विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका कलाकार प्रनेश गौतम साधरण तारेखमा रिहा भएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतले कलाकार गौतमलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
न्यायाधीश बाबुराम सुवेदीको इजलासमा भएको थुनछेक बहसपछि उनलाई तत्काल साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो।
जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले प्रनेशलाई साधारण तारेखमा राखेर मुद्दाको सुनवाइ गर्न आदेश गरेको बताए।
महानगरीय अपराध महाशाखाले चलचित्र ‘विरविक्रम २’ को समीक्षा गर्दा प्रनेशले विद्युतीय कारोबार ऐनको उलंघन गरेको भन्दै जेठ २४ मा पक्राउ गरेर कारबाही थालेको थियो।
महाशाखाले चलचित्र निर्देशक मिलन चाम्लिङ राईले दिएको उजुरीका आधारमा आफै हाजिर भएका प्रनेशलाई थुनामा राखेको थियो। प्रनेशले निर्देशकको मान प्रतिष्ठामा खलल पुर्याएकाे र चलचित्रको ब्यापार व्यवसायमा घाटा पुर्याउने र झुठ्ठा प्रचार प्रसार गरी गाली गलौज गरेकोले विद्युतीय कारोबार ऐन अनुसार कारबाही थालेको थियो।
जेठ ३० गते प्रहरीले मुद्दा सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो।
सोही दिन गौतमको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
समीक्षा गरेकै आधारमा प्रनेशलाई पक्राउ गरेपछि चौतर्फी रुपमा त्यसको विरोध हुँदै आएको थियो।
प्रतिक्रिया