ad ad

समाज


राउटे युवतीहरु यौन शोषणमा परेको भिडियो जब युट्युबबाट बाहिरियो....

राउटे युवतीहरु यौन शोषणमा परेको भिडियो जब युट्युबबाट बाहिरियो....

शुरबहादुर सिंह
असार १४, २०७८ सोमबार २:१९,

गत जेठ २३ गते राउटे युवतीमाथि सुर्खेतको गुर्भाकोट नगरपालिकाका युवाहरुले दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भयो । आपत्तिजनक अवस्थाको त्यो भिडियोले धेरैलाई तरङ्गित पनि बनाइदियो।

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको युट्युब भिडियो जब बाहिरियो धेरैले राउटे युवतीमाथि त्यो व्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने मत राखे । कर्णालीका जंगलहरुमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका निर्दोष युवतीलाई होटलमा पु¥याएर यौन दुव्र्यवहार गरेको आपत्तिजनक भिडियो भाइरल भएपछि राष्ट्रिय मानवअधिकार आयोगले सरकारको ध्यानाकर्षण पनि गरायो।

आयोगको ध्यानाकर्षणपश्चात् सुर्खेत प्रहरीले गुर्भाकोट नगरपालिका– ९ सुर्खेतका चमन घर्ती (जोगी), भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनसहित तीन जनालाई पक्राउ गर्यो । पछिल्लो समयमा राउटे युवतीमाथि भएको यौन दुव्र्यवहार प्रसारण गर्ने युट्युब च्यानललाई पनि प्रहरीले बन्द गरेको छ।

युवतीमाथि यौन दुराचार गर्ने ती युवाहरुलाई भने मानव ओसारपसार र जबर्जस्ती करणी कसुरको मुद्दा लगाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। अहिले राउटे बस्तीमा अन्य समुदायको मान्छे प्रवेश निषेध गरिएको छ।

आफ्नै भाषा, संस्कृति र जीवनशैलीमा रमाउने राउटे जाति र उनीहरुका चेलीहरुमाथि गरेको अश्लील कर्मको वास्तविक अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोग जिल्ला कार्यालय जुम्लाको चार सदस्यीय टोलीले दुई साताअघि गुर्भाकोट नगरपालिका ११ सुर्खेत भेरी नदी किनारस्थित आँपसोतीमा रहेको बस्तीको स्थलगत अनुगमन तथा अनुसन्धान गरेको छ।

उनीहरुको मानवअधिकार, पोषण तथा सामाजिक सुरक्षा, खाद्य र साँस्कृतिक अधिकारबारे स्थलगत अनुगमन, अनुसन्धान गरेको आयोग जुम्लाको टोलीले आफ्नै संस्कार र स्वतन्त्रतामा जिउँदै आएको राउटे जाति अब असुरक्षित बन्दै गएको पाएको छ । असुरक्षाका विभिन्न कारणहरुमध्ये प्रमुख कारण राउटेहरु गैरराउटेको नजिकतामा आउनु नै देखिएको मानवअधिकार अधिकृत धनराज शाहीले बताए।

‘हामीले राउटे जातिभित्रका रास्कोटी, कल्याल र सोमवंशी मुखियाहरु सूर्यनारायण शाही, बीरबहादुर शाही र दिलबहादुर शाहीसँग बस्तीमै पुगेर छलफल गर्यौं,’ अधिकृत शाहीले भने, ‘तीनै मुखियाहरुले आफ्नो छुट्टै राज्य भएको बताए। द्यपि खाद्य जोहोका लागि गैरराउटेहरु नजिक आउनुपरेको उहाँहरुको भनाई थियो।’ अनुगमनको क्रममा राउटे बालबालिका तथा महिलाहरुमा अत्यधिक कुपोषण रहेको पाइएको पनि उनले जानकारी दिए।

‘संस्कृति, रहनसहन र भेषभूषा आफ्नै रहेपनि खानपानका केही कुरामा उनीहरुमा फेरबदल आएको पायौ । पछिल्लो समयमा राउटेहरुले मदिरापान बढी गर्ने, सूर्ती खाने, बाहिरबाट जाने मान्छेहरुसँग पैसा माग्ने र त्यसबाट पनि धुम्रपान, मद्यपानमै खर्च गर्दा रहेछन्,’ उनले भने।

बाह्य संस्कृतिको प्रभाव रोक्न र उनीहरुको पहिचान एवं अस्तित्व बचाउन सरकारले नीतिगत व्यवस्था गरी संरक्षण ऐन ल्याउनुपर्ने सुझाब शाहीको छ। आफूलाई जंगलको राजा मान्ने, फिरन्ते जीवनमा रमाउने, सरसफाईसँग ध्यान नदिने, काठका सामग्रीहरु जस्तै, ठेको, ठाडु, बेलना, तरैनी, कोसी, चन्नौटो (नुन, खुर्सानी राख्ने) बनाउने, ती समानहरु गैरराउटेहरुसँग पैसा नभई वस्तुसँग विनिमय मात्र गर्ने राउटेहरुको पछिल्लो दिनचर्या अस्तव्यस्त मात्र छैन, सङ्कटपूर्ण अवस्थामा पुगेको छ।

बाह्य संस्कृतिको अतिक्रमणले उनीहरु पूर्णरुपले आफ्नै संस्कृति पछ्याएको पाईंदैन । सहजैरुपमा गैरराउटेहरुको संस्कृति पनि उनीहरुले ग्रहण गर्न सकेका छैनन् । जंगलमा बाँदर, गुनाको शिकार गर्ने, कन्दमूल खाने र कर्णाली तथा सुदूरपश्चिमका जंगलमा आफ्नै जीवनशैलीमा बस्दै आएको राउटेहरु अहिले अध्ययन, अनुसन्धान र राहत प्रदान गर्ने नाममा खतराको शिकार बन्दै आएका छन्।

अव्यवस्थित विकास, डोजरको जथाभावी प्रयोगले जंगलमा बस्ने राउटेहरुको बासस्थान ध्वस्त हुँदै गएको छ । सुरक्षित राज्यका रुपमा मानिएको जंगल मासिँदै गएपछि गैरराउटेहरुको नजिक आउन उनीहरु बाध्य भए । मेसिनरी, औद्योगिक र आधुनिकरणबाट निर्मित सामग्रीहरुले हातले निर्माण गरेका राउटेका सामग्रीहरुलाई राम्रैसँग विस्थापित गराइदिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .