ad ad

खेल


एन्फा उपाध्यक्ष–प्रशिक्षक विवादः छानबिन समितिले बुझायो प्रतिवेदन

एन्फा उपाध्यक्ष–प्रशिक्षक विवादः छानबिन समितिले बुझायो प्रतिवेदन

नेपालखबर
भदौ ९, २०७८ बुधबार १६:५९, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद छानबिनका लागि गठित समितिले आज राखेपसमक्ष प्रतिवेदन बुझाएको छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै बनाएको छानबिन समितिले करिब ३ साता लगाएर १४ जनासँग बयान लिएको थियो। छानबिन प्रक्रिया पूरा भएपछि समितिले आज राखेप सदस्यसचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो। 

समितिले बुझाएको प्रतिवेदन राखेप सदस्यसचिव सिलवालले युवा तथा खेलकुद मन्त्रालयमा बुझाउनेछन्। मन्त्रालयले त्यसलाई फेरि एन्फामा पठाउनेछ। 

प्रतिवेदन सार्वजनिक गर्नुअघि समितिले सहमति जुटाउनका लागि गत साता एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधरसहित नेम्वाङ र अन्य एन्फा पदाधिकारीबीच गराएको छलफलविना निष्कर्ष सकिएको थियो। एन्फा अध्यक्ष र महासचिवले प्रशिक्षक अलमुताइरीलाई माफी मगाउन नसक्ने बताएपछि छलफलले निष्कर्ष दिनसकेको थिएन। 

समितिले वरिष्ठ उपाध्यक्ष नेम्वाङ, मुख्य प्रशिक्षक अलमुताइरी, दुई सञ्चारकर्मी, कप्तान किरण चेम्जोङ, इक्वेस्ट्रिएन संघका अध्यक्ष रवि राजकर्णिकार, एन्फा अध्यक्ष शेर्पा, सदस्य किरण राई र राखेपअन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङ, कृष्ण बहादुर थापा र वीर बहादुर खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, महासचिव तुलाधर तथा व्यवस्थापक मधुसुधन उपाध्यायको बयान लिएको थियो।

एन्फाको गत साउन १५ गते बसेको कार्यकारी समितिको आपत्कालीन बैठकले विवाद समाधान गर्न नसकेपछि छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालय गुहारेको थियो। सोही आधारमा मन्त्रालयले राखेपलाई छानबिनका लागि पत्र काटेको थियो।

विवादको सुरुवात भने साउन ७ गतेको घटनाबाट भएको थियो। अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्वाङ पनि तानिएका थिए। अलमुताइरीले एन्फा कम्पाउन्डबाहिर धूमपान गरेको विषयमा दुई सञ्चाकर्मीले उनलाई गरेको प्रश्नबाट विवाद सुरु भएको थियो।

गत साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूलाई काम गर्न अप्ठ्यारो भएको आशयका साथ पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए। त्यसमा नेम्वाङले कडा आपत्ति जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .