ad ad

समाज


सरकार झस्काउने प्रकाण्डको त्यो डायरी (दस्तावेजसहित)

सरकार झस्काउने प्रकाण्डको त्यो डायरी (दस्तावेजसहित)

दीपक खरेल
जेठ ३१, २०७६ शुक्रबार १२:४५,

नेपालखबरलाई प्राप्त नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका यी निर्णयहरु अहिलेका होइनन्। २०७५ असार र साउनमा पार्टी केन्द्रीय समितिले तयार पारेका हुन्।

डायरीमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) तथा शेरबहादुर देउवासहितलाई ध्वस्त (सेवोटेज) गर्ने सहितका योजना उल्लेख छन्।

के पूर्व माओवादी संगठनले तयार पारेका यी हिंसात्मक योजनाबारे सरकार बेखबर थियो त?

‘सुरक्षा अंग समक्ष यी निर्णय आइसकेका थिए तर योजना कार्यान्वयन गरिहाल्लान् भन्ने आँकलन गरिएन’, उच्च सुरक्षा स्रोत भन्छ, ‘पछिल्ला गतिविधि सोहीअनुसार अघि बढ्दै गएपछि स्थिति गम्भीर बनेको हो। सरकार त्यो समूहलाई प्रतिबन्ध लगाउने निर्णयमा पुगेको हो।’

विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयबारे सत्तारुढ नेकपाभित्रै विवाद उत्पन्न हुँदा त्यसको जावफको विषय बन्ने गरेको छ, खड्गबहादुर विश्वकर्मा प्रकाण्डको हस्तलिखित डायरी।

डायरीमा के छ?
नेपालखबरलाई उच्च स्रोतबाट प्राप्त त्यो डायरी प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्रमाणित गरिएको दस्तावेज हो। जसमा २०७५ को असार र साउनको पहिलो साता भूमिगत स्थानमा भएका विप्लव समूहका केन्द्रीय कमाण्ड बैठकका छलफल, टिप्पणी सिलसिलावद्ध रुपमा उल्लेख छन्। केन्द्रीय तहको सो बैठकको टिपोट नेत्रविक्रम चन्द विप्लवपछि दोस्रो बरियताका नेता प्रकाण्डले उतारेका हुन्। बैठकमा स्थायी समिति सदस्यहरु प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वली र सन्तोष बुढामगर समतेले आ–आफ्ना धारणा र योजना राखेका डायरीमा उल्लेख छ।

डायरीमा उल्लेख गरिएको विवरणअनुसार सबै बैठक पार्टी महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न भएका हुन्। बैठकमा १३ सदस्यीय पोलिटब्युरो र क्षेत्रीय ब्युरो प्रमुखहरुले समेत आ–आफ्नो प्रगति विवरण तथा भावी योजना अघि सारेको देखिन्छ।

बैठकले राजनीतिक रुपमा ‘एकीकृत जनक्रान्ति’ मुख्य कार्यदिशा बनाउने निर्णय गरेको छ। यसका लागि ‘जनसेना विभाग’ गठन गर्ने तथा ‘जनमुक्ति सेना’ भर्ना, तालिम र बन्दोबस्ती प्रभावकारी बनाउने उल्लेख छ। यो बाहेक पनि बैठकले जनसेनाका विषयमा ‘महत्वपूर्ण’ निर्णय लिएको डायरीबाट खुल्छ।

‘सो निर्णय पछि माध्यमबाट जानकारी गराइनेछ’, डायरीमा भनिएको छ तर, त्यो ‘माध्यम’ के हो भन्ने खुलाइएको छैन। भौतिक कारवाही योजनावद्ध र रणनीतिक बनाउने समेत उल्लेख छ।

कोड भाषामा नेताको नाम
प्रकाण्डबाट बरामद सो डायरीमा अंग्रेजी भाषाको छोटो स्वरुपमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतालाई ‘सेवोटेज’ गर्ने उल्लेख छ। यी योजनाहरु मिति तोकेरै कार्यान्वयन गर्ने विषयमा छलफल भएका छन्।

डायरीमा मंसिर २५ पछि पूर्वमा प्रधानमन्त्री ओली र पश्चिममा प्रचण्ड उपरको कारवाही गर्ने उल्लेख छ। दस्तावेजमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग झापामा आफ्नो मुख्य टक्कर रहेको बताइएको छ।

विप्वलव समूहले प्रहरीका एसएसपीसम्मलाई ‘सेवोटेज’ गर्ने योजना बनाएको देखिन्छ। डायरीमा नेपाल प्रहरीका एसपी भिम दाहालको नामै उल्लेख गरी भौतिक कारवाही सूचीमा राखिएको छ।

बरामद डायरीअनुसार भारतीय लगानीका ठूला योजनामा आक्रमण, क्षति र ध्वस्त पार्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ। बुटवल, जीतगढीमा बनाउन लागिएको भारतीय गोरखा निवृत्तीभरण (पेन्सन क्याम्प) हटाउन जनसंर्घष गर्नेदेखि गोरखा भर्ती खारेजसम्मका निर्णय कार्यान्वयन गर्न कारवाही चलाउने योजना डायरीबाट खुल्छ।

भारतीय लगानीमा निर्माणाधीन माथिल्लो कर्णाली र अरुण तेस्रोमा मंसिर २५ मा कारवाही गर्ने भन्ने योजनामा देखिन्छ। सो मितिपछि श्रृंखलावद्ध रुपमा ती आयोजना स्थलमा विस्फोटका घटना भएका थिए। काठमाडौंस्थित भारतीय दूतावासका ५ करोड रुपैयाँका योजना समेत पार्टीको प्रमुख निशानामा रहेको डायरीले प्रष्ट देखाउँछ।

मिटर ब्याजीको पैसा लुट्ने योजना 
केन्द्रीय समितिको बैठकले ७७ वटै जिल्लामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई मंसिर १५ बाट कारवाही सूचीमा राखेको थियो। त्यसको जिम्मा जिल्ला कमाण्डलाई दिइएको डायरीबाट खुल्छ। प्रत्येक ब्युरोका लागि १ ब्युरो १ म्यानपावर ‘सेवोटेज’ गर्न मिति तोकेरै जिम्मेवारी दिइएको देखिन्छ।

वैदेशिक रोजगार व्यवसायी महासंघ अध्यक्ष रोहण गुरुङको घरमा सोही योजनाअनुसार आक्रमण भएको पुष्टि हुन्छ। ‘सुदखोर’ वित्तिय संस्था (मिटर ब्याज) माथि प्रत्येक जिल्लामा १–१ वटा ‘सेवोटेज’ गर्ने र पैसा लुट्ने योजना समेत बैठकले पारित गरेको देखिन्छ।

‘मिटर ब्याज असुल्नेमाथि प्रत्येक जिल्लामा एक–एक सेवोटेज गर्ने र पैसा लग्ने’, निर्णयमा भनिएको छ।

पप्पु कन्स्ट्रक्सनलाई ‘लार्ज स्केलमा सेवोटेज गर्ने’ समेत योजनामा उल्लेख छ। खोटो कम्पनीहरुलाई कार्तिक १५ बाट कारवाही गर्ने, भ्रष्ट कर्मचारीलाई पुस २५ गते ‘सेवोटेज’ गर्नेजस्ता निर्णयका विवरण डायरीमा छन्।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका दोस्रो बरियताका नेता तथा पूर्वमन्त्री प्रकाण्ड २२ साउन २०७५ मा हेटौंडाबाट काठमाडौं आउँदैगर्दा फर्पिङ क्षेत्रबाट पक्राउ परे। उनी चढेको बा १४ च २०२९ नम्बरको जीपलाई प्रहरी विशेष ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो। जीपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य बिमर्श र मनबहादुर श्रेष्ठ थिए।

पक्राउपछि प्रहरीले उनको कपनस्थित डेरामा खानतलासी गर्यो। त्यही खानतलासीका क्रममा हिंसात्मक योजना, रणनीति तथा निर्णयहरु भएको डायरी सुरक्षाकर्मीको हातमा पुगेको हो।

प्रहरीको विशेष ब्युरो, राष्ट्रिय अनुसन्धान विभाग र सेनाको गुप्तचर संयन्त्रले विप्लव समूहका विभिन्न तहका बैठकमा भएका निर्णयको फेहरिस्त राखेको थियो। जसको जानकारी राष्ट्रिय सुरक्षा परिषद् मार्फत र प्रत्यक्ष भेटेर समेत सुरक्षा अधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .