ad ad

समाज


चार महिनाअघि मात्रै प्रेम विवाह गरेका राधे र अस्मिता, ‘विश्वास गरेका साथीले धोका दिँदा’ गयो प्राण

राधे सहनीका तीन जना साथी पक्राउ, एक फरार
चार महिनाअघि मात्रै प्रेम विवाह गरेका राधे र अस्मिता, ‘विश्वास गरेका साथीले धोका दिँदा’ गयो प्राण

नेपालखबर
माघ ४, २०८० बिहिबार ११:५३, काठमाडौँ

महोत्तरीको लोहारपट्टी नगरपालिका- ३ महदैयाका २२ वर्षीय राधे सहनी र धनुषाको क्षिरेश्वर नगरपालिका- ३ पकडियाकी २० वर्षीया अस्मिता सहनीबीच चार महिना अघि मात्रै प्रेम विवाह भएको थियो।  

विवाहपछि धनुषाको महेन्द्रनगरमा डेरा लिएर हाँसीखुसी बस्दै आएका राधे र अस्मिताको चार दिनअघि (गएको सोमबार) धनुषाको छिरेश्वर नगरपालिका ३ पकडियामा भएको रहस्यमय सवारी दुर्घटनाको कारण मृत्यु भएको छ।

घटना अनुसन्धानको लागि प्रहरीले राधेका तीनजना साथीलाई पक्राउ गरेको छ भने एक जना फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए। 

राधे सोमबार बिहान आफ्नो ससुराली नजिकै छिरेश्वर नगरपालिका- ३ पकडियाको ग्रामीण सडक छेउको गहुँबारीमा मृत फेला परेका थिए। शरीरमा बाहिरी कुनै चोटपटक बिनै राधे गहुँबारीमा मृत भेटिँदा उनकी पत्नी अस्मितालाई गम्भीर घाइते अवस्थामा जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

भर्खरै विवाह गरेका युवकको मृत्यु र युवती गम्भीर घाइते अवस्थामा फेला परेपछि प्रहरीले घटनालाई रहस्यमय मान्दै अनुसन्धान अघि बढाएको थियो। घाइते अवस्थामा भेटिएकी अस्मिताको पनि उपचारकै क्रममा मंगलबार मृत्यु भएको थियो।

अस्मिताको पनि मृत्यु भएपछि घटनाको अनुसन्धान विभिन्न कोणबाट अघि बढाइएको धनुषा प्रहरीले जनाएको छ। 

‘हाम्रो प्रारम्भिक अनुसन्धानले उनीहरुको मृत्यु सवारी दुर्घटनाको कारणबाट भएको देखिन्छ,’ एसपी शर्माले नेपालखबरसँग भने, ‘अम्मिताको मृत्यु दुर्घटनाको चोटबाट भएको देखिन्छ भने उनका पतिको मृत्यु भने जाडोले कठ्यांग्रिएर भएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ।’

घटना अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले राधेका साथी हरु महोत्तरी लोहारपट्टी ३ का १८ वर्षीय अजित साह, १९ वर्षीय राजा सहनी र २७ वर्षीय नरेश सहनीलाई पक्राउ गरेको छ। राधेका अर्का साथी लोहारपट्टीकै २२ वर्षीय नन्दा सहनी भने फरार छन्।

एसपी शर्माका अनुसार विवाहपछि राधे र अस्मिता क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा लिएर बस्दै आएका थिए। गएको आइतबार राति राधेको डेरामा पत्नी थिइनन्। केही दिन अघि उनी माइत गएकी थिइन्। डेराबाट उनको माइत करिब चार किमी टाढा गाउँमा पर्छ। 

‘कोठामा पत्नी नभएको कारण राधेले आइतबार साँझ केही साथीलाई आफ्नो कोठामा बोलाएका रहेछन्,’ एसपी शर्माले भने, ‘गाउँबाट अजित साह र नरेश सहनी उनको कोठामा आएछन्। उनीहरुले नजिकैको होटलमा मदिरासँगै खाजा खाएर कोठामा फर्किएको देखिन्छ।’

एसपी शर्माका अनुसार कोठामा आएपछि राधे राति पत्नीलाई लिन भन्दै साथीको ज ५ प ७८०० नम्बरको मोटरसाइकल लिएर ससुरालीतर्फ लाग्छन्। उनका दुई साथी (अजित साह र नरेश सहनी) महेन्द्रनगरस्थित राधेकै डेरामा बस्छन्। 

पत्नीलाई लिन ससुराली जाँदै गर्दा उनले गाउँबाट थप दुईजना साथी (राजा र नन्दा सहनी)लाई पनि रमाइलो गर्न भन्दै गाउँबाट बोलाएको पाइएको छ। उनीहरु एउटा मोटरसाइकल चढेर राधेको ससुराली घरमै पुग्छन्। राधेको ससुराली घरमा पनि उनीहरुको खानपिन चल्छ।

खानपिनपछि राधे ज ५ प ७८०० नम्बरको मोटरसाइकलमा श्रीमती अस्मितलाई लिएर राति १० बजे ससुरालीबाट हिँड्छन्। उनका दुई साथी पनि अर्को मोटरसाइकलमा राधेको पछिपछि राधेको डेरातर्फ अघि बढ्छन्। मदिरा सेवन गरेका राधेको मोटरसाइकल कुहिरो लागेको सडकमा बिजुलीको पोलमा ठोक्किन्छ। 

राधे मोटरसाइकलसहित सडक छेउको गहुँबारीमा पछारिन्छन्। उनकी पत्नी सडकमै पछारिँदा गम्भीर घाइते हुन्छिन्।  
 
राधेका साथीहरु दुर्घटनामा परेका राधेलाई घटनास्थलमै छाडेर अस्मितालाई गम्भीर घाइते अवस्थामा माइत पुर्‍याएर फरार हुन्छन्। माइती पक्षले राधेले नै अस्मितालाई मरणासन्न हुने गरी कुटपिट गरेर भागेको भन्दै राति नै प्रहरीलाई जानकारी गराउँछन्। अस्मितालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिन्छ। 

रातभर ससुराली पक्ष र प्रहरीले राधेलाई खोज्छन्। तर, पत्नीलाई कुटेर भागेको भनिएका राधे सोमबार बिहान सडक छेउको गहुँबारीमा मृत अवस्थामा फेला पर्छन्। त्यसपछि मात्रै उनीहरु मोटरसाइकल दुर्घटनामा परेको खुलेको एसपी शर्माले बताए। 

‘दुर्घटनामा अस्मिता गम्भीर घाइते भए पनि राधेका साथीहरुले उनलाई अस्पताल नलगी माइती घरमा लगेर छाडेको पाइएको छ,’ एसपी शर्माले भने, ‘अस्मिताका पति राधेलाई भने उनीहरुले घटनास्थलमै छाडेर मोटरसाइकल लिएर भागेको देखिन्छ।’

बाहिरी चोटपटक केही नदेखिएका राधेको रातभरी गहुँबारीमा कठ्यांग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

‘पक्राउ परेकाहरुले बयानको क्रममा अस्मितालाई अस्पताल पुर्याउँदा आफूहरु लफडामा पर्ने डरको कारण माइतमा लगेर छाडेको बताएका छन्,’ एसपपी शर्माले भने, ‘राधेलाई खासै चोट लागेको नदेखेपछि उनलाई खेतमै छाडेर हिँडेको बयान उनीहरुले दिएका छन्। हामी घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

राधेले अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। समयमै अस्पताल पुर्याएको भए राधेको मृत्यु नहुने अनुमान पनि प्रहरीको छ। तर, अस्मिताका माइती पक्षले भने घटनालाई अझै रहस्यमय बताउँदै घटनाको सूक्ष्म अनुसन्धान गर्न माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .