ad ad

खेल


तेस्रो दिनसम्म सागमा नेपाललाई २३ स्वर्ण

तेस्रो दिनसम्म सागमा नेपाललाई २३ स्वर्ण

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार १६:८,

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को मंगलबार तेस्रो दिन सकिदा नेपालले २३ स्वर्ण पदक जितेको छ। दोस्रो दिन सोमबार १५ स्वर्ण जितेको लयलाई कायम राख्दै तेस्रो दिन मंगलबार नेपालले थप ८ स्वर्ण जितेको हो।

मंगलबार नेपालले उसु, तेक्वान्दो, कराँतेमा समान दुई दुई तथा एथ्लेटिक्स र ट्रयाथोलनमा एक एक स्वर्ण जित्यो । यसअघि सोमबार नेपालले तेक्वान्दो र कराँतेमा सात सात तथा ट्रयाथोलनमा एक गरि १५ स्वर्ण जितेको थियो ।

उसुमा नेपाललाई दुई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले मंगलबार दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन् ।

थाउलोको चवाङक्वाङमा विजयले ९.४८ अंक हासिल गर्दै स्वर्ण जिते । बंगलादेशका मोहमद उमरले ९.३४ अंकका साथ रजत र भारतका अन्जुलले ९.१६ अंक बटुल्दै कांस्यमा सीमित भए ।

महिला थाउलोको चवाङक्वाङमा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन् । सुस्मिताले ९.४४ अंक जोड्दै स्वर्ण जितिन् । रजत जितेका श्रीलंकाका पीएचजी वत्सलाले ८.८५ अंक जोडिन् भने कांस्य पदकमा सीमित भएकी बंगलादेशकी नुर बेहर बेगमले ७.५९ अंक मात्रै जोड्न सकिन् ।

मंगलबार भएको नानछ्वानमा नेपालका दीपक हमालले ९.७० अंकका साथ शीर्ष स्थान हात पारेका छन् । उनलाई नेपालका साजन लामाले ९.६१ अंकका साथ पछ्याउँदा बंगलादेशका मोहमद आमिर हुसेनले ८.८७, पाकिस्तानका मोहमद दावदले ८.४८ र श्रीलंकाका चासिथ हेमन्थ्स् कुमाराले ७.५२ अंक जोडेका छन् । उनीहरुले बुधबार नानगुनका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी महिला नानक्वानमा नेपालकी नीमा घर्तीमगरले ९.३१ अंक जोड्दै शीर्ष स्थान हासिल गरेकी छन् । उनलाई बंगलादेशकी मोर्जिना अख्तरले ८.८० र श्रीलंकाकी सन्जु कुमारीले ७.६१ अंकका साथ पछ्याइरहेका छन् ।

यसैगरी थाउलोकै पुरुष ताइचीछुवानमा श्रीलंकाका थारिुदु नमल अनुरथ ९.६९ अंकका साथ शीर्ष स्थानमा छन् । भारतका ज्ञानदास सिंहले ९.५९, नेपालका हरिप्रसाद गोलेले ९.४४ र बंगलादेशका मोहमद बिप्लोप रुद्रले ९.२५ अंक जोडेका छन्।

महिला ताइचिछुवानमा पनि श्रीलंकाकी एमएलडीटीएस गुणशेखरा शीर्ष स्थानमा छिन् । उनले ९.२४ अंक जोड्दा नेपालकी मीना घलानले ९.१७ अंक बटुलेकी छन् । यस स्पर्धामा बंगलादेशकी दीप्ति दासले ८.७५ र पाकिस्तानकी समरिन अल्ताफले ६.७५ अंक जोडेकी छन्।

यसैगरी सान्डाको महिला ५२ केजीमा नेपालकी अलिना चौधरी सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले बंगलादेशकी फमिन्दा तबासुम लिमलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । महिलाकै ५६ केजीमा भारतकी विद्यापति चानुले पाकिस्तानकी रुक्सना हनिफलाई अंकका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइन्।

सान्डाको महिलाकै ६० केजीको सिंगल राउन्ड रोबिनमा भारतकी रोसिविना देवीले बंगलादेशकी रीताविश्वास पूजालाई नकआउट गरिन् । महिलाकै ७० केजीको राउन्ड रोबिनमा नेपालकी विन्दा पुन बंगलादेशकी बासुना खन्दोकरलाई नकआउट गर्दै अघिल्लो चरणमा स्थान बनाइन्।

सान्डाकै पुरुष ५६ केजी तौल समूहको प्रतिस्पर्धामा भारतका उचित शर्माले फाइनलमा स्थान बनाए । उनले क्वार्टरफाइनलमा नेपालका अमर सुनारलाई अंकका आधारमा पराजित गरे । पुरुषकै ६० केजीमा भारतका विक्रान्त बलियानले पाकिस्तानका अब्दुल्लाहलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । ७० केजी तौल समूहमा भने श्रीलंकाका रुमेशले सेमिफाइनलमा स्थान बनाए । उनले बंगलादेशका मोहमद लिटन अलीलाई अंकका आधारमा पराजित गरे।

पुरुषको ८५ केजी तौल समूहको राउन्ड रोबिन लिगमा पाकिस्तानका मोहमद अम्जद इक्वालले विजय हासिल गरे । उनले नेपालका किरण साउदलाई अंकका आधारमा पराजित गरे ।

तेक्वान्दोलाई थप दुई स्वर्ण
नेपालले तेक्वान्दोको फाइटतर्फ मंगलबार दुई स्वर्ण जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न चार स्वर्णको प्रतिस्पर्धामा नेपालले दुई स्वर्ण हात पारेको हो । नेपालका लागि वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण दिलाएका हुन् । महिला ४६ केजीतौल समूहमुनि काजलले पाकिस्तानकी साइदा जादी सिद्रालाई ५०–१४ ले हराउँदै स्वर्ण जितिन् ।

सो तौल समूहमा भारतकी राधा भाटी र श्रीलंकाकी इसारा पिइउमाली सामाराकोनले कांस्य जितिन् । वीरबहादुरले फाइनलमा पाकिस्तानका मुहामद फहिमलाई ४१–३६ ले हराउँदै स्वर्ण जितेका थिए । यस समूहमा श्रीलंका थरङ्गा लकमल र भारतकी पृथ्वीराज चौहानले कांस्य पदक जित्न सफल भए।

त्यस्तै भारत र पाकिस्तानले १-१ स्वर्ण जित्न सफल भए । भारतकी कसिस मलिकले स्वर्ण जित्दा नेपालकी निमा गुरुङलाई ८–७ को हार सामना गर्न बाध्य बनाइन्। पाकिस्तानी नक्स हम्दानी र भुटानकी छिरिङ याङचेनले कांस्य पदक जितिन्।

पाकिस्तानले एक मात्र स्वर्ण पुरुषतर्फ प्राप्त गर्दा जैब साहले जितेका थिए। उनले फाइनलमा श्रीलकंका रेनहाना अनुरा बन्दारालाई ४१–१० ले हराए। यस तौलमा नेपालका मनोज मल्ल र भारतका कन्हा मैनालीले कांस्य पदक प्राप्त गरे।

कराँतेका दुई स्वर्ण
कराँतेमा मंगलबार नेपालका नबिन रसाइलीले पाकिस्तानका खेलाडीलाई हराउँदै ६७ केजी कुमुतेमा स्वर्ण जिते नबिनले पाकिस्तानका अहमेद नासिरलाई आठ छ अंकले पराजित गरे । यस्तै सुनिता महर्जनले महिला कुमुतेको ६८ केजीमुनिमा सुनिताले स्वर्ण जितिन् । सुनिताले पाकिस्तानी खेलाडी कुल्सुमलाई ८(२ अंकले अपराजित गरिन् । पुरुष ७५ केजी कुमुतेमा नेपालका गंगाराम कुसुवारले रजत जिते । फाइनलमा गंगाराम पाकिस्तानसँग ८श० ले पराजित भए ।

सन्तोषीलाई १० हजार मिटर दौडमा स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत महिला १० हजारमा नेपाली सन्तोषी श्रेष्ठले स्वर्ण जितिन्।

पहिलो ल्यापबाटै अग्रता लिएकी सन्तोषीले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् ।यता १ मिलिसेकेण्डले पछि पर्दै भारतक कबिता यादबले रजतमा चित्त बुझाइन्। श्रीलंकाकी निलन्थी लंकाले ३५.५९.०२ मा निर्धारित दौड पुरा गर्दै कास्य पदक हात पारिन्।

ट्रयाथोलनमा स्वर्ण

नेपालको स्वर्ण बढाउने क्रममा आज मंगलबार ट्राईयाथलनबाट हिमाल टमाटाले पुन अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसंग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राईयाथलन अन्तरगतको ५ किलोमिटर दौड, २० किलोमिटर साईकल दौड र पुन २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनट ३३ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितेका हुन्।

दोश्रो स्थानमा रहेका लक्ष्मण मल्लले उक्त दूरी ५९ मिनट १३ सेकेन्डमा साथ रजत र श्रीलङ्काका असिथ परेरा ५९ मिनट ३२ सेकेन्डका साथ तेश्रो स्थानमा रहे ।

टमाटाले भारतको गुहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए ।

यस्तै नेपाली पदकलाई अग्रता प्रदान गर्ने क्रममा महिला तर्फ हुमी बुढामगरले उक्त दूरी १ घन्टा ८ मिनट ५४ सेकेन्डका साथ रजत पदक दिलाईन् । श्रीलङ्काकी ईरानगा दुलाग्क्षी १ घन्टा ५ मिनट ५८ सेकेन्डका साथ स्वर्ण हात पार्न सफल भईन् । श्रीलङ्काकै उदया कुमारीले १ घन्टा ९ मिनट ०९ सेकेन्डमा साथ कास्य पाईन् ।

भलिबलमा रजत
महिला भलिबलमा नेपालले रजत पदक जितेको छ । निकै प्रतिस्पर्धात्मक फाइनलमा नेपाल भारतसँग ३(२ सेटमा पराजित भयो । सेमिफाइनलमा श्रीलंकालाई हराउँदै पहिलो पटक साग महिला भलिबलमा फाइनल पुगे पनि नेपाल इतिहास बनाउन बाट भने चुक्यो । यद्यपि नेपालले साग महिला भलिबलमा पहिलो पटक रजत पदक जित्न सफल भएको छ । यसअघि नेपालले तीन संस्करणमा कास्य जितेको थियो ।

पुरुष फुटबलमा शानदार सुरुआत
पुरुष फुटबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई सजिलै ४–० ले हरायो । यस विजयी सुरुआतसँगै नेपालले पाँच टिम सम्मिलित प्रतियोगिताको राउन्ड रोबिनको शीर्ष स्थान पनि हात पारेको छ । नेपाल तीन अंकसहित शीर्ष स्थानमा छ।

भुटान समान तीन अंकमा दोस्रो स्थानमा छ । मंगलबारकै अर्को खेलमा माल्दिभ्स र बंगलादेशले १–१ को बराबरी खेले । माल्दिभ्स लगातार दोस्रो बराबरीपछि दुई अंकमा तेस्रो स्थानमा छ । त्यसयता एक एक अंकमा श्रीलंका र बंगलादेश रहेका छन् । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा गर्नेछ ।

नेपालले दिनको पहिलो खेलमा भुटानलाई ४–० ले हरायो । त्यसमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्चेन तामाङले गोल गरे ।

पुरुष क्रिेकटमा नेपालको हार
दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । किर्तिपुर स्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा श्रीलंका अन्डर२३ टिमले नेपाललाई ६ विकेटले पराजित गरेको छ । नेपालले पहिले ब्याटिंग गर्दै दिएको १७३ रनको लक्ष्य श्रीलंका यु–२३ ले १९.१ ओभरमा ४ विकेट गुमाएर पुरा गेरको हो ।

श्रीलंका यु–२३ को जितमा शम्मु आशनले सर्वाधिक ७२ रन बनाए। अविजित रहेका उनले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै निशान मदुस्काले ४६ तथा पाथुम निसांकाले ३० रन बनाए।

नेपालको बलिंगमा पवन सर्राफले २ विकेट तथा सोमपाल कामि र सुशन भारिले समान एक–एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० भरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो।

नेपालको लागि उपकप्तान दिपेन्द्र ऐरीले अविजित रहँदै सर्वा्धिक ७२ रन बनाए। ऐरीले ४४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२ रन, कप्तान ज्ञानेन्द्र मल्लले २१ रन, बिनोद भण्डारीले २१ रन तथा आरिफ शेखले १९ रन बनाए।

महिला फुटबलमा पनि जित
महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ। पोखरा रंगशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्धन्द्धी श्रीलंकालाई १–०ले पराजित गरेको हो। 

नेपालले पुरा समय श्रीलंकालाई दबाबमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । नेपालको लागि शरु लिम्बुले ८८ औ मिनेट गोल गर्दे नेपाललाई अग्रता दिलाएकी थिईन।

लनटेनिसका दुवै टिम सेमिफाइनलमा
१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत टेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलबाट बाहिरिएकाछन्। नेपालका दुबै टिम भारतसँग पराजित भयो । पुरुषतर्फको टिम इभेन्टमा भारतले नेपाललाई ३–० ले हरायो। 

सिंगल्सतर्फ नेपालका प्रवण खनाल भारतका मनिष सुरेश कुमारसँग ६–१ र ६–० ले पराजित भए। अर्को सिंगल्समा संरक्षक बज्राचार्य साकेथ माइनेनीसँग ६–१ र ६–१ ले हारेपछि डबल्स अघि नै भारतले फाइनलमा स्थान बनाएको हो। 

डबल्सतर्फ बज्राचार्य र खनालको जोडी निकीकलियान्दा पुनाचा र श्रीराम बालाजी नारायण स्वामीसँग ६–३ र ६–२ ले पराजित भए। पुरुष टिमइभेन्टको स्वर्णका लागि भारतले पाकिस्तानको सामना गर्नेछ।

महिला टिमइभेन्टमा नेपाल भारतसँग ३–० ले नै पराजित भयो। सलोनी तामाङ भारतकी भुवनाकाल्भासँग ६–२ र ६–१ ले तथा प्रेरणा कोइराला सत्विका समासँग ६–१ र ६–० ले हारिन्। डबल्समा प्रेरणा र सलोनीको जोडी भारतका प्रेरणाभाम्ब्री र श्रब्याशिभानी चिलाकलापुडीसँग ७–५ र ६–१ ले पराजित भए।

गल्फमा सुक्र र टिमकै अग्रता
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार देखि सुरु भएको गल्फ खेलमा नेपालका सुक्रबहादुर राईले एकल अग्रता लिएका छन्। पार ७२ को गोकर्ण गल्फ कोर्समा पहिलो दिन सुक्रले चार अन्डर ६८ खेले । पुरुष ब्यक्तिगततर्फ सुक्र शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा नेपालकै टंकबहादुर कार्की छन् । टंकले तीनअन्डर ६९ खेलेका छन् । ब्यक्तिगततर्फ बंगलादशेका मोहमद सोमरत तेस्रो स्थानमा छन्। पहिलो दिन सोमरतले दुई अन्डर ७० खेले।

पुरुषको टिम स्पर्धामा पनि नेपाल शीर्ष स्थानमा छ । नेपालका सुक्रले ६८, टंकले ६९, सुवास तामाङले एक अन्डर ७१ र निरज तामाङले इभनपार ७२ खेले । टिम स्पर्धामा पुरुषतर्फ तीन जनाको स्कोरलाई समावेश गरिएको छ । पहिलो दिन नेपाली टिमको कूल दुई सय आठ स्कोर छ ।

ब्याडमिण्टन
पोखराको ब्याडमिन्टन कोर्टमा जारी १३ औं साग अन्तरगतको व्याडमिण्टनको व्यक्तिगत ईभेण्टमा खराब प्रदर्शन गरेका नेपाली खेलाडीले डबल्स र मिक्स स्पर्धामा सुधारिएको प्रदर्शन गरेका छन् । विहानी सत्रको खेलका सबै सेट गुमाएका नेपाली खेलाडीले दिवा सत्रका खेलमा सुधारिएको प्रदर्शन गर्दै जित निकालेका हुन्।

मंगलवार भएका १६ औं राउण्डका खेलमा पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनले जित निकाल्दै क्वार्टरफाईनल प्रवेश गरेका छन् । यो जोडीले पाकिस्तानका मुकित ताहिर र अवाईज जाहिदको जोडीलाई ३–१ को सेटमा हराएको हो ।यसैगरी महिला डबल्समा जेसिका गुरुङ् र रसिला महर्जनको जोडी पनि क्वार्टरफाईनलमा प्रवेश गरेको छ । उक्त जोडीले पाकिस्तानकै शेरा अक्रम र जावेद हुमाको जोडीलाई २–१ को सोझो सेटमा पराजित गर्यो।

यस्तै मिक्स डबल्समा नेपालका विकास श्रेष्ठ र अनुमाया राईले पनि क्वार्टरफाईनमा स्थान सुरक्षित गरे । सो जोडीले पाकिस्तानका राजा मोहम्मद हसिन र शेरा अक्रमको जोडीलाई २–१ को सोझो सेटमा हराएको हो।

नेपालका दिपेश धामी, रसिला महर्जन, नङ्सल तामाङ् पाकिस्तानका मुरद अलि, श्रीलंकाकी ए. रत्नसिरि कपुरु मुद्दियानसेलेज, भारतकी गायत्री गोपिचन्दसँग २–१ को सोझो सेटमा पराजित भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .