ad ad

समाज


मुस्ताङमा खोप ओसार्न बाढीको बाधा, स्वास्थ्यकर्मीले यसरी तारे खोला (भिडिओ)

मुस्ताङमा खोप ओसार्न बाढीको बाधा, स्वास्थ्यकर्मीले यसरी तारे खोला (भिडिओ)

नेपालखबर
असार ३, २०७८ बिहिबार ९:३७,

असार १ गते कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउनु पर्ने थियो। स्वास्थ्यकर्मीले मुस्ताङको कोबाङ र टुकुचेमा जेष्ठ नागरिकलाई बोलाइसकेका थिए।

१ सय १९ घरधुरी रहेको टुकुचे थासाङ गाउपालिकाको माथिल्लो भेगमा रहेको वडा हो। जहाँको जनसंख्या ६ सय ३७ छ। यस वडालाई थासाङ अर्थात् थाक सात्सेको अन्तिम वडा भन्ने गरिन्छ।

कोबाङ कालीगन्डकीको किनारमा रहेको गाउँ हो। कोवाङको जनसङ्ख्या ६ सय १६ छ।

स्थानीय स्वास्थ्य चौकीमा खोपको प्रतीक्षामा थिए। तर, खोलामा बाढी आएर खोप ल्याउन नसकिने भयो।

हिमाली जिल्ला मुस्ताङमा ठूलो वर्षा हुनु दुर्लभ हो। बाढी आउने कल्पना पनि गरिँदैन। तर त्यो दिन छापताङ् खोलाले रुप फेर्‍यो। उर्लेर आएको छापताङ् खोला तर्न सकिने अवस्था थिएन।

खोप लेतेस्थित कोल्डस्टोरमा राखिएको थियो। त्यहाँबाट थासाङ गाउँपालिकाको गाडीमा खोप लिएर गएका चालकले गाडी तार्ने प्रयास गरे। तर सफल भएनन्।

खोप कसरी तार्ने? स्वास्थ्यकर्मी र चालकले जुक्ति लगाउन थाले। अन्याथा स्थानीयलाई फेरि अर्को दिन बोलाउनु पर्ने हुन्थ्यो। हिमाली खोलाको चिसोमा यसै पनि हेलिन सकिँदैन।

छापताङ् खोलामा अहिले पुल बन्दै छ। पुल बनिरहेको स्थानबाट उनीहरुले एउटा पाइप तेर्स्याए र त्यसैमा झुण्ड्याएर खोप तारे।

लेतेतर्फबाट चालक र एक सहयोगीले पाइपमा 'भ्याक्सिन क्यारिअर बक्स' लाई पाइपमा झुण्डाएर टुकुचेतर्फ रहेका स्वास्थ्यकर्मीलाई पास गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

पीपीई लगाएका ती स्वास्थ्यकर्मीले खतरा मोल्दै खोलाको एउटा ढुंगामा अडिएर खोप तान्छन्।

खोप ल्याउन गरिएको संघर्षलाई टुकुचे स्वास्थ्य चौकीमा कार्यरत अनमी एन्जिला थकालीले आफ्नो टिकटकमा पोस्ट गरेकी छन्।

उनले लेखेकी छन्, 'लेतेको छापताङ् खोला बढेकोले जेष्ठ नागरिकहरुको कोभिड १९ विरुद्ध खोपको दोस्रो डोज ल्याउन गरिएको संघर्ष।'  

मुस्ताङ ठिनीकी थकालीले छापताङ् खोला यसरी तर्नै नसकिने गरेर बढेको आफूले नदेखेको बताइन्।

'जेष्ठ नागरिकहरु खोपको प्रतीक्षामा हुनुहुन्थ्यो। जसरी पनि खोला तार्नु हाम्रो दायित्व बन्यो,' नेपालखबरसँग उनले भनिन्, 'जहाँ समस्या त्यहाँ उपाय। यही जुक्ति लगाएर खोला तार्‍यौँ।'

सो भिडिओ सविन केसीले खिचेको उनले बताइन्।

उनले खोप लगाइसकेपछि फर्किँदाको भिडिओ समेत पोस्ट गरेकी छन्।

'स्वास्थ्यकर्मी साथीहरु कोभिड खोप अभियान सञ्चालन गरेर फर्किँदाको बिजोग' भन्दै उनले साङ्लो बनाएर स्वास्थ्यकर्मीहरु खोला तरिरहेको भिडिओ राखेकी छन्। उर्लँदो मार्फा खेला तार्न दुई पुरुष स्वास्थ्यकर्मीले महिला स्वास्थ्यकर्मीलाई सहयोग गरेको भिडिओमा देख्न सकिन्छ।

यस्तै उनले खोप लगाइरहेका जेष्ठ नागरिकहरुको तस्बिर पोष्ट गर्दै अभियान सफल भएकोमा खुसी व्यक्त गरेकी छन्।

थासाङ गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोषकुमार खत्रीले राष्ट्रिय प्राथमिकता अनुसार जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुलाई कोरोनाविरुद्धको खोप लगाइरहेको बताए।

छापताङ् खोला र मार्फा खोला बढ्दा आवतजावतमा समस्या भएको उनको भनाइ छ। 

यो भिडिओ थकालीको टिकटकबाट डाउनलोड गरेर थुप्रै ट्विटर र फेसबुक प्रयोगकर्ताले पोस्ट गरेका छन्। उनीहरुले स्वास्थ्यकर्मीको यो प्रयासलाई प्रशंसा गरेका छन्।

थासाङ गाउँपालिकाका स्वास्थ्य प्रमुख सीताराम कार्कीले मौसमका कारण खोप कार्यक्रममा अप्ठ्यारो आएको बताए।

'मौसमका कारण जेष्ठ नागरिकहरु खोप केन्द्रसम्म आउन समस्या भएको छ,' उनले भने, 'अप्ठ्याराका बीच हामीले काम अघि बढाइरहेका छौं।'

कोरोनाको दोस्रो लहरमा स्वास्थ्यकर्मीलाई खोप अभियानमा मनसुनले अप्ठ्यारो पारेको बताउँदै ट्विटर प्रयोगकर्ता सन्देशले यो भिडिओ ट्विट गरेका छन्।

उनको ट्विटरबाट २३ हजार भन्दा बढीले हेरेको उक्त भिडिओ ४ सय ७० पटक रिट्विट भएको छ।

श्रीलंकाका लागि अफगानिस्तानका राजदूत असरफ हैदरीले उक्त भिडियो ट्विट गर्दै भनेका छन्, 'धनी ठाउँका मानिसहरुले अपनाउने उपभोक्तावाद र अनावश्यकरुपमा पानी, ऊर्जा, खाना, प्लास्टिक र अन्य वस्तु खेर फाल्ने उनीहरुको बानीले जलवायु परिवर्तनमा प्रत्यक्षरुपमा असर गरिरहेको हुन्छ। नेपाल, अफगानिस्तान लगायतका एसिया र अफ्रिकाका विश्वका सबैभन्दा गरिबहरुले त्यसको मूल्य चुकाइरहेका हुन्छन्।'

अहिलेसम्म नेपालले खरिद र अनुदानबाट गरी ४२ लाख ४८ हजार डोज खोप प्राप्त गरेको खोप प्राप्त गरेको छ। जसमध्ये १० लाख डोज भारतले दिएको,  १० लाख भारतसँग किनेको र १८ लाख डोज  चीनले दिएको हो। त्यस्तै कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई भारतबाट १ लाख डोज खोप प्राप्त भएको छ।

दोस्रो डोज खोप लगाउने मिति गुज्रिसक्दा पनि सरकारले खोप ल्याउन सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .