ad ad

समाज


सरकारको १०१ गन्तव्य सूचीमा परेको झापाको सहिद स्मृति पार्क बन्यो खण्डहर

सरकारको १०१ गन्तव्य सूचीमा परेको झापाको सहिद स्मृति पार्क बन्यो खण्डहर

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार ५:६, काठमाडौँ

झापाको विर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान (पार्क) सञ्चालनमा नआउँदै खण्डहर बनेको छ। स्थानीय समुदायले पार्क सञ्चालनको वातावरण बनाउन सरसफाइ अभियान सुरुआत गरेका छन्।

आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले दुई वर्षअघि नै विर्तामोड नगरपालिकाले पार्क निर्माण गरेको थियो। कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र छ। 

सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष कृष्ण खरेलले बताए।

पार्क बन्नुअघि त्यस स्थानमा भुटानी शरणार्थी शिविर रहेको थियो। शरणार्थी तेस्रो मुलुक पुनर्वास भएपछि उक्त स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकारले दुई करोड रुपैयाँ लगानी गरेको थियो। बाइस बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन महँगा मूल्यका पूर्वाधार संरचना निर्माण गरिएका थिए। सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्वीमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । आकर्षक प्रवेशद्वार र उद्यानसमेत बनाइएको थियो।

२०२९ फागुन २१ गते झापा र इलामको सिमानामा पर्ने सुखानीको जङ्गलमा पञ्चायती सरकारबाट जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये एक थिए, नेत्र घिमिरे। सहिद नेत्र घिमिरेकै स्मृतिमा उक्त पार्क बनाइएको हो।

पूर्वाधार निर्माण गरे पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका छन्।

विर्तामोड–७ का जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधि र विद्यार्थी पार्कको झाडी फाड्ने र सरसफाइ कार्यमा जुटेका हुन्।

‘राज्यको ठूलो लगानी खेर जाने अवस्थामा पुग्यो,’ वडाध्यक्ष खरेलले भने, ‘यसको संरक्षण र संवर्द्धन गर्नु आम नगरवासीको दायित्व हो । अब सरसफाइ गरेर चाँडै पार्क सञ्चालनमा ल्याउँछौं।’ स्थानीयले आउँदो एक सातासम्म लगातार सरसफाइ गर्ने भएका छन्।

सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले शौचालय, खानेपानी र बिजुलीबत्ती उपलब्ध गराएर पार्कलाई पुनःजीवित गरिने बताए। उनले जङ्गली हात्ती डुलिरहने हात्ती करिडोरमा पार्क रहेको हुँदा सुरक्षा बन्दोबस्तका लागि पर्यटकीय अवलोकन क्षेत्रमा विद्युतीय घेराबेराको तयारी भइरहेको जानकारी दिए। 

पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटीलगायतका प्लास्टिकका संरचना बनाइएका थिए भने डाइनोसरलगायतका फाइवरका ठूला प्रतिमा स्थापना गरिएका थिए। जगेर्ना नहुँदा लाखौँ खर्चेर किनिएको डाइनोसरको मूर्ति क्षतिग्रस्त छ। पोखरी र पार्क क्षेत्र झाडीले छोपिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .