ad ad

समाज


एसइई मूल्यांकन : विद्यार्थीलाई ८० भन्दा बढी नम्बर दिँदा अब कारण खुलाउनु पर्ने

एसइई मूल्यांकन : विद्यार्थीलाई ८० भन्दा बढी नम्बर दिँदा अब कारण खुलाउनु पर्ने

नेपालखबर
असार १, २०७८ मंगलबार २:२६,

यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को मूल्यांकन गर्दा कुनै पनि विद्यार्थीले ८० भन्दा धेरै अंक ल्याए शिक्षकले कारण खुलाउनु पर्ने भएको छ।

शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिए त्यसको कारण खुलाउनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। बोर्डले गत वर्ष जस्तै यस वर्ष पनि एसइईका विद्यार्थीको मूल्यांकन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिएको छ।

कोभिड महामारीको कारण गत वर्षजस्तै यस वर्ष पनि एसइई परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले विद्यालयको आन्तकिर मूल्यांकनकै आधारमा विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी अघि बढाएको छ।

केही दिनअघि बसेको बोर्डको बैठकले कुनै पनि विषयमा विद्यार्थीले ८० भन्दा बढी अंक ल्याए शिक्षकले त्यसको कारण खुलाउनुपर्ने नियम बनाएको हो। गत वर्षको मूल्यांकनमा विद्यालयले जथाभावी अंक दिँदा विद्यार्थीको मूल्यांकनमै प्रश्न उठेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार विगतबाट पाठ सिक्दै ८० नम्बर भन्दा माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधि बनाइएको छ।

‘गत वर्ष विद्यालयले विद्यार्थीको मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको पाइएको थियो। हामीले शिक्षकमाथि विश्वास गर्यौं, तर उहाँहरुले मर्यादा कायम राख्नुभएन,’ अर्यालले भने, ‘कहिल्यै जिपिए ४ नल्याउने विद्यार्थीले पनि ४ ल्याएको देखियो। यस्तो विकृति रोक्न यस वर्षदेखि यस्तो व्यवस्था गरिएको हो।’

विद्यार्थीको मूल्यांकनको मार्यादा कायम राख्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिसमेत गठन गर्ने व्यबस्था गरिएको बोर्डले जनाएको छ। प्रधानाध्यापक संयोजक रहेन उक्त समितिमा सम्बन्धित विद्यालयका गणित, अंग्रेजी, विज्ञान विषय पढाउने शिककका साथै एकजना वरिष्ठ शिक्षक रहने व्यवस्था गरिएको छ।

विद्यार्थीको हाजिरी र प्रस्तुतिलाई आधार मानेर २० प्रतिशत, त्रैमासिक परीक्षाको मूल्यांकनलाई आधार मानेर ५५ प्रतिशत र प्रयोगात्मक परीक्षाको नतिजालाई आधार मानेर २५ प्रतिशतसम्म अंक दिन सकिने कार्यविधि बोर्डले तय गरेको छ।

यस वर्षको एसइई नतिजा आगामी साउन १५ सम्ममा सार्वजनिक गरिसक्ने बोर्डको तयारी छ। त्यसका लागि यही असार १५ गतेसम्म देशैभरीका विद्यालयहरुल्े विद्यार्थीको मूल्यांकन नतिजा केन्द्रमा पठाइसक्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .