समाज


पाथीभरामा केबलकार निर्माण विवाद: अरुण पूर्वका ९ जिल्ला बन्द

पाथीभरामा केबलकार निर्माण विवाद: अरुण पूर्वका ९ जिल्ला बन्द

सुनसरीको धरान बसपार्क क्षेत्रमा जम्मा भएका बन्दकर्ता। धरान धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जाने मुख्य नाका हो।


सुमन सुस्केरा
माघ २०, २०८१ आइतबार ११:१५, विराटनगर

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले आज अरुण पूर्वका नौ जिल्ला बन्दको आव्हान गरेको छ। 

मेची राजमार्ग र तमोर कोरिडोर अवरोध गर्दै आएको आन्दोलनरत समूहले माघ २० र २१ गते दुईदिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेको हो।  

बन्दको कारण आज कोसी प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ। तर, तराईका जिल्लामा भने बन्दको खासै प्रभाव परेको छैन। 

अहिले सुनसरीको धरान बसपार्क क्षेत्रमा ठूलो संख्यामा बन्दकर्ता जम्मा भएका छन्। धरान धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जाने मुख्य नाका हो। बन्दको कारण सवारी साधन नचल्दा अत्यावश्यक कामले हिँडेका यात्रुहरु अलपत्र परेका छन्। 

माघ १२ गते बेलुकी मुक्कुमलुङ साँस्कृतिकर्मीहरुमाथि सशस्त्र र नेपाल प्रहरीले दमन गरेको र गोली समेत हानेको विरोधमा यातायात बन्द गरिएको आन्दोलनरत पक्षको भनाई छ। 

१५ गतेदेखि ताप्लेजुङ छिर्ने नाकामा अनिश्चित कालीन बन्दको आव्हान गरेका पहिचान पक्षधरहरूले आजदेखि दुई दिन अरुण पूर्वका ९ जिल्ला बन्द आव्हान गरेका हुन्।  

दुई दिने बन्दको पछि पनि माग सम्बोधन नभए अनिश्चितकालीन आम हड्ताल गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन्।

बन्द कर्ता समूहले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा बन्द आह्वान गरेका हुन्। त्यसमध्ये पहाडी जिल्लामा बन्दको प्रभाव परेको छ। तर, तराईका जिल्लमा त्यसको प्रभाव कम देखिएको छ। 

धरानबाट धनकुटा, सङ्खुवासभा, तेह्रथुम तथा भोजपुर जाने सार्वजनिक सवारीका साधन चल्न सकेका छैनन्।  तमोर कोरिडोर र मेची राजमार्गमा  अत्यावश्यक बाहेकका सार्वजनिक यातायात चल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। 

मुक्कुमलुङ संरक्षण सङ्घर्ष समितिको नाममा निकालिएको विज्ञप्तिमा चन्द्र ढकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीवन निर्वाहको व्यवस्था गर्नु पर्ने, घटनाको बारेमा उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नु पर्ने र दोषीलाई कडा कारबाही गर्नु पर्ने माग गरिएको छ। 

घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार, पक्राउ परेकाको रिहाइ, काफ्ले पाटीबाट सशस्त्र र नेपाल प्रहरीलाई फिर्ता गर्नुपर्ने तथा केबलकार निर्माण तत्काल रोक्नु पर्ने माग पनि उनीहरुले गरेका छन्।  

आज बिहानसम्म सुनसान रहेका पूर्वका सडकमा १० बजेपछि भने बन्द कर्ताहरु निस्कन थालेका प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad