ad ad

खेल


एक शरणार्थी अफगान युवतीको ओलम्पिक यात्रा

एक शरणार्थी अफगान युवतीको ओलम्पिक यात्रा

फारस घानी
साउन ८, २०७८ शुक्रबार १७:३३,

निगारा शाहिन अफगानिस्तानमा जन्मिइन्। तर ६ महिनाकै उमेरमा पाकिस्तान जानुपर्याे। 

अफगानिस्तानमा युद्धकै कारण जलालावादमा रहेको उनको परिवार पाकिस्तान गएको थियो। 

यो सन् १९९३ को कुरा हो। पैदलै हिँडेर सीमा पार गर्न उनको परिवारलाई दुई दिन दुई रात लाग्यो। 

त्यसको १८ वर्षपछि शाहिन जन्मभूमि अफगानिस्तानमा पहिलोपटक पाइला राखिन्। 

उनी राजधानी काबुलमा रहेको अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा पढ्न गएकी हुन्। 

यो वर्षको जुलाई २८ मा शाहिन ओलम्पिकमा पहिलोपटक खेल्दै छिन्।

जापानको टोक्योमा शुक्रबारदेखि सुरु हुने ओलम्पिकमा उनी जुडो महिलातर्फ शरणार्थी ओलम्पिक टिमको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रिनलागेकी हुन्। 

ओलम्पियन बन्ने शाहिनको सपना यही महिनाको सुरुतिर झण्डै झण्डै चकनाचुर भइसकेको थियो। टिमको एक अफिसियललाई कोरोना पुष्टि भएको थियो। उनीहरु कतारको राजधानी सहर दोहामा प्रशिक्षण गरिरहेका थिए। 

‘यो साह्रै कठिन थियो’, शाहिन भन्छिन्, ‘एक हिसाबले त हामीले सोच्यौँ– अब प्रतिस्पर्धाको अवसरबाट वञ्चित हुनेछौँ र सबै शरणार्थीको आवाज हुन सक्नेछैनौँ। तर हामी परिवारको रुपमा यसबाट अगाडि आयौँ।’ 

एउटा ओलम्पियन बन्ने सपना, जुडोप्रतिको माया र अवरोध छिचोल्दै शाहिन टोक्योको यात्रा गर्न सफल भएकी हुन्। 

ओलम्पिक खेल्ने सधैँको सपना 
ओलम्पिकमा प्रतिस्पर्धा गर्ने शाहिनको सधैँको सपना हो। उनी यसलाई साकार पार्न निरन्तर प्रतिबद्ध रहिन्। 

‘तर कुनै समय त्यस्तो पनि आयो म यसलाई कहिल्यै साकार पार्न सक्दिन भन्ने लाग्थ्यो’, शाहिन भन्छिन्, ‘विशेषतः रुसमा स्नातकोत्तर गरिरहँदा सबै जुडो क्लबहरु कोरोनाका कारण बन्द भएका थिए।’

तर रेफ्युजी ओलम्पिक्स टिम घोषणाको दिन उनको मानसपटलमा ताजा छ। यो त्यही दिन थियो जसको तथ्य पचाउन उनलाई पूरै दिन लाग्यो। किनकि उनी पनि टिममा छनोट भएकी थिइन्। 

अवरोध छिचोल्दै सपना पछ्याउँदै 
शाहिनकै भनाइमा उनी धेरैपटक दुव्र्यवहारमा परेकी छिन्। शाहिन र उनको परिवार शरणार्थीका रुपमा बस्ने पाकिस्तानको उत्तरपश्चिमी राज्य पेशावर र अफगानिस्तानको काबुलमा उनीहरुलाई हरक्षण सुरक्षाको चिन्ता हुन्थ्यो। डराएर बस्नुपथ्र्यो। 

‘म नै लक्षित हुन्थेँ र मलाई सामाजिक सञ्जालमा कति धाकधम्की आउँथ्यो त भगवानलाई थाहा छ’, शाहिनको सम्झना छ, ‘मबारे नाराम्रा कुरा लेखिएका पोस्टहरु गर्न मेरै नाममा कति धेरै फेसबुक पेजहरु खोलिएका हुन्थे।’ 

रुसमा हुँदा पनि शाहिनलाई आफूलाई समाजले स्वागत नगरेजस्तो लाग्थ्यो। उनी रेलमा यात्रा गर्दा जुडोमा सहयोग मिल्ने आशामा हुन्थिन्। तर सोचेजति साथ र सहयोग पाउँदैनथिन्। 

यो आफ्ना लागि निकै पीडादायी भएको बताउँछिन् उनी। तर ती सबै कारणले आफू बलियो हुनसकेको उनको भनाइ छ। ‘यो नराम्रो त हो नै, तर यदि यी सबै भएको थिएन भने आज जहाँ छु, त्यहाँ सायद हुँदैनथेँ कि!’, उनी भन्छिन्।

पाकिस्तानमा हुर्किएँ ​
शाहिन शरणार्थीको रुपमा जन्मेको देशभन्दा पर अर्कै देशमा हुर्किइन्। सानै थिइन्। त्यो समाजसँग उनी अञ्जान थिइन्। 

पाकिस्तानमा हुर्किँदै गर्दा उनलाई धेरै तनाव हुन्थ्यो। उनकै वरपरका अरु बालबालिकाभन्दा आफ्नो जीवन नराम्रो लाग्थ्यो। 

‘तर मजस्ताको लागि खेल साँच्चै सुरक्षित ठाउँ थियो। मेरो मानसिक स्वास्थ्यका लागि मात्र होइन, समाजमा घुल्न पनि यसैले अवसर दियो’, उनी भन्छिन्, ‘जुडो सधैँका लागि मेरो माया हुनेछ।’ 

उनी मार्सियल आर्ट, रेस्टलिङ खेललाई मन पराउँथिन्। त्यसमा जोडिन चाहन्थिन्। 

‘यस्तैमा मैले कराते सुरु गरेँ’, शाहिन खेल जीवनमा प्रवेशबारे भन्छिन्। उनी बस्ने क्षेत्रमा अरु कुनै क्लब थिएन। त्यसकारण कराते रोज्नु उनको बाध्यता थियो। 

इस्लामावादमा भएको १४ वर्षमुनिको जुडो प्रतियोगितामा खेल्न एक दिन उनको प्रशिक्षकले प्रस्ताव गरे। त्यहाँ धेरै महिला जुडो खेलाडी थिएनन्। उनले पनि खेल्ने प्रस्ताव स्वीकारिन् र करातेको पहिरनमा जुडो पूरा गरिन्। 

जतिखेर उनी प्रतिस्पर्धाको मैदान टेकिन् उनलाई केही भित्र आफ्नो रुचि र चाहना भेटेको अनुभव भयो। त्यसपछि उनले कराते छाडिन् र जुडोमा दिलोज्यान दिएर लागिन्। 

शरणार्थी हुनपर्दा छोडेको जन्मभूमिमा फेरि पाइला राख्दा... 
एउटा शरणार्थीको रुपमा जन्मेको देश छोडेकी शाहिनलाई फेरि त्यहाँ पाइला राख्न १८ वर्ष लाग्यो। जब उनले पाइला राखिन्, साह्रै भावुक भइन्। नलाग्ने कुरा पनि भएन। पेशावरमा रहँदा स्कुलमा उनलाई पाकिस्तानकै राष्ट्रिय गीत हरेक बिहान गाउनुपथ्र्यो। 

‘पेशावरमा हुर्किन पाउनुलाई स्वागत नै गर्छु, मलाई पाकिस्तानप्रति श्रद्धा पनि छ तर जब राष्ट्रिय गीत गाइरहन्थेँ, मेरा शरीरका अंग प्रत्यंग कामिरहेको हुन्थ्यो’, शाहिन भन्छिन्। 

तर फेरि अफगानिस्तान जाँदा पनि उनलाई कठिन नै भयो। धेरै कुराहरु शाहिनका लागि नौलो थियो। त्यसलाई आत्मसात् गर्न समय लागेको उनको भनाइ छ। 

अझ रोचक कुरा त त्यहाँ उनलाई पाकिस्तानमा हुर्केको मान्छेले किन आफूलाई अफगानी भनेको भनेर प्रश्न तेर्स्याउँथे। ‘मैले त्यो सामना गर्नैपथ्र्यो’, उनी भन्छिन्। 

अफगानी युवतीहरुलाई सन्देश 
अहिले उनी ओलम्पिकको प्रतिस्पर्धामा छिन्। उनी सबै आफूजस्ता अफगानी युवतीहरुलाई सन्देश दिन चाहन्छिन्।

‘जो ओलम्पियन बन्ने सपना बोकिरहेका छन्, अहिले म ओलम्पिकमै आइरहँदा यसले उनीहरुमा पनि आशाको सञ्चार गर्नेछ’, उनी भन्छिन्, ‘मैले जे जति अवरोध छिचोलेर यहाँसम्म आइपुगेँ, उनीहरु प्नि त्यही अवरोध सामना गरिरहेका छन्।’ 

‘तर यदि मैले ती सबैका बाबजुद सफल हुन सक्छु भने उनीहरु पनि पक्का सक्नेछन्’, उनको सन्देश छ, ‘यो साँच्चै कठिन छ तर केही पनि मानिसको सामथ्र्यबाहिर छैन।’ 

उनी आफूजस्ता सबैलाई भन्न चाहन्छिन्– जेप्रति लगाव छ, त्यसैमा लाग्नुहोस्। जे–जस्तो भए पनि त्यसलाई पछ्याइरहनुहोस्। 

ओलम्पिक पछि के गर्ने भन्ने अहिले नै शाहिनले सोचिसकेकी छैनन् तर खेलप्रति जोडिरहनेमा ढुक्क छिन्। 

नहुने पनि किन– यसैले त उनलाई धेरै थोक दिएको छ।  अल जजिराबाट अनुवाद ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .