ad ad

समाज


मिटरब्याजी अनुरुद्धको ठगीः ऋण नदिई तमसुक मात्र बनाएर गरिबको उठिबास

मिटरब्याजी अनुरुद्धको ठगीः ऋण नदिई तमसुक मात्र बनाएर गरिबको उठिबास

शैलेन्द्र महतो
पुस १९, २०७७ आइतबार ११:२१,

महोत्तरीको भंगहा नगरपालिका ४ प्रेमनगर बस्ने ५० वर्षीय धनेश्वर महतो ऋणको खोजीमा थिए। उनी गाउँघरको साहु महाजन चहार्दै भंगहा नगरपालिका ५ सिद्धपुर बस्ने रामचन्द्र साहका छोरा ४१ वर्षीय अनुरुद्ध साहकहाँ पुगे। त्यस क्षेत्रका चर्चित मिटरब्याजी अनुरुद्ध धनेश्वरलाई १ लाख रुपैयाँ प्रतिमहिना सैकडा ३ रुपैयाँ ब्याजदरमा दिन राजी भए। यो २०७४ सालको कुरा थियो।

अनुरुद्धले तुरन्तै तमसुक बनाउन लेखनदास बोलाए। लेखपढ गर्न नजान्ने धनेश्वरसँग अनुरुद्धले दुई वर्षअघिको १९ साउन २०७२ को मितिमा साँवाको १२ गुणा बढी रकम लेखी कपाली तमसुक बनाए। यनले आफ्नै दाइ लक्ष्मण साहलाई साहु खडा गरी सहीछाप गराए। अनपढ धनेश्वरले कतिको तमसुक बन्यो भन्ने समेत चाल पाएनन्।

अनुरुद्धले धनेश्वरको हातमा सिद्धार्थ बैंकको १ लाख रुपैयाँको चेक थमाए। धनेश्वर सोही दिन चेक भजाउन बर्दिबासस्थित सिद्धार्थ बैंक पुगे। तर, अनुरुद्धले दिएको खातामा पैसा नै थिएन। बैंकले भुक्तानी नदिई फर्कायो। धनेश्वर निराश हुँदै फर्के र चेकसहित साहु अनुरुद्धको घर पुगे। अनुरुद्धले नगदै दिन्छु भन्दै धनेश्वरको हातबाट चेक फिर्ता लिएर उनकैअगाडि च्याते। पैसा अर्को दिन दिउँला भनी धनेश्वरलाई घर फर्काए। तर, अनुरुद्धले न नगद रुपैयाँ ऋण दिए, न त कपाली तमसुक फिर्ता गरे।

ऋणै नलिएको कपाली तमसुकको आधारमा अनुरुद्धले ४ महिनापश्चात ७ कार्तिक २०७४ मा महोत्तरी जिल्ला अदालतमा धनेश्वरलाई दिएको १२ लाख रुपैयाँ ब्याजसहित असुल उपर गरिदिन मुद्दा दायर गरे।

Dhaneshwar_mahato.jpgधनेश्वर महतो

अदालतले ६ जेठ २०७५ मा धनेश्वरले लक्ष्मण साहलाई १८ लाख ७४ हजार ३०८ रुपैयाँ तिर्नुपर्ने फैसला सुनायो। वैशाख २०७६ मा दुवै पक्षबीच गाउँमै छलफल भयो। १६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन मिटरब्याजी अनुरुद्ध राजी भए। आर्थिक रुपमा निकै कमजोर धनेश्वरले जसोतसो एउटा बैंक र दुईजना महाजनसँग हारगुहार गरी १६ लाख रुपैयाँ ऋण काढेर ६ जेठ २०७६ मा अनुरुद्धलाई बुझाए। धनेश्वरका भाइ मोहनको नामबाट १६ लाख रुपैयाँ बुझेको अनुरुद्धले लिखित भर्पाइ गरिदिए। तर, पनि अनुरुद्धले मुद्दा फिर्ता लिएनन्। जसका कारण अदालतले आउँदो माघ २१ गते साहुको बिगो भर्न धनेश्वरको चलअचल सम्पति लिलाम गर्ने आदेश दिएको छ।

मिटरब्याजी अनुरुद्धको बेइमानी र छलकपटले आर्थिक रुपमा कमजोर धनेश्वरको परिवार उठिबास हुने अवस्थामा पुगेको छ। धनेश्वरलाई अनुरुद्धलाई तिर्न लिएको १६ लाख ऋणको चिन्ता त छँदैछ, घरघडेरी लिलाम हुने अर्को चिन्ताले झनै सताइरहेको छ। बेइमान साहुबाट मुक्ति पाउन उनी गाउँका भद्रभलादमी, जनप्रतिनिधिसमक्ष हारगुहार गरिरहेका छन्। तर, उनको कुरा सुन्न कोही पनि तयार छैन।

‘मसँग कपाली तमसुक बनाएर अनुरुद्धले १ रुपैयाँ पनि दिएन। अदालतमा मुद्दा गर्दा गाउँमा छलफल हुँदा विनाकारण विभिन्न साहुमहाजनबाट जसोतसो १६ लाख रुपैयाँ ऋण काढेर तिरेँ। तर, बेइमान अनुरुद्धले अदालतबाट मुद्दा फिर्ता लिएन,’ धनेश्वरले नेपालखबरसँग भने ‘अब एकातिर १६ लाख ऋण छ, अर्कोतिर मेरो जम्मा सम्पत्ति १३ कठ्ठा खेत र घरघडेरी समेत लिलाम हुन लागेको छ।’

उनले मिटरब्याजी साहुबाट आफ्नो रक्षा गरिदिन सबैसँग गुहार गरेका छन्।

Mahottarai bharpai

अनुरुद्धले बनाए धनेश्वरका भाइ मोहनको पनि बेहाल
धनेश्वरका भाइ मोहन महतो पनि अनुरुद्धको चंगुलमा एक दशकदेखि फसेका छन्। मोहनले २०६५ मा अनुरुद्धबाट दुई पटक गरी २ लाख रुपैयाँ मासिक सैकडा २ रुपैयाँ ब्याजमा ऋण लिएका थिए। अघिल्लो पटक१ लाख रुपैयाँ लिँदा अनुरुद्धले ३ लाखको तमसुक बनाए। पछिल्लो पटक अर्को लाख लिँदा मोहनको ६ कठ्ठा जमिन बन्धकी राखे।

मोहनका अनुसार २०६९ सम्ममा उनले तीनचार पटक गरी सयकडा दुई रुपैयाँ ब्याजले हुन आउने ६ लाख ३० हजार रुपैयाँ चुक्ता गरे। तर, अनुरुद्धले सैकडा तीन रुपैयाँ ब्याजदरले पैसा तिर्नुपर्ने अडान राख्दै ८० हजार रुपैयाँ बाँकी रहेको दाबी गरे।

MahottariAdalat-bill.jpg

त्यही निहुँ बनाएर अनुरुद्धले तीन लाख रुपैयाँको तमसुक च्यातेनन्। बन्धकी राखेको खेत पनि फिर्ता गरेनन्। अनुरुद्धले आजभोलि जग्गा फुकुवा गरिदिने भन्दैभन्दै दश वर्ष बिताए। अनि तीन लाखको ब्याजसहित साँवा असुल उपर गरी पाऊँ भनि महोत्तरी जिल्ला अदालतमा मोहनमाथि मुद्दा हाले। मोहनको बाँकी जग्गाजमिन पनि रोक्का गराइदिए। त्यसपछि मोहनले तिरिसकेको ऋणको सावाँब्याजसहित पुनः १३ पुस २०७५ मा ६ लाख १३ हजार रुपैयाँ साहु अनुरुद्धको नाममा अदालतमा बुझाएर आफ्नो जग्गा फुकुवा गराए। अझै पनि बन्धकी राखेको ६ कठ्ठा खेत अनुरुद्धले फिर्ता नगरेको मोहन बताउँछन्।

‘मैले लिएको २ लाख रुपैयाँ ऋणको दुईपटक गरी साढे १३ लाख तिरायो। तर मेरो ६ कठ्ठा दृष्टिबन्धक राखेको जग्गा आहिलेसम्म फिर्ता गरेन,’ मोहनले गुनासो गरे।

मोहनको जग्गा अनुरुद्धले फिर्ता गर्ने विषयलाई लिएर पटकपटक समाजमा पञ्चायत पनि भयो। रकम लेनदेन तथा मुद्दा फिर्ताको विषयमा २०७६ वैशाखमा चारगाउँको पञ्च बसेर छलफल गर्दा अनुरुद्धले दाजु धनेश्वरले १६ लाख रुपैयाँ दिए भाइ मोहनको जग्गा फिर्ता गर्ने बताएका थिए। तर, धनेश्वरले पैसा दिएको डेढ वर्ष बित्दा पनि मोहनले जग्गा पाएका छैनन्।

‘पञ्चको निर्णयबमोजिम दाइले १६ लाख रुपैयाँ बुझाउनुभयो। २०७६ जेठ १५ गते भित्र दाइको मुद्दा फिर्ता लिने र मेरो जग्गा फिर्ता दिने निर्णय भयो। तर अनुरुद्धले अहिलेसम्म केही फिर्ता गरेन,’ मोहनले भने ‘अनुरुद्ध यसरी धेरैलाई कंगाल बनाइदिएको छ।’

mohan_mahato.jpgमोहन महतो

अरुझैँ कंगाल हुनुपर्ला कि भन्ने मालतीदेवीको चिन्ता
भंगहा नगरपालिका ५ सिद्धपुरका ३० वर्षीय रमेश मण्डलले २०७५ को चैत मसान्ततिर मिटरब्याजी अनुरुद्धसँग ५० हजार रुपैयाँ लिए। अनुरुद्धले २४ असार २०७५ को मितिको ७ गुना बढीको तमसुक बनाए। अहिले अनुरुद्धले रमेशमाथि साँवाब्याज ४ लाख २८ हजार २६४ असुल गरी पाऊँ भन्दै महोत्तरी जिल्ला अदालतमा २२ असोज २०७७ मा मुद्दा दायर गरेका छन्।

रमेश दुबईमा छन्। तर घरमा अदालतबाट मुद्दाको समन आएपछि उनकी आमा मालती चिन्तामा डुबेकी छन्। अब अरुलाई झैँ आफूलाई पनि अनुरुद्धले कंगाल बनाउने भयो भन्ने पिर मालतीलाई छ।

‘छोराले पैसा दिन्छु नै भनेको थियो। तर साहु अनुरुद्धले ७ गुना बढीको तमसुक बनाएर मुद्दा दिएछ। उसले धेरैको घरसम्पत्ति लुटेर कंगाल बनाएको छ,’ मालतीले भनिन्।

केही वर्षअघि अनुरुद्धले ऋणकै कारण आफ्नो २१ कठ्ठा जग्गा बेइमानी गरेर खाइदिएको मालतीको भनाइ छ।

malti_devi.jpgमालतीदेवी

बेइमानीबाटै अर्बपति बने अनुरुद्ध
भंगाहामा धनेश्वर, मोहन र मालतीदेवीजस्ता अनुरुद्धबाट पीडित पात्र दर्जनौँ छन्। उनले चर्को ब्याज दरमा दशगुना बढीको तमसुक बनाएर ऋण लगानी गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार १२ वर्षअघि केही लाखको धनसम्पत्ति भएका अनुरुद्ध अहिले अर्ब रुपैयाँ बराबर सम्पत्तिको मालिक बनेका छन्। उनले करोडौं रुपैयाँ ब्याजमै लगाएका छन् भने महंगो जग्गाजमिन जोडेका छन्। बेइमानी गरेरै बिघाका बिघा जग्गा हत्याएको उनका छिमेकीहरुको भनाइ छ।

miterbyaji_anurudh_sah.jpgअनुरुद्ध साह

अनुरुद्धको रवाफः २५ प्रतिशत ब्याजदरमा ऋण लगाउँछु, ऋणीलाई चिन्दिनँ
मुलुकी ऐन लेनदेनसम्बन्धी महलको दफा ६ र ७ ले सयकडा १० प्रतिशत र साँवा बराबर भन्दा बढी ब्याज लिन नपाइने व्यवस्था गरेको छ। साँवाभन्दा बढी ब्याज लिनु सरासर गैरकानुनी हो। मुलुकी संहिता २०७५ लागू भएपछि व्यक्तिले ५० हजारभन्दा बढी रकम ऋण लगानी गर्दा स्थानीय जनप्रतिनिधिको रोहबर (सिफरिस)मा लेनदेन गर्नुपर्ने व्यवस्था छ। मिटरब्याजी अनुरुद्धले ऋण असुल उपर गर्न तमसुकमा दश गुना बढी सावाँ राखेर १० प्रतिशत ब्याजदर उल्लेख गराउँछन्।

अनुरुद्धले आफूले २५ प्रतिशत ब्याजदरमै ऋण लगाउने गरेको स्वीकार गरे। जुन गैरकानुनी हो।

यो रिपोर्ट तयार गर्ने क्रममा नेपालखबरले अनुरुद्धलाई सोधेको थियो– धनेश्वर महतोलाई कति ऋण दिनु भएको छ? उहाँमाथि मुद्दा पनि दायर गर्नु भएको छ अदालतमा?

जवाफमा रवाफ देखाउँदै अनुरुद्धले भने– ‘कुन धनेश्वर? म कुनै धनेश्वर सनेश्वर चिन्दिनँ।’

जबकि अनुरुद्ध आफैँ वारेस बसेर धनेश्वरविरुद्धको मुद्दा लडिरहेका छन्।

Ramesh_mandl_2.jpg

अनुरुद्धको विषयमा धेरै पीडित गुनासो लिएर आउँछन्: मेयर साह
मिटरब्याजी अनुरुद्धबाट प्रताडित भएका, लुटिएका धेरै गरिब तथा सर्वसाधारण गुनासो लिएर जनप्रतिनिधिकहाँ जाने गरेका छन्। भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले अनुरुद्ध साहबाट पीडित भएका धेरै सर्वसाधारण ठगिएको, लुटिएको, बेइमानी गरेको, मुद्दा हालेको जस्ता गुनसो लिएर आउने गरेको बताए।

‘सातामा तीनचार जना सर्वसाधारण उनको गुनासो लिएर आएकै हुन्छन्। कतिमाथि मुद्दा दिएको, बेइमानी गरेको, धाकधम्की दिएको जस्ता गुनासो हुन्छ। अब यो ठगी लेनदेनको मुद्दा मेरो अधिकार क्षेत्र भित्र पर्दैन। तर पनि उनको धेरै पञ्चायत छलफलमा म आफैँ बसेको छु,’ मेयर साहले भने ‘उनीमाथि के कस्तो कारबाही गर्ने विषयमा महोत्तरीका प्राशसनसंग छलफल गर्छु। यदि ठगी, बेइमानी गरेको हो भने प्रहरी प्रशासनले कानुनबमोजिम अनुरुद्धलाई कारबाही गरोस्। म पीडित जनताको साथमा म छु। उनीहरुको न्यायको लागि के गर्नुपर्छ म पछाडि पर्दिनँ।’

Mahottari-district-court.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .