समाज


थोत्रो साइकलको पछाडि झुण्डिएको स्टिकरले फर्काएको खुसी

बलबहादुर वाइबा


जनार्दन पोखरेल
सर्लाही, जेठ २६

नाम बलबहादुर वाइबा, वर्ष ५५। ठेगाना हरिवन- ५ घुर्कौली, सर्लाही। तर आफ्नो यो परिचय उनी आफैं अरूलाई बताउन सक्दैनन्।

हृष्टपुष्ट छन्। भित्री मनका बाठा पनि। तर बोल्न र लेखपढ गर्न जान्दैनन्।

बलबहादुरको बोली प्रस्ट छैन। तामाङ भाषामा लटरपटर अलिअलि बोल्छन्। जो कोहीले उनको बोली बुझ्दैनन्। धेरै संगत गरेका केही छिमेकी मात्रै उनले भन्न खोजेको कुरो बुझ्छन्।

नबुझ्नेलाई उनी हाउभाउबाट भए पनि आफ्ना कुरा बुझाउने प्रयत्न गर्छन्। यही शैलीले उनको जीवन र घर-व्यवहार चलिरहेको छ। उनका एक दाजु र एक बहिनी छन्, तर उनीहरू पनि उनीजस्तै, प्रस्ट बोल्न नसक्ने।

कसैको कुभलो नचिताउने, सधैँ हाँसीखुसी रहने स्वभाव। गाउँघरमा बनिबुतो गरेर दाजु र बहिनीलाईसमेत पाल्दै आएका बलबहादुरले यसैगरी जीवनको ५४ वसन्त पार गरे। तर गएको कात्तिक ९ गते (दसैंको नवमी) का दिन उनको जीवनमा ठूलो आपत्त आइपर्‍याे।

195299010 550165776145061 3542466469303780735 n

बलबहादुर कात्तिक ७ गते घरबाट साइकल चढेर सर्लाहीकै बागमती नगरपालिका– ७, राजघाट आफ्नी भाञ्जी लक्ष्मीको घर गए। उनको घरबाट भाञ्जीको घर करिब २० किमि टाढा पर्छ।

दुई दिन घरमा राखेपछि भाञ्जीले केही कोसेलीसहित मामालाई बिदा गरिन्। बिहान साढे ८ बजे भाञ्जीसँग बिदा भएर साइकल चढेर घर फर्किएका बलबहादुर बाटैबाट ‘बेपत्ता’ भए। अर्थात् उनी हराए।

भाञ्जीको घरबाट बढीमा २ घण्टामा उनी आफ्नो घर घुर्कौली आइपुग्नुपर्ने थियो। तर साँझसम्म पनि उनी घर पुगेनन्। दिन बित्यो, रात बित्यो। उनको बाटो हेरेर बस्नेका आँखा थाके। तर उनी फर्केनन्। आज आउलान् छैन, भोलि आउलान् छैन। आशैआशमा दसैँ बित्यो, तिहार पनि बित्यो।

घर छाडेर टाढा कतै नगएका उनी बेपत्ता भएपछि आफन्तको मनमा चिसो पस्यो। छिमेकीको सहयोगमा आफन्तले उनको तस्बिरसहित इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दिए। प्रहरीले खोजी सुरु गर्‍यो। आफन्तले पनि सम्भावित सबैतिर खोजे। तर, उनी कतै फेला परेनन्।

उनी बेपत्ता भएको साढे ७ महिना बित्दै थियो। कतै दुर्घटनामा परे कि वा कसैले मारेर पो फालिदिए कि? आफन्त र छिमेकी- बलबहादुरबारे यस्तै अनुमान लगाउँदै थिए।

आफन्तले लगभग माया मारिसकेका तिनै बलबहादुर मंगलबार (यही जेठ २५ गते) बिहान टुप्लुक्क आफ्नो झुपडीमा झुल्किए। उनी भारतको गोरखपुरबाट झण्डै ४० किमि टाढा देवरिया भन्ने ठाउँबाट २ दिन लगाएर घर आइपुगेका हुन्।

मंगलबार बिहान बलबहादुर आफ्ना भाञ्जा सागरको पछि लागेर सागरनाथ वन विकास परियोजनाको जंगल छेउको झुपडीमा आइपुग्दा उनलाई हेर्नेको ठूलै भिड थियो।

आफन्त र छिमेकीले साढे ७ महिनापछि बलबहादुरलाई देख्दा हर्षको आँसु बगाए। आफन्त र छिमेकीको घेराभित्र बलबहादुर आफैँ पनि डाँको छाडेर रोए। सबैले यत्तिका दिन कता हराइस् भनेर सोधे। तामाङ भाषामा लटरपटर बोल्दै र हाउभाउबाट उनले घर फर्किने बाटो भुल्दा निकै सास्ती खेप्नुपरेको बेलिबिस्तार लगाए।

उनी कसरी भारतको गोरखपुरभन्दा टाढा देवरिया भन्ने ठाउँमा पुगे त?

बलबहादुर भाञ्जीकाे घर राजघाटबाट आफ्नो घर घुर्कौली आउन पूर्वतिर लाग्नुपर्ने थियो। तर, पिच गरेका, एकै खालका धेरैवटा सडकका कारण उनी झुक्किए। बाटो बिराए। पूर्व नलागेर दक्षिणतिरको बाटो लागेछन्।

भाञ्जीसँग बिदा भएर उनी साइकल चलाउँदै अघि बढिरहे। जति अघि बढे पनि आफ्नो गाउँ घुर्कौली आएन। उनले कतिपय ठाउँमा साइकल रोकेर घुर्कौली जाने बाटो सोधे। तर उनको भाषा बुझ्ने कोही भएनन्। उनले बोलेको अरूले नबुझ्ने, अरूले बोलेको उनले नबुझ्ने। कुनै आधार र संकेत नहुँदा उनले घर फर्किने मेसो फेला पारेनन्।

घर जाने बाटो भुलेपछि जताबाट आएको उतै फर्किने विवेक पनि उनमा भएन। उनी साइकल चलाएरै भारतको गोरखपुर पुगेछन्। उनी कति दिन लगाएर गोरखपुर पुगे पत्तो छैन। बाटोमा भोक लाग्दा भाञ्जीले झोलामा राखिदिएको कोसेलीले भोक मेटेको र त्याे पनि सकिएपछि भोकै साइकल चलाएको उनी सुनाउँछन्।

उनले कुनचाहिँ नाकाबाट नेपालको सीमा पार गरे भन्ने खुलेको छैन। सर्लाहीको बलरा, गोडैता अथवा मधुवनीमध्ये कुनै नाकाबाट उनी भारत प्रवेश गरेको अनुमान छ।

कसरी गोरखपुर पुग्नुभयो भनेर सोध्दा उनी हाउभाउ गरेर देखाउँछन्। ‘दिनभरि साइकल चलाएँ, भनेको बेला खान पाइनँ, सुत्न पाइनँ। भोकै प्यासै भए पनि साइकल चलाएको चलायै गरेँ। तर, जति हिँडे पनि आफ्नो गाउँ घुर्कौली फेला पार्न सकिनँ,’ बलबहादुर हाउभाउकै माध्यमबाट मनको वह पोख्छन्।

उनी गोरखपुरमा भएको कसरी पत्ता लाग्यो त?

गोरखपुरको देवरिया पुगेपछि उनले एक जना सज्जन फेला पारेछन्। शिक्षण पेसासँगै गाई फारमसमेत चलाउँदै आएका शुभम सिंहले उनलाई आफूसँगै राखेछन्।

सात महिनासम्म बलबहादुरले सिंहकै गाई फारममा काम गरे। गएको तिहारको दीपावलीका दिन बलबहादुर आफ्नो फारममा आइपुगेको शुभम बताउँछन्। खाने/बस्ने व्यवस्था सिंहले नै गरिदिए। बलबहादुरको घर कहाँ हो, नाम के हो? सिंहले खोजी गरेनन्।

राम्रो काम गर्ने मान्छे फेला परेपछि उनले पनि बलबहादुरलाई तुरुन्तै छाड्न चाहेनन् कि!

बलबहादुरको कामबाट उनी खुसी थिए। पारिश्रमिक दिनुनपर्ने, खान मात्रै दिँदा पुग्ने भएपछि बलबहादुरलाई काम लगाउन उनलाई पनि सजिलो भयो। बलबहादुरको घर कसरी पत्ता लगाउने भनेर सोच्दै गर्दा एक दिन उनको आँखा बलबहादुरले चलाउने गरेको साइकलको पछाडि टाँसिएको झल्ला (स्टिकर) मा पर्‍याे। जसमा लेखिएको थियो– साजन साइकल घर, नवलपुर, सर्लाही नेपाल। तर, त्यसमा फोन नम्बर थिएन।

त्यति ठेगानाको भरमा बलबहादुरको घर पत्ता लगाउन गाह्रो थियो। तर, शुभमले जसरी पनि बलबहादुरको घर पत्ता लगाउने अठोट गरे।

त्यसपछि उनले साइकलको पछाडि टाँसिएको ‘साजन साइकल घर, नवलपुर सर्लाही’ ठेगाना गुगलमा सर्च गरे। त्यसबाट उनले साइकल पसल सञ्चालकको मोबाइल नम्बर पत्ता लगाए। साजन साइकल घरका सञ्चालक रहेछन्– सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरका राहुल चौधरी।

शुभमले राहुललाई फोन गरे। बलबहादुरका विषयमा बेलिविस्तार लगाए। शुभमले बलबहादुरको फोटो र साइकलमा टाँसिएको झल्लाको फोटो खिचेर फेसबुक म्यासेन्जरमा राखिदिए।

राहुललाई पनि ७ महिनादेखि बलबहादुर विरानो ठाउँमा अलपत्र परेको सुन्दा दया पलायो। बलबहादुरले चलाएको साइकल राहुलकै पसलमा किनिएको थियो।

त्यसपछि उनले तुरुन्तै बलबहादुरको फोटो पोस्ट गर्दै फेसबुकमा लेखे- ‘यो व्यक्ति हराएर भारतको गोरखपुर पुगेको छ। नाम/ठेगाना केही नखुलेको, बोल्न नसक्ने निजको साथमा रहेको साइकलमा नवलपुर सर्लाही, नेपाल लेखिएको छ। तसर्थ यो व्यक्ति सर्लाही जिल्लाकै हुनुपर्छ भन्ने अनुमान छ। पहिचान गर्नेले फोन सम्पर्क गर्नुहोला। यो पोस्ट सेयर गरेर सहयोग गरिदिनुहोला।’

  191870284 858950288031695 8863187212441908561 n

राहुलको यो पोस्ट देख्नेले भटाभट सेयर गर्न थाले। एकै दिनमा ४ सयभन्दा धेरैले सेयर गरे।

माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले पनि त्यो पोस्ट सामाजिक सञ्जालमा देखे। बलबहादुर बेपत्ता भएदेखि नै बुढाथोकी उनको खोजीमा थिए। बलबहादुर नेता बुढाथोकीका पुरानो चिनजानका मान्छे हुन्।

दुबई र काठमाडौं बस्ने दुई छोरा र अन्य धेरैले राहुलको त्यो पोस्ट बुढाथोकीको म्यासेन्जरमा राखिदिए।

त्यसपछि बलबहादुरलाई नेपाल फर्काउने जिम्मा आफूले लिएको बुढाथोकी बताउँछन्।

‘उनी गोरखपुरमा रहेको जानकारी पाउँदा निकै खुसी लाग्यो,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘जतिसक्दो चाँडो उनलाई नेपाल ल्याउनुपर्छ भन्ने भयो। अनि मैले राहुलजीलाई भेटेर पहल अघि बढाएँ।’

बलबहादुरको घरको ठेगाना पत्ता लागेपछि राहुलले खुसी हुँदै सामाजिक सञ्जालमा अर्को पोस्ट राखे।

 199623122 1540478556292908 6935006661921642552 n

अब बलबहादुरलाई नेपाल ल्याउने विषयमा बुढाथोकी, राहुल र भारतीय नागरिक  शुभमबीच समन्वय सुरु भयो। राहुल र बुढाथोकीले बलबहादुरको घरमै पुगेर चिन्तामा रहेका उनका आफन्तसँग भिडिओमा कुरा गराए। साढे ७ महिनापछि एकअर्कालाई देख्दा दुवैतिर रुवाबासी सुरु भयो।  हर्षको आँसु झारे। दुवैतर्फबाट एकअर्काप्रति माया र सदभाव आदानप्रदान भयो।

 त्यसपछि बुढाथोकीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई घटनाबारे जानकारी गराए। बलबहादुरलाई घर फर्काउन सहयोग मागे। प्रजिअ तामाङले पनि सहयोगको प्रतिबद्धता जनाए।

गाई फारम सञ्चालक  शुभमले भैरहवाको सुनौली बोर्डरसम्म बलबहादुरलाई ल्याइदिने प्रतिबद्धता जनाए। यताबाट उनलाई लिन भैरहवा जाने सल्लाह नेता बुढाथोकी र बलबहादुरका आफन्तबीच हुँदै थियो।

यो खबर भारतको दिल्लीमा रोजगारी गरेर बस्ने बलबहादुरका भाञ्जा सागरले पनि सुने। उनी पनि बोल्न नसक्ने सोझो मामा बेपत्ता भएदेखि चिन्तामा थिए। खबर सुनेपछि उनी आफैँ मामा भएको ठाउँ पुग्न हतारिए।

घरमा फोन गरेर उनले म आफैँ मामालाई लिएर आउँछु, तपाईंहरू आउनुपर्दैन भन्ने खबर गरे। भाञ्जा आफैँले मामालाई लिएर आउने जिम्मा लिएपछि यताबाट कोही जानुपरेन।

गएको आइतबार उनी मामा बसेको गोरखपुरको देवरिया पुगे। साढे ७ महिनादेखि बेपत्ता मामा गाई फारममा काम गरिरहेको भेट्दा उनी भावविह्वल बने। त्यो दिन उनी मामासँगै बसे। दुःख/सुखका कुरा गरे।

भारतीय नागरिक शुभमले सोमबार बिहान केही बाटो खर्च, लुगाफाटो दिएर बलबहादुरलाई गाई फारमबाट बिदा गरे। आफू चढ्ने गरेको थोत्रो साइकल बलबहादुरले ल्याउन चाहेका थिए। त्यो साइकलको उनलाई धेरै माया लाग्छ। तर, भाञ्जा सागरले त्यति टाढाबाट भाडा तिरेर थोत्रो साइकल ल्याउनुभन्दा बरु घर गएपछि नयाँ साइकल किनिदिने वचन मामालाई दिए। मंगलबार उनी मामालाई लिएर घुर्कौलीस्थित घरमा आइपुगेका हुन्।

190278648 309996114080229 1620368994454562086 n

लामो समयदेखि बेपत्ता भएका बलबहादुर फर्किंदा परिवारमा त खुसी छाएको छ नै, वरपरका छिमेकी पनि निकै हर्षित भएका छन्। त्यसभन्दा ठूलाे हर्ष साजन साइकल घरका सञ्चालक राहुल र नेता बुढाथोकीमा देखिएको छ।

‘बाटो भुलेर बेपत्ता भएको एउटा सोझो मान्छे, थोत्रो साइकलको पछाडि टाँसिएको स्टिकरको सहायताले साढे ७ महिनापछि घर फर्किन पाएका छन्। यदि साइकलमा त्यो स्टिकर हुँदैनथ्यो भने उनको जीवन गोरखपुरकै गाई फारममा बित्न पनि सक्थ्यो,’ बुढाथोकीले भने।

192846864 551735226232775 961050141916399583 n

जेठ २६, २०७८, बुधबार


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors