ad ad

समाज


निधारभरी सेतो टीका लगाएर नयाँ निवास सरे गण्डकीका मुख्यमन्त्री

निधारभरी सेतो टीका लगाएर नयाँ निवास सरे गण्डकीका मुख्यमन्त्री

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार १३:२९,

गुरुङहरु दशैँमा सेतो टीका लगाउँछन्। द्वन्द्वात्मक भौतिकवादका कट्टर अनुयायी लामिछाने थरका लमजुङे मुखिया खलकमा जन्मेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मौका हेरेर रातो र सेतो दुबै टीका चलाउँछन्।

रातो रंग त वामपन्थीको प्रिय नै हुने भयो। तर, शुक्रबार उनी गेरु बस्त्रधारी पण्डितको अगाडि निधारभर सेतो टीकासहित झुल्किए। कारण थियो, उनी मुख्यमन्त्रीको रुपमा नयाँ निवास सर्दै थिए।

नयाँ काम थाल्दा गुरुङहरुमा सगुन चल्छ। सगुनमा रक्सी पनि हुन्छ। सगुनसँगै स्यास्या (आशिर्वाद) पनि दिइन्छ। सायद, मुख्यमन्त्रीको रुपमा नयाँघरमा सर्दा उनका आफन्तहरुले शुभाशिष दिए अनि निधारमा टीका पनि लगाइदिए। त्यो त ठीकै थियो।

उनले कन्यालाई अगाडि लगाउन पनि भुलेनन्। पछि मुख्यमन्त्री गुरुङ फेरि वैदिक कर्मकाण्डमा फर्किए। गृह प्रवेशको क्रममा हिन्दु पण्डितले रातो टीका र अक्षताले पूजापाठ गराए। गृह प्रवेशको साइत जुराए अनि नरिबल फुटाएर उनलाई निवास भित्र पुर्‍याए।

गण्डकी प्रदेश सरकार आर्थिक वर्ष २०७६/०७७ को बजेटको तयारीमा छ। पूर्वाधार निर्माणलाई जोड दिँदै सम्मृद्ध प्रदेश बनाउने उद्घोषसहितको बजेट आउने उद्घोष नीति तथा कार्यक्रममार्फत गरिसकिएको छ।

तर, पूर्वाधार निर्माण सोचेजस्तो सजिलो छैन भन्ने मुख्यमन्त्री पृथ्वीसुब्बा नबुझ्ने कुरै भएन। मुख्यमन्त्रीको रुपमा आफ्नो कार्यकाल फलामको च्यूराजस्तै भएको पनि उनले बुझेकै छन्। सायद, त्यसैले उनी नयाँ आवासमा सर्दा बढी धार्मिक देखिए।

मुख्यमन्त्री भएको १५ महिनापछि उनी नयाँ क्वार्टरमा सरेका हुन्। नयाँ क्वार्टर प्रदेश सरकारकै सम्पत्ति होइन। जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओको आवासको रुपमा बनेको भवन मुख्यमन्त्रीको भागमा पर्‍यो।

यो भवन बनाउन करिब सवा २ करोड खर्च भएको छ। भवन बनाउने ठेक्का सिएम गौचन पफेक्ट कम्पनीले लिएको थियो। २०७३ साल माघ २७ गते भ्याटबाहेक २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँमा सम्झौता गरिएको थियो।

भवन २०७४ पुस २५ मै सकिनु पर्थ्याे। तर, यो भवन तोकिएको समयमा सकिएन। करिब १५ महिनापछि भवन बन्यो। लागत भने उस्तै रह्यो।

भवनमा सुरक्षागार्डको कक्षसहित बैठक कक्ष, चारवटा बेडरुमहरु छन्। यसअघि उनी पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउसमा बस्दै आएका थिए। उनी बसेको महानगरपालिकाको गेस्टहाउस ६० लाख रुपैयाँ खर्चेर जीर्णोद्वार गरिएको थियो। भवन मर्मत गर्न सरकारले २५ लाख उपलब्ध गराएको थियो।

मुख्यमन्त्री सिडिओको क्वार्टरमा सरे पनि प्रदेशका अन्य मन्त्रीहरु भने विभिन्न सरकारी भवनमा बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .