ad ad

समाज


प्रभु बैंकका सीओओ दिनेश, जसको सूचनाले बैंकहरु ठूलो दुर्घटनाबाट जोगिए

प्रभु बैंकका सीओओ दिनेश, जसको सूचनाले बैंकहरु ठूलो दुर्घटनाबाट जोगिए

दीपक खरेल/दीपक भट्ट
भदौ १५, २०७६ आइतबार १३:२७,

हिजो शनिबार दिनभर काठमाडौंमा सुरक्षा अवस्था सामान्य थियो। दरबारमार्ग र ठमेलमा मनोरञ्जन लिने बाहेक अरु स्थानमा मान्छेको खासै भिडभाड थिएन।

अपरान्ह ४ बजेको थियो। टेकूस्थित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीको नेतृत्वमा परिसरका प्रहरी अधिकारीहरु एउटा घटना अनुसन्धानबारे छलफल गरिरहेका थिए। छलफलमा परिसर एसपी अशोक सिंहसहित डीएसपी र प्रहरी निरीक्षकहरु समेत सहभागी थिए।

बैठक चलिरहँदा डीएसपी होविन्द्र बोगटीको मोबाइलको घण्टी बज्यो। बिदाको दिन आएको त्यो फोन प्रभु बैंकका चिफ अप्रेसन अफिसर (सीओओ) दिनेश थकालीको थियो। दिनेशले सुरक्षाको विषयमा अरुबेला पनि प्रहरीसँग काम गरेका थिए। बोगटीले उनको नम्बर चिनिहाले। केही आपत परेको हुनसक्ने ठानेर बैठककै बीचमा मोबाइल उठाए।

नभन्दै कुरा सामान्य थिएन।

‘बैंकको एटिएम सिस्टममा केही असाधारण गडबडी देखिएको छ। एउटा मान्छेले पटक–पटक असाधारण रुपमा एटीएम कार्ड प्रयोग गरेको संकेत सिस्टमले दिइरहेको छ’, प्रभु बैंकका सीओओ थकालीले डीएसपी बोगटीलाई मौखिक जानकारी दिए।

उनको शंका थियो, ‘एटीएम सर्भिस प्रोभाइडर नेप्सबाट नबिल बैंकको दरबारमार्ग बुथमा समेत केही अनाधिकृत गतिविधि भइरहेको संकेत छ।’

काठमाडौं प्रहरीका अधिकारीहरु एकै ठाउँ बसिरहेको बेला आएको त्यो सूचना महत्वपूर्ण थियो।

‘प्रभु बैंक कर्मचारीबाट एटीएम सिस्टममा केही असाधारण संकेत देखिएको भन्ने जानकारी र लोकेसन पाउनासाथ हाम्रो टोली परिचालन भइहाल्यो हो’, परिसर प्रमुख एसएसपी सुवेदी भन्छन्, ‘सही समयमा सूचना र प्रहरी परिचालन हुँदा ठूलो क्षति हुन पाएन। प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भयो।’

chinese atmनबिल बैंकको एटिएमबाट पैसा झिक्दै चिनियाँ नागरिक (तस्विरः सीसीटीभी फुटेज)

बिहानैदेखि थियो असाधारण संकेत

‘उनीहरुका गतिविधि बिहानैदेखि भइरहेको संकेत सिस्टमले दिइरहेको थियो, अलि असाधारण संकेत देखिएपछि मैले प्रहरीलाई तत्कालै जानकारी दिएँ’, उनले नेपालखबरसँग भने, ‘अरुले पनि खबर गर्नुभयो होला कि।’

दिनेशको सूचनापछि परिचालन भएको डीएसपी बोगटीको टोली दरबारमार्गस्थित नबिल बैंक एटीएम बुथ पुग्दा त्यहाँ चिनियाँ नागरिक झु लियाङआङ पैसा निकाल्दै थिए। प्रहरीले उनलाई रंगेहात नियन्त्रणमा लियो। खानतलासी गर्‍यो।

‘उनको साथबाट ४५ हजार रुपैयाँ बरामद भएपछि हामी पनि एक पटक झस्कियौं,’ अप्रेशनको नेतृत्व गरेका डिएसपी बोगटी भन्छन्, ‘झोलाबाट २० थान नक्कली एटीएम र होटल माया मनोहर बुटिकको साँचो फेला परेपछि ढुक्क भयौं।’ 

प्रहरी होटल पुग्दा झुको समूहका चारजना दुई वटा सुटकेश र झोला बोकेर बाहिरिन खोज्दै थिए। उनीहरु होटलको हरहिसाब गरेर बाहिरिने तर्खरमा थिए।

प्रहरीले नियन्त्रणमा लिएर उनीहरुसँग सोधपुछ गरिरहँदा अन्य तीन जना भाग्न सफल भए।

‘उनीहरुलाई रोकेर झोला जाँच्दा थप रकम बरामद भयो,’ एसएसपी सुवेदी भन्छन्, ‘पछिल्लो समय प्रहरीसँग बैंकिङ संस्थाको साझेदारी बढेको छ। सामुदाय साझेदारी कार्यक्रमले गर्दा एउटा सम्भावित ठूलो दुर्घटना जोगिएको छ।’

एटीएम सिस्टमको एउटा स्विच ह्याक
नेपाली बैंकका एटीएमबाट अनाधिकृत रूपमा रकम निकाल्दै गर्दा पक्राउ परेका पाँचै जना चिनियाँ नागरिकले भिसा कार्ड सिष्टमको एउटा स्विच ह्याक गरेको खुलेको छ।

बैंकका एटीएम मसिनहरुबाट मास्टर, युनी–पेसहितका कार्डहरुबाट पैसा निकाल्न सकिन्छ। नेपालमा भिसा sf8{ सबैभन्दा बढी प्रयोगमा छ।

अनुसन्धान अधिकारीहरु त्यो स्वीच ह्याक गर्ने व्यक्ति विदेशमा रहेको र यसमा नेपालीहरूको पनि संलग्नता हुन सक्ने शंका गर्छन्।

अधिकारीहरूका अनुसार भिसा सिष्टमले उपलब्ध गराएका चारमध्ये एउटा स्विच ह्याक भएको हो। यसको अनुसन्धान प्रहरी, नेपाल राष्ट्र बैंक र पीडित बैंकहरूले समेत गरिररहेका छन्।

atam chinese arrestedएटीएमबाट अनाधिकृतक रुपमा पैसा झिक्ने ५ चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। तस्विरः दीपक खरेल

प्रहरी अनुसन्धानमा दुई समूहमा आठ चिनियाँ नागरिक पैसा झिक्न भरियाका रुपमा नेपाल भित्रिएको खुलेको छ। उनीहरू शुक्रबार काठमाडौं भित्रिएका थिए। 

एसएसपी सुवेदी भन्छन्, ‘यसमा नेपाली नागरिक र अज्ञात स्थलमा बसेर निर्देशन दिने व्यक्तिहरू समेत संलग्न रहेको आशंका गरेका छौँ।’

नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार पक्राउ पर्ने पाँचै जना चिनियाँ नागरिक हुन्। प्रहरीका अनुसार उनीहरू क्रमशः चेन बिन बिन, झु लियाङ आङ, क्वियु युङक्विङ, लुओ जिआल्बी र लिन बिनमेङ हुन्।

उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुबाट उक्त नेपाली र विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड एक एक थान बरामद गरेको छ।

पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ। पाटन उच्च अदालतमा पेस गरिएका उनीहरूलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको हो।

भिडियोमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी

चिनियाँ नागरिकबाट असुरक्षित रहेको थाहा पाएपछि शनिबार राति अधिकांश बैंकहरूले एटीएम सिस्टम डाउन गरेका थिए।

राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ह्याकरले ५० बढी एटीएम काउन्टर प्रयोग गरेको र अहिलेसम्म १ करोड ६८ लाख ५४ हजार ४२० रुपैयाँ निकालेको बताए।

सर्वसाधारण निक्षेपकर्ता आत्तिनु पर्दैन
नेपाल बैंकर्स संघले सर्वसाधारण निक्षेपकर्ता यो घटनाले आत्तिनु नपर्ने जनाएको छ। संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले धेरै ठूलो क्षति नभएको बताउँदै सबै रकम बैंकले व्यहोर्ने बताए।

उनले भने, ‘धेरै ठूलो क्षति भएको छैन। आत्तिनु पर्ने अवस्था होइन। नेपाल प्रहरीको पहलमा सबै पक्राउ परेका छन्।’

प्रहरीका अनुसार मालवेयर अट्याक मार्फत भिसाकार्डमा इफेक्ट गरेर चारमध्ये एक स्विचबाट रकम निकालिएको छ। त्यो कुन स्विच हो भन्ने अनुसन्धान भइरहेको एसएसपी सुवेदी बताउँछन्। कुन स्विचमा अट्याक भएको छ, त्यो फरेन्सिक रिपोर्टपछि थाह हुने उनले बताए।

‘बैकर्स संघको पहलमा साईबर सुरक्षाविद्को एउटा टोलीले घटनाको छुट्टै अनुसन्धान थालेको छ।

‘यो नयाँ थ्रेट देखियो, हामी साईबर सेक्युरिटीमा थप लगानी गर्नेछौं’, अध्यक्ष ढुंगाना भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .