ad ad

समाज


भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने इच्छा

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने इच्छा

रमेश केसी
जेठ २६, २०७८ बुधबार १४:७,

हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे।

हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर झरेको सम्झँदै उनले भने, ‘चैनपुरमा औँलामा गन्ने घरहरु थिए। चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौं, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला।’

उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए। उनका दुई वटा घर थिए। उनलाई एक भेडा रु ५० देखि एक सयसम्ममा बिक्री गर्थे।

‘लाग्छ त्यतिबेलाको रु एक सय ठूलो थियो। अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन’ उनले भने।

‘त्यतिबेला गाउँमा स्कुल थिएन। पढ्नु पर्छ भन्ने थाहा पनि भएन। १२ वर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जिवन विताउन थालेको हौंँ’ मनबहादुरले भने, ‘म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए। हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ-नौ जना ग्वाला (हेर्ने मान्छे), साथमा तीन-चार वटा कुकुर पनि थिए। धनगढी र महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट सामान ल्याउथेँ। त्यतिखेर यातायातका साधन भनेका नै भेडा, बाख्राहरु थिए।’

खच्चर धेरै समयपछि आएको महतको भनाइ छ।

उनले भने, ‘त्यतिबेलाको जमना थियो। भेडामा सामान हुन्थ्यो। गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं। गाउँले दाजुभाइहरुले माया गर्थे। अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन्। अब त बुढो भयौं, तागत छैन। हिँड्दा हिँड्दै खुट्टा लट्पटिन्छन। अब सकिँदैन, विस्तारै घटाउनु पर्यो।’

भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको र छोरा अमेरिका जाँदा रु ९ लाख पठाएको बताए। अहिले छोरा अमेरिकामा नै रहेको उनको भनाइ छ।

‘छोराले उतै विवाह गर्यो। उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर आउ भन्छ’ उनले भने, ‘घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरेँ। अहिले पनि घरमा ११ जनाको परिवार छ। श्रीमती वितेको भने केही वर्ष भयो। आफ्नो जिन्दगी भने दुःख गर्दै खायो।’

उनले मर्नुभन्दा अगाडि एकचोटि अमेरिका घुम्ने इच्छा रहेको सुनाए।

‘अब एकचोटी मर्नुभन्दा अगाडि अमेरिका घुम्ने मन छ। छोराले पनि अमेरिका लिन्छु भन्या छ। तर क्या अर्नु (के गर्नु) देशभरी यस्तै छ’ उनले भने, ‘मान्छे माहामारीका कारण घान हुन लाग्याका छन् (धेरैको संख्यामा मर्न लागेका)। बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो। नत्र सकियो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .