नेपालका पहिलो नानो स्याटलाइट (नेपाली स्याट वान) अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र(आईएसएस)बाट अन्तरिक्षमा छाड्ने समय पछि सरेको छ।
अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेन एडमिनिस्टे«सन (नासा) को गेदी परियोजनाको परीक्षणको कारण पूर्व निर्धारित समयभन्दा साढे एक घण्टा ढिलो गरी ‘नानो स्याटलाइट’ अन्तरिक्षमा छाड्ने तयारी भएको हो।
आभाष मास्केले निर्माण गरेको स्याटलाइट नेपाली समयअनुसार सोमबार दिउँसो चार बजे मात्रै नेपाली स्याट वान सहित बड्र्स थ्री परियोजनामा निर्माण गरिएको श्रीलंका र जापानको स्याटलाइट अन्तरिक्षमा छाडिनेछ।
‘पहिले निर्धारण गरिएको समय भन्दा साढे एक घण्टा ढिलो गरी अन्तरिक्षमा छाड्ने भएको छ’ मास्केले नेपालखबरसँग भने, ‘नासाको गेदी परियोजनाको लेजर परीक्षणको कारण ढिलाइ हुन लागेको हो।’ ग्लोबल इकोसिष्टम डाइनामिक्स इभेस्टिगेसन (गेदी) ले परियोजनाले अन्तरिक्ष केन्द्रबाट जंगल तथा भूपनोट विषयमा अनुसन्धान गर्दै आएको छ।
मास्केले जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा अन्तरिक्ष प्रविधि विषयमा विद्यावारिधि गर्दैछन्। आफ्नो अन्तरिक्ष कार्यक्रम नभएको देशहरुका लागि सञ्चालन गरेको बड्र्स कार्यक्रमको तेस्रो संस्करणको नेतृत्व पनि गरिरहेका छन् उनी।
५ बैशाखका दिन अमेरिका भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट एन्टारेस रकेटबाट नेपाल, श्रीलंका र जापानका नानो स्याटलाइट अन्तरिक्ष केन्द्रमा पठाइएको थियो। केन्द्रमा रहेको नानो स्याटलाइटलाई सोमबार एकै पटक अन्तरिक्षमा छाड्न लागिएको हो।
मास्केले विद्यावारिधिका क्रममा निर्माण गरेको १० सेन्टिमिटर अग्लो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर लम्बाइको १ किलो तीन सय ग्रामको स्याटलाइटको अन्तरिक्ष प्रक्षेपण खर्च भने नेपाल सरकारले बेहोरेको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नानो स्याटलाइट अन्तरिक्षमा राखिदै गरेको अवसरमा ललितपुरको खुमलटारस्थितत आफ्नो कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रम दिउँसो साढे १२ बजेबाट शुरु हुने नास्टले जनाएको छ।
प्रतिक्रिया