्य खेलाडीको गुनासो पनि त्यसैमा रह्यो।

‘कामचलाउ म्याटमा तयारी गरियो। ओर्जिनल म्याट प्रतियोगिताको अघिल्लो दिनमात्रै देख्न पाइयो,’ निमाले स्वर्ण जितेपछि भनिन्, ‘ओर्जिनल म्याट अगाडि नै आएको भए ठिक हुन्थ्यो। ठिकै छ जे भए नि।’

निमाको स्वर्णसँगै जारी सागमा नेपालको स्वर्ण संख्या ३० पुगेको छ। उसुबाट यस सागमा नेपालले पाएको यो चौथो स्वर्ण हो। यसअघि उसुको थाउलोमा विजय सिन्जाली, सुस्मिता तामाङ र दीपक हमालले नेपाललाई स्वर्ण जिताइसकेका छन्। यही सबै खेलाडीले थोत्रो म्याटमा प्रशिक्षण लिएका थिए। जसले उनीहरुको प्रदर्शनलाई पनि प्रभावित गर्‍यो।

अघिल्लो दिन स्वर्ण जितेका विजय सिन्जालीले नयाँ म्याट राखेर तयारी गर्न नपाएकाले आफूले स्वर्ण जितेपनि सोचेजस्तो प्रदर्शन दिन नसकेको बताए।

Image may contain: 1 person, smiling, standing and textविजय सिंजाली

‘म्याट ढिलो आएर भनेको जस्तो प्रदर्शन देखाउन सकिएन,’ विजयले भने, ‘नयाँ म्याटमा आफ्नो प्रदर्शन तलमाथि पर्छ। खेलको अघिल्लो दिनमात्रै म्याट आएको थियो। त्यसमा पर्याप्त अभ्यास गर्न पाएको भए हामीले अझै राम्रो प्रदर्शन गर्न सक्थ्यौं।’

उसुको प्रशिक्षणका लागि सुरुमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को मिनिकभर्ड हल छुट्टाइएको थियो। उसुका लागि इन्डोर कभर्डहल चाहिन्छ तर, मिनिकभर्डहल भने खुला थियो।

त्यसैले पछि लगनखेलस्थित आर्मी शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रको कभर्डहलमा उसुको प्रशिक्षण सारियो। तर, त्यहाँ पनि पुरानै काम चलाउ प्रशिक्षण सामाग्री मात्र थियो। त्यसैमा दुःखसुख तयारी गरेका नेपाली खेलाडीले देशलाई स्वर्ण जिताए।

सागका लागि अन्तिम समयमा खेल सामाग्री त आए तर अब तिनलाई कहाँ राख्ने भनेर भन्ने टुंगो अझै लागेको छ। यसका लागि एउटा कभर्डहल आवश्यक परहेको खेलाडीहरुको भनाइ छ।

‘सागका लागि अन्तिममा भनेर सामाग्री त आयो तर अब सकिएपछि त्यो राख्ने ठाउँ कहाँ भन्ने पनि थाहा छैन,’ आर्मीको कभर्डहल देखाउँदै विजयले भने, ‘हामीलाई यस्तै ठूलो कभर्ड हल चाहिन्छ। सम्बन्धित निकायले त्यसमा ध्यान पुर्‍याओस्।’

सागपछि उसुका खेलाडीले अब कहाँ प्रशिक्षण गर्ने भन्ने पनि टुंगो छैन। त्यसैकारण खेलाडीहरु चिन्तित छन्। नियमित प्रशिक्षण नहुँदा यत्रो समय गरेको प्रशिक्षण खेर जाने विजयले बताए।

‘खेल सामाग्रीको अभावमा पनि हामीले जसोतसो खेलिरहेका छौं। पदक ल्याएर क्षमता पनि देखाएका छौं,’ उनले भने, ‘सागको लागि लामो तयारी गरेर हामीले जुन सीप हासिल गरेका थियौं, अब नियमित प्रशिक्षण नहुँदा त्यो स्तर खस्कन्छ। सागपछि कहिले प्रशिक्षण हुन्छ टुंगो छैन। हामी एसियन गेम्समा पनि पदक ल्याउन सक्छौं तर योजना बनाएर त्यसअनुसार नियमित प्रशिक्षण हुन आवश्यक छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .