महिला राष्ट्रिय भलिबल टोलीले यसैहप्ता ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल गर्यो। त्यो सफलता थियो, एसियन भलिबल फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा स्वर्ण।
अन्तर्राष्ट्रिय स्तरको उपलब्धीका हिसाबले मात्र नभई यो प्राप्त गरेको समयको हिसाबले पनि महिला खेलाडीले प्राप्त गरेको सफलता अझ बढि महत्वपूर्ण हुन पुगेको छ। मंसिर १५ देखि नेपालमैं सुरु हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को ठीक अगाडी महिला खेलाडीहरु अन्तर्राष्ट्रिय मेडलसहित स्वदेश फर्केपछिसमग्र खेलाडीको मनोबल वृद्धि गराएको खेल क्षेत्रका जानकारहरुको भनाई छ।
यो नेपाली भलिबलको लागि ऐतिहासिक पदक पनि हो। नेपालले पाकिस्तानमा १९६७ मा भएको काइदो अजम मोहम्मद अलि भलिबल प्रतियोगिताबाट अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको हो। त्यसै बेलादेखि लगातार अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपाली पुरुष टोलीले २०१७ मा आएर बल्ल पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा कास्य पदक जितेको थियो। त्यो पदक एभिसी सेन्ट्रल जोन पुरुष भलिबलको तेस्रो संस्करणमा थियो।
यता महिला भलिबलले २० वर्ष अघि सन् १९९९ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। स्वदेशमै आयोजना भएको आठौं दक्षिण एशियाली महासंघीय खेलकुद (साफ)मा पहिलो सहभागितामै कास्य पदक जित्दै महिला भलिबलले सम्भावना देखाएको थियो।
त्यसपछि श्रीलंकामा भएको दसौं साग (सन् २००६) र भारतमा भएको १२ औं साग (सन्) २०१६ मा पनि महिला टोलीले कास्य पदकलाई निरन्तरता दियो। महिला भलिबलले हात पारेको ठूलो पदक रजत हो। सन् २०१४ मा घरेलु मैदानमै पाएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पिनसिपमा नेपाली चेलीले रजत दिलाएका थिए।
एभिसी सेन्ट्रल जोन भलिबलमा स्वर्ण जितेर फर्किएको नेपाली टोली। तस्बिर: स्नेहा केसी
अघिल्लो हप्तासम्म त्यही पदक नै नेपाली भलिबलको ६ दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा सबैभन्दा ठूलो थियो। गत कार्तिक २८ चेलीहरुले त्यो पदकलाई पछि पार्दै स्वर्ण जिते।
१३औं सागको अन्तिम तयारीमा रहेको टोलीले स्वर्ण जितेपछि उनीहरुले सागमा पनि स्वर्ण जित्ने आशा जगाएको छ। एभिसी सेन्ट्रल जोन भलिबलमै पहिलो पटक अरुणा शाहीले राष्ट्रिय महिला टोलीको कप्तानी पाएकी थिइन। उनी पनि उपाधिले सागमा स्वर्ण जित्न हौसला जागेको बताउँछिन।
उनी भन्छिन्, ‘सागकै तयारीका लागि हामीले यो प्रतियोगिता खेलेका थियौं। मुखैमा अन्तर्राष्ट्रिय एक्सपोजर पनि पायौं र उपाधि जित्दा मनोबल अझै बढेको छ।’
सेन्ट्रल जोनमा मध्य र दक्षिण एसियाका देशहरु रहेका छन। सेन्ट्रल जोनमा साग खेल्ने बंगलादेश र माल्दिभ्सको सहभागिता रहेको थियो। त्यसबाहेक किर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका थिए। नेपालले सबै देशलाई हराउदै एकपनि सेट नगुमाएर उपाधि उचालेकाले पनि सागमा उनीहरुबाट स्वर्णको अपेक्षा बढेको हो।
सागमा महिला भलिबल समावेश हुँदै नेपाली महिला टोलीले खाली हात हुनु परेको छैन। सागका अघिल्ला ३ सहभागितामा कास्य पदक जितेको नेपाली टोलीबाट यसपटक त्यो भन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिएको हो।
प्रशिक्षक जगदिश भट्ट(ट्रफी लिएको अरुणा भन्दा बायाँ) सागमा स्वर्ण आउनेमा आशावादी छन्। तस्बिर: स्नेहा केसी
दक्षिण एसियामा नेपालको मुख्य प्रतिद्वन्द्वीका रुपमा भारत र श्रीलंकालाई लिइन्छ। त्यसबाहेक बंगलादेश र माल्दिभ्सलाई सेन्ट्रल जोनमै सोझो सेटमा पराजित गर्दै नेपालले उनीहरुको स्तर जाँचीसकेको छ।
प्रशिक्षक जगदिश भट्ट आफूहरुसँगको प्रतिद्धन्द्धीबारे जानकार रहेको र आफूहरुसँग राखिएको स्वर्ण अपेक्षाबारे योजना बढेर अघि जाने बताउँछन्।
‘एभिसी सेन्ट्र जोनमा स्वर्ण जितेरमात्रै पुग्दैन। हामीले अझै माथि जानुछ,’ उपाधि जितेपछि भट्टको प्रतिक्रिया थियो, ‘थाइल्याण्डमा हामीले आफूभन्दा राम्रा टोलीसँग २० दिनको प्रशिक्षण गरेर बंगलादेशमा खेल्न आएका थियौं। त्यसैको एक्सोजरले स्वर्ण हात पर्यो। अब थाइल्याण्डको प्रशिक्षण र बंगलादेशको प्रतियोगितापछि बाँकी रहेको समयमा हाम्रा कमीकमजोरीलाई सच्चाउँदै भारत र श्रीलंकाविरुद्ध योजना बनाउँनेछौं।’
राखेपले वैदेशिक प्रशिक्षणका क्रममा महिला भलिबल टोलीलाई एक महिना अघि थाइल्याण्ड प्रशिक्षणमा पठाएको थियो। थाइल्याण्डमा २० दिने प्रशिक्षण गरेको नेपालले त्यहाँ ७ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। जसको ४ वटामा नेपालले जित र ३ वटामा हार ब्यहोर्यो। तर, आफूभन्दा बलिया टोलीसँग अभ्यास खेल खेल्न पाएकाले नेपाली खेलाडीहरु तयारीबाट सन्तुष्ट देखिएका छन।
खेलाडीहरु सागमा भएको तयारीबाट सन्तुष्ट देखिएका छन्। तस्बिर: स्नेहा केसी
‘यसपपटक प्रशिक्षण र तयारी पनि राम्रै भएको छ,’ नेपाली टोलीकी स्टार स्पाइकर प्रतिभा माली भन्छिन्, ‘पहिलेको भन्दा टिम बलियो देखिएको छ। थाइल्याण्डमा पनि खेल्यौं। प्रशिक्षण र तयारी अनुसार नतिजा पनि उत्कृष्ट आउने अपेक्षा गरेका छौं।’ प्रतिभा सेन्ट्रल जोनमा वेस्ट स्पाइकर समेत घोषित भएकी थिइन।
यस्तै राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल भलिबल संघले पनि यसपटक महिला भलिबललाई स्वर्ण जित्ने खेलको सुचिमा राखेको छ। राखेपका सदस्यसचिव रमेसकुमार सिलवालले भलिबल संघसँगको छलफल पछि नै उनीहरुकै आग्रह अनुसार वैदेशिक प्रशिक्षणमा पठाएको र बंगलादेशमा पनि नतिजा ल्याएकाले भलिबलबाट स्वर्णको अपेक्षा राखेको बताए।
खेलाडीलाई प्रोत्साहन
यसैबीच साग अघि एभिसी सेन्ट्रल जोनका विजेता खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गर्दै खेलाडीहरुलाई प्रोत्साहन थपेको छ। सदस्यसचिव सिलवालले शुक्रबार नेपाल फर्किएको टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
प्रोत्साहनस्वरुप सरकारले भलिबल टोलीलाई जनही ३ लाख र संघले २५ हजार दिने भएको छ। तस्बिर: स्नेहा केसीत्योसँगै नेपाल भलिबल संघले पनि आइतबार खेलाडीलाई सम्मानस्वरुप जनही २५ हजार दिने घोषणा गरेको छ। संघको शनिबार बसेको बैठकले ऐतिहासिक स्वर्णपदक जितेका १२ खेलाडी र ४ अफिसियल गरी १६ सदस्यीय टोलीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने निर्णय गरेको हो। यस्तै संघका अध्यक्ष मनोरन्जन रमण शर्माले टोलीलाई व्यक्तिगत रुपमा खेलाडीलाई जनही १०–१० हजार रुपैयाँ दिने घोषणा गरेका छन।
‘महिला टोलीले राम्रो सम्भावना देखाएकाले उनीहरुको हौसला अझै थपियोस भनेर नगद पुरस्कार घोषणा गरिएको हो,’ अध्यक्ष शर्माले नेपालखबरसँग कुरा गर्दै भनेर्, यसपटक उनीहरुले निरन्तर राम्रो नतिजा ल्याइरहेकाले उनीहरुले स्वर्णको अपेक्षा पनि जगाएका छन्।’

प्रतिक्रिया