गत असोज ९ गते मंसिरमा हुने दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली राष्ट्रिय टिम तयार पार्न टेबलटेनिसको अन्तिम छनोट गरिँदै थियो। ठीक एक दिनअघि सबैले पदकको आशा गरेका खेलाडी श्यान्टु श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परे।
मोटरसाइकल दुर्घटनामा उनको दायाँ खुट्टाको पछाडिको हड्डी भाँचिएको थियो। टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा अन्तिम छनोट चलिरहँदा अस्पतालको बेडमा पछिल्लो तीनपटकका राष्ट्रिय च्याम्पियन श्यान्टु भने आफ्नो सपना टुटेको पीडाबोध गरिरहेका थिए।
एक रात अस्पतालमा बिताएर खुट्टामा प्लास्टर गरी घर फर्किएका श्यान्टुलाई चिकित्सकले कम्तीमा चार हप्ता बेड रेस्ट गर्न भने। चार हप्ता बेड रेस्ट गर्नु परेपछि भने उनले घरेलु मैदानमा साग खेल्ने सपना अधूरै रहने ठानिसकेका थिए।
तीन वर्षअघि सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १६ वर्षे उमेरमा नै सिनियर खेलाडीहरुलाई माथ दिँदै सनसनीपूर्ण रुपमा राष्ट्रिय च्याम्पियनका रुपमा उदाएका श्यान्टुले ‘इञ्जुरी’बाट फर्केपछि संघले एकपटक आफूलाई मौका देओस भन्ने झिनो आशा राखेका थिए।
अघिल्लो वर्ष भएको राखेप च्याम्पियनसिप र गत वैशाख (२०७६)मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कसैले माथ दिन नसकेका श्यान्टुको दुर्घटनाले नेपाली टेबलटेनिस जगत पनि स्तब्ध थियो। राष्ट्रलाई पदक दिलाउने बलियो सम्भावना बोकेका खेलाडीलाई एक मौका दिनुपर्ने निष्कर्ष निकाल्दै संघले पनि अन्य खेलाडी छनोट गर्दै उनलाई ४० दिनको समय दियो।
आशा मारिसकेका श्यान्टुको खुसी त्यो एक मौका पाउँदा कम थिएन। त्यसैबेला उनले आफूलाई गरेको विश्वासमा खरो उत्रिने ठानिसकेका थिए।
‘संघले मलाई ४० दिनको समय दिएपछि मैले कति हप्ता हुन्छ भनेर काउन्ट गरेँ। पाँच हप्ता हुँदो रहेछ’, उनले भने, ‘डाक्टरले चार हप्तामात्रै रेस्ट गर्नु भनेको थियो। अझ दुई हप्ता अगाडि प्लास्टर खोलेपछि म विस्तारै अभ्यास गर्न थालेँ, एक/दुई दिन खेल्दा पनि म खेल्न सक्छु भन्ने आत्मविश्वास आएको थियो। त्यसबेलै म टिममा फर्किन सक्छु भनेर मानसिक रुपमा तयार भएँ।’
आइतबार(कात्तिक १७) अर्थात् श्यान्टुलाई दिइएको ४० दिनको समयभन्दा एक दिनअघि संघले उनको छनोट परीक्षा लिने भयो। संघले यसअघि नै साग खेल्ने पुरुषतर्फका पाँच खेलाडी छनोट गरिसकेपछि पाँचौँ नम्बरमा रहेका सुनिल महर्जनलाई श्यान्टुसँग भिडाउँदै विजयी खेलाडीलाई टिममा राख्ने निर्णय गरेको थियो।
श्यान्टुका लागि त्यो एकमात्रै र अन्तिम मौका थियो। उनका लागि त्यही एक मौका पर्याप्त भयो। सुनिललाई ३–० को सोझो सेटमा पराजित गर्दै श्यान्टुले पुनरागमनको हुंकार गरे। सुनिललाई उनले ११–२, ११–८ र ११–४ को सेटमा सजिलै पराजित गरेका थिए।
‘टिममा फर्किँदा एकदमै खुसी छु। देशका लागि केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ’, इञ्जुरीपछि राष्ट्रिय टिममा पुनरागमन गरेका श्यान्टुले नेपालखबरसँग कुरा गर्दै भने, ‘कतिले म घाइते भएपछि टिममा फर्किने चान्स छैन सोचेका थिए। तर, मैले आफू रिकभर भएर, छनोट जितेर टोलीमा फर्किँदै उनीहरुलाई गलत साबित गरिदिएको छु।’
टिममा फर्किए पनि श्यान्टुले सिंगल्स इभेन्ट्समा प्रतिस्पर्धा गर्न पाउनेमा दुविधा छ। उनीअघि नै छनोट भइसकेका शीर्ष तीन खेलाडीहरुले सिंगल्स खेल्ने बताइएको थियो। श्यान्टुले छनोटको पाँचौँ नम्बरमा प्रतिस्पर्धाको मौका पाएका हुन्। तर, संघ र प्रशिक्षकले श्यान्टुलाई विश्वास गरेमा उनीले सिंगल्समा प्रतिस्पर्धा गर्न पाउने झिनो आशा पनि बाँकी छ।
छनोट भएसँगै श्यान्टुले टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्ने भने पक्का भएको छ। अर्कातिर पुरुष डबल्स र मिक्स डबल्समा पनि उनले खेल्ने पक्कापक्की जस्तै छ। किनभने डबल्समा खेल्ने पार्टनरले नै आफ्नो अर्को पार्टनर छान्ने गर्छन्। यस्तोमा महिला र पुरुष दुवैको डबल्समा यसअघि छनोट भइसकेका खेलाडीहरुको पहिलो रोजाइमा श्यान्टु नै छन्।
श्यान्टु सिंगल्समा मौका नपाए पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्न पाउँदा खुसी नै छन्। दक्षिण एसियामा सिंगल्सभन्दा पनि टिम इभेन्ट्समा नेपालको मेडल आउने सम्भावना बढी रहेको उनी बताउँछन्।
‘सिगल्सभन्दा पनि डबल्स र मिक्स डबल्स र टिममा चाहिँ अरुभन्दा चान्स बढी हुन्छ’, शान्टुले भने, ‘टिमको म पनि एक महत्वपूर्ण खेलाडी हुँ। देशलाई मेडल दिन आफ्नो बेस्ट दिनेछु। पहिले जुन मेडल आएको थियो। त्योभन्दा एक स्टेपमाथि आउने सोचेको छु।’
छटपटीका ३९ दिन
नियमित रुपमा टेबुल टेनिस कोर्टमा बिताइरहेका श्यान्टुले दुर्घटनापछि विस्तारामा बिताउँदा भने कम छटपटी भएन। सुरुका दिनमा त उनले बेडमै पूर्ण रेस्ट गर्नुपर्ने भयो। तर उनको टेबुलटेनिस प्रतिको मोह दुर्घटनाले पनि कम गरेन।
‘नियमित खेलिरहेको मान्छे। बेड रेस्ट गर्नुपर्दा के नपुगेको के नपुगेको जस्तो हुन्थ्यो’, श्यान्टुले आफ्नो छटपटी सुनाए, ‘एक खुट्टामा प्लास्टर भए पनि एक खुुट्टा त चल्थ्यो। म एक खुट्टा बेडमा राख्दै बल र ब्याड समातेर न्यास्रो काट्थे।’
हड्डी जोडिसकेको भन्दै डाक्टरले तीन हप्तामा प्लास्टर निकालिदिएको थियो। त्यसपछि भने उनी विस्तारै अभ्यासमा फर्किए। उनलाई कोर्टमा फर्किने यति हतारो थियो कि डाक्टरले शारीरिक रुपमा कम जोड गर्नुभन्दा पनि उनी पछि हटेनन्।
‘डाक्टरले मलाई अरु नर्मल बिरामीजस्तै हेरेको थियो। तर, कम उमेर भएर र नियमित अभ्यास गर्ने खेलाडी भएकाले पनि मेरो मांसपेसीहरु बिरामीभन्दा अलि चाँडो विकास हुन्छ भन्ने लागेको थियो’, उनले भने, ‘डाक्टरले ५ गर भन्दा मैले १० गरे। त्यही भएर पनि मेरो पावर छिटा रिकभरी भएजस्तो लाग्छ।’
दुघर्टना भएपछि कोर्टमा फर्किन नपाउँदाको छटपटी जस्तो भए पनि आइतबार श्यान्टुको अन्तिम परीक्षा थियो। त्यसमा सफल भए घरेलु मैदानमा हुने सागमा खेल्ने उनको सपना साकार हुन्थ्यो यदि असफल भएमा उनको सपना यही तुहिन्थ्यो।
तर, श्यान्टुमा भित्रैदेखि आफू छनोट हुने आत्मविश्वास थियो। त्यही आत्मविश्वासले नै दुर्घटना भएको ३९औँ दिनमा उनले सुनिललाई पराजित गर्दै राष्ट्रिय टोलीमा स्थान बनाए।
‘मलाई भित्रैदेखि छनोट हुनेमा आत्मविश्वास थियो। खेलाडीमा भित्रैदेखि जब जित्ने आत्मविश्वास आउछ। तबमात्रै नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ’, श्यान्टुले भने, ‘सुरुदेखि नै मलाई जित्छु जित्छु भइरहेको थियो। इञ्जुरीबाट फर्केपछि गेम कस्तो होला भन्ने डर पनि लागेन। आनन्दसँग आफ्नै गेम खेलेँ र जितेँ पनि!’
छनोट जितेपछि भर्खरै इञ्जुरीबाट फर्किएका श्यान्टुले अझै शतप्रतिशत भने दिन सकिरहेका छैनन्। कोर्टमा उत्रिँदा अझै उनलाई शारीरिक रुपमा लोड परिरहेको हुन्छ। पहिलेभन्दा अहिले ७०–८० प्रतिशतमात्र दिन सकिरहेको उनी आफैँ स्वीकार्छन्। तर सागका लागि अझै एक महिनाको समय रहेको र त्यसबीच टेबलटेनिस टोली वैदेशिक प्रशिक्षणमा जाने भएकाले त्यस बेलासम्म आफू पूर्ण निको भइसक्ने उनको विश्वास छ।
प्रतिक्रिया