एक वर्षअघि दशैँको बेला महानगरीय प्रहरी प्रभाग पुल्चोक, प्रमुख थिइन्, इन्स्पेक्टर (प्रहरी निरीक्षक) चेतना पोखरेल। त्यतिबेला दशैँ रमाइलो, घरपरिवारसँगको जमघटभन्दा पाएको जिम्मेवारी ठूलो थियो। मन्त्री निवाससहित पुल्चोक आसपासको शान्ति, सुरक्षा एवं त्यसका उपायहरु खोजी गर्दा र कार्यान्वयन गर्दै उनको समय बित्थ्यो।
दशैँमा घर जान नपाउने कुरा उनले पहिलै बुझीसकेकी थिइन्। त्यही भएर उपाय निकालिन्। बुवाआमालाई काठमाडौं नै बोलाइन्। ड्युटी बीचमा एक घन्टा समय निकालेर बानेश्वर डेरा पुगिन्। बाबुआमासँग टीका लगाएर फनक्क ड्युटीमै फर्किइन्।
‘प्रहरी युनिफर्म र हातमा सञ्चार सेट बोकेर बुवाआमासँग टीका थाप्न पुगेको त्यो क्षण सम्झँदा मलाई गर्व लाग्छ’, चेतना भन्छिन्, ‘जनताको सेवामा खटिने हामी प्रहरीका लागि दशैँ, तिहारभन्दा जिम्मेवारी ठूलो हुन्छ। जिम्मेवारीकै क्रममा टीका थाप्न पाउनु मेरा लागि एउटा सौभाग्य नै हो।’
दशैँभन्दा शान्ति सुरक्षा महत्वपूर्ण
चेतना प्रहरी सेवामा प्रवेश गरेको पाँच वर्ष भयो। सेवा प्रवेश गरेपछिको पहिलो दशैंमा उनी तालिममा थिइन्। त्यतिबेला उनलाई घर जान पाइँदैन होला भन्ने लागेको थियो। तर ४–५ दिन नै विदा मिल्यो। परिवारसँगको दशैँ उल्लासमय भयो।
भर्तीपछि दोस्रो दशैँमा उनी आईपीएस तालिमका लागि भारत गएकी थिइन्, हैदराबाद। मुस्लिम बहुल दक्षिण भारतको त्यो सहरमा दशैँ तरंगको कुनै प्रभाव रहेन। मनाउने समय पनि भएन।
‘हामी नेपालबाट तालिमका लागि पाँच जना गएका थियौँ’, उनी स्मरण गर्छिन्, ‘त्यतिबेला एक आपसमा ह्याप्पी दशैँसम्म भन्ने काम भयो। थप दशैँ मनाइएन।’
तेस्रो वर्ष दशैँमा उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिइन्। त्यो दशैँ पनि उनको ड्युटीमै बित्यो। ‘दशैँमा बुवा आमासँग जान पाए हुन्थ्यो भन्ने आमधारणा हो। प्रहरी सेवामा लागेका हामी दशैँभन्दा शान्ति, सुरक्षा महत्वपूर्ण हुन् भन्ने किसिमले प्रेरित भएका हुन्छौँ’, चेतना भन्छिन्, ‘छुट्टी पाइएन भनेर म दुःखी चाहिँ हुन्नँ। मेरा लागि प्रहरी संगठन आफैँमा एउटा परिवार हो।’
यसपाली चेतना प्रहरी प्रधान कार्यालयमा छिन्। उनी त्यहाँस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशालयको प्रशासन प्रमुख हुन्। चेतनाका लागि प्रहरी संगठन आफैँमा एउटा बृहत् घरपरिवार हो। दशैँमा विदा नमिलेका वर्षहरुमा उनी यही परिवारसँग उल्लास साट्छिन्, ड्युटीकै क्रममा।
‘यहाँ पनि रमाइलो हुन्छ। एक किसिमको आफ्नोपन हुन्छ’, उनी सुनाउँछिन्।
‘बाहिर आम नागरिकले जसरी दशैँ मनाउनुहुन्छ प्रहरीभित्र पनि त्यसरी नै मनाउने हो’, चेतना भन्छिन्, ‘मीठो खाने, माछा मासु खाने, आफूभन्दा ठूलोबाट टीका–दक्षिणा थाप्ने, मनोरञ्जनात्मक कार्यक्रम गर्ने सबै हुन्छ।’
अहिलेसम्मको उनको अनुभवले भन्छ, प्रहरीभित्र दशैँ मनाइरहँदा घर परिवारको सम्झना नआउने भन्ने चाहिँ हुँदैन।
‘सुरु सुरुमा म यस्ता कुरा सम्झिएर भावुक हुन्थेँ। कामको प्रकृति हेरेर आफ्नो मन बुझाउनु पर्ने हुन्छ’, उनी भन्छिन्, ‘घरपरिवार, साथीहरुले यस्तो बेलामा बुझिदिनु पर्छ।’ कतिपय साथीहरु ‘हाम्रो विदा हुने तेरो नहुने’ भनेर झर्कन्छन्। आफन्तहरु किन नआएको भनेर प्रश्न गर्छन्।
बुबाआमाको हकमा भने चेतना आफूलाई भाग्यमानी ठान्छिन्। ‘बुवाआमाले मेरो पेशाको अप्ठ्यारो बुझिदिनुहुन्छ। मलाई यहीँनेर सबैभन्दा खुशी लाग्छ’, उनी सुनाउँछिन्।
‘दशैँमा छोरी आइदियोस् भन्ने त बुवाआमालाई लागिहाल्छ नि’ उनी सुनाउँछिन्, ‘तर छोरी देश र जनताको सेवामा छ है भन्ने कुरा उहाँहरुले राम्रोसँग बुझ्नु भएको छ। त्यही भएर जान नपाएको वर्ष पनि उहाँहरुले केही भन्नुहुन्न।’
बाल्यकालमा नयाँ लुगा र दक्षिणाको रहर
चेतना यसै वर्ष बिहे भएको हो। उनको घरमा श्रीमान्, सासु–ससुरा छन्। माइतीमा बुबाआमा, भाइ–बहिनी। उनका भाइ–बहिनी साथीजस्ता छन्। हरेक कुरा सेयर गर्ने, एकअर्काको केयर गर्ने।
दशैँमा भाइ–बहिनी घर र आफू ड्युटीमा हुँदा दुवैले एकअर्कालाई मिस गर्छन्। ‘हरेक चाडपर्वमा उनीहरुको एकदमै याद आउँछ’ चेतना भावुक हुन्छिन्, ‘त्यस्तो बेला च्याटमा हुने कुराकानीले समेत मलाई विगतमा पुर्याउँछ।’
चेतना सानै उमेरबाट घरभन्दा टाढा रहिन्। पाँच वर्ष हुँदादेखि नै उनी होस्टल बसेर स्कूल पढिन्। त्यसैले उनका लागि घर सधैँ विशेष रह्यो। स्कुल विदा भएपछि दशैँमा घर जाँदा बेग्लै रोमाञ्चकता हुन्थ्यो। उनको हकमा त्यो अहिले पनि घटेको छैन।
‘सानैदेखि घरबाहिर भएकाले होला घर बस्ने इच्छा अझै पूरा भएको छैन’ चेतना घरप्रतिको प्रेम दर्शाउँछिन्, ‘दशैँ एउटा धर्म, संस्कार र संस्कृतिको पर्व भएकाले यो मनाउनका लागि सबैभन्दा सुन्दर स्थान घर नै हो।’
चेतना कहिले कहीँ सानो छँदा मनाएको दशैँ सम्झन्छिन्। उनलाई लाग्छ जिम्मेवारी बढेसँगै रमाइलो घटेको हो कि? सानो छँदा दशैँमा लगाउन पाइने नयाँ लुगाले रोमाञ्चकता थप्थ्यो। उल्लास बढाउँथ्यो। घर जान नपाएको बेला कुनै दशैँमा उनी ती पुराना दिन सम्झेर ‘नोस्टाल्जिक’ हुन्छिन्।
सानो छँदा चेतनाले बुबाको हातबाट दक्षिणा पनि पाउँथिन्। बुवाले दिने ५० रुपैयाँको नयाँ नोटको सम्झना उनलाई अझै ताजै छ। त्यतिबेला उनलाई त्यो रकम थोरै लाग्थ्यो। ‘म उहाँलाई भन्थेँ। जम्मा यति?’, चेतना सम्झिन्छिन्, ‘बुवाको उत्तर हुन्थ्यो। धेरै पाउने त बिहेपछि हो। ज्वाइँ लिएर आएपछि।’ त्यतिबेला उनलाई प्रत्येक वर्ष दक्षिणा बढोस् भन्ने लाग्दो रहेछ।
यो बीचमा उनको जीवनले धेरै कोल्टे फेरेको छ। परिवार मात्र होइन यतिबेला उनको काँधमा देश र जनताकै जिम्मेवारी छ। ‘ती दशैँ सम्झेर अहिले पनि मलाई रमाइलो लाग्छ’, चेतना भन्छिन्, ‘परिवर्तन त संसारको रित नै हो। त्यसलाई हामी मान्छेले कसरी रोक्न सक्छौं र?’
चेतनाका लागि बिहे पछिको पहिलो दशैँ हो, यो। त्यसैले यो दशैँ उनका लागि विशेष महत्व छ। परम्पराअनुसार बिहेको पहिलो दशैँमा बुवाआमासँग टीका थाप्नैपर्ने कतिपयको भनाइ छ। यही कारण हुनसक्छ उनले दशैँमा ४ दिन बिदा पाएकी छिन्।
इलामस्थित उनको घर र माइती एक घन्टाको दूरीमा छन्। विदा सकिए लगत्तै उनी ड्युटीमा आइपुग्नेछिन्।
‘यतिका वर्षपछि घर जान पाउँदैछु भन्दा नै रमाइलो लाग्दो रहेछ’, उनी सुनाउँछिन्, ‘चार दिनको बिदामा दुईतिरै टीका लगाएर फर्किसक्नु पर्नेछ।’
Shares
प्रतिक्रिया