ad ad

समाज


जथाभावी सडक खन्दा गाउँ नै पहिरोको उच्च जोखिममा

जथाभावी सडक खन्दा गाउँ नै पहिरोको उच्च जोखिममा

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १३:५८, बागलुङ

स्थानीय तह स्थापना हुनुपूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन। तर अहिले सडक नपुगेको बस्ती नै छैनन्।

गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको छ, तर अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कैयौँलाई उठिबाससमेत लगाएको छ। बर्सेनि जिल्लाका १० वटै स्थानीय तहले सडक निर्माणका लागि करोडौँ रकम विनियोजन गर्दै आएका छन्। अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्‍याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन। 

स्थानीय तहले हिउँदका समयमा धमाधम सडक निर्माण गर्छन्। बर्खाको समय ती सडक बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्‍याउँदै आएको छ। गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० का विभिन्न स्थानमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भयो। धेरै  मानिस घाइते भए। करिब ८० घर विस्थापित हुनुपरेको छ। गाउँमा पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको धेरैले आँकलन गरेका छन्। 

बडिगाडमात्र नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँ नै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ। गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्दा पहिरोले सिङ्गो गाउँले जोखिम मोलेर बस्नुपर्ने अवस्था छ।

जिल्लाको ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका, काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ। पहिरोले क्षति पुर्‍याएको अधिकांश स्थान मोटर बाटोको छेउछाउ रहेका छन्। विनाइन्जिनियरिङ निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनुका साथै पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याएको छ। अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको गलकोटका प्रेमबहादुर खत्रीले बताए। हिउँदा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा सञ्चालन हुन नसक्ने उनको भनाइ छ।

‘धेरैजसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ती सडक गुणस्तरीय बन्न सकेका छैनन्’, उनले भने, ‘अझ गाउँमा निर्माण भएका सडक त बिनाइन्जिनियरिङ खनिएका छन्। बर्खामा गाउँबाट बजार झर्नुपर्यो भने हिँड्नुपर्छ। सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्र चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन्।’

तमानखोलाका मकरबहादुर सिर्पालीले दुई–चार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पुर् याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेको बताए। पालिकाभित्र करिब ५० बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो उनले पोखे। उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक विनानापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको उनको भनाइ छ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताए। २०७३ सालअघि नै नगरपालिकाभित्र ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षमा १५७ किलोमिटर नयाँ सडक निर्माण भएको उनले बताए। ती सबै सडकलाई व्यवस्थित बनाउन थालेको उनको भनाइ छ। नगरपालिकाभर नयाँ तथा पुराना गरी ४८७ किलोमिटर ग्रामीण सडक रहेको हुँदा नयाँ ट्रयाक खोल्न बन्द गरी पुरानालाई स्तरोन्नति गर्ने उनी बताउँछन्।

‘जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ’, प्रवक्ता भण्डारीले भने, ‘अब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेका ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .