समाज


जुम्लाबाट नेपालगन्जको एम्बुलेन्स भाडा २५ हजार, स्थानीय बासिन्दा विरोधमा

जुम्लाबाट नेपालगन्जको एम्बुलेन्स भाडा २५ हजार, स्थानीय बासिन्दा विरोधमा

नेपालखबर
फागुन ३, २०८२ आइतबार १२:२२, काठमाडौँ

जुम्लाबाट नेपालगञ्जका लागि एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँ तोकिएपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन्। 

जिल्ला एम्बुलेन्स समितिले आफूखुशी भाडादर निर्धारण गरेको जनाउँदै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको एम्बुलेन्स सञ्चालन निर्देशिका, २०८२ बमोजिम जिल्ला एम्बुलेन्स समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा पुस २४ गते बसेको बैठकले जुम्ला जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख किरणकुमार शर्माले जानकारी दिए। 

निर्धारित भाडादरबारे जनगुनासो आएको शर्माले बताए। ‘आवश्यक परेमा आगामी बैठकबाट पुनरावलोकन गर्न सकिन्छ,’ उनले भने। 

उनका अनुसार, चन्दननाथ नगरपालिकाभित्र एम्बुलेन्सको भाडा ६०० रुपैयाँ तोकिएको छ। त्यस्तै, जिल्लाभित्र कच्ची सडकमा प्रतिकिलोमिटर १०० रुपैयाँ र पक्की सडकमा ९० रुपैयाँ तोकिएको उनले जानकारी दिए। 

त्यस्तै, जुम्लाका सम्पूर्ण स्थानदेखि सुर्खेतसम्म २० हजार रुपैयाँ र जुम्लाबाट नेपालगञ्जसम्म २५ हजार रुपैयाँ निर्धारण गरिएको प्रमुख शर्माले बताए। 

जिल्ला एम्बुलेन्स समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले दूरी र स्थानका आधारमा भाडादर निर्धारण गरिएको बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक श्रेणीका एम्बुलेन्स सञ्चालनमा रहेकाले भाडामा एकरूपता ल्याउन समिति सक्रिय भएको पौडेलको भनाइ छ। 

सिंजा, तिला, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकाले जिल्ला एम्बुलेन्स समितिले तोकेको भाडादर कार्यान्वयन गर्ने भन्दै सार्वजनिक सूचना जारी गरिसकेका छन्। तर सुर्खेत र नेपालगञ्जसम्मको भाडा अत्यधिक महँगो भएको भन्दै स्थानीय असन्तुष्ट छन्। 

बिरामीलाई लक्षित सेवा नै यति महँगो हुँदा गरिब तथा विपन्न नागरिकको जीवनसँग खेलबाड भएको स्थानीयको गुनासो छ। जिल्ला एम्बुलेन्स समितिले भने भाडादर दूरी, इन्धन खर्च, मर्मतसम्भार तथा चालक खर्चलाई आधार मानेर निर्धारण गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad