समाज


कोरोना निको भएकाहरुमा देखिँदैछ ‘लङ कोभिड’ समस्या, कसरी जोगिने?

कोरोना निको भएकाहरुमा देखिँदैछ ‘लङ कोभिड’ समस्या, कसरी जोगिने?

यज्ञराज जोशी
जेठ २४, २०७८ सोमबार ११:२,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर घर फर्केका कोरोना बिरामीहरुले अस्पतालका डा. शेरबहादुर पुनलाई पछि पनि फोन गरिरहन्छन्।

कोरोना नेगेटिभ आएपछि पनि थकान महसुस हुने, जिउ दुख्ने, मुटुको धड्कन बढ्ने, खोकी नरोकिने, निद्रा नलाग्ने, डर लाग्नेजस्ता समस्याहरु लामो समयसम्म देखिने गरेको डा. पुनले बताए।

डा. पुनका अनुसार यसलाई मेडिकल भाषामा ‘लङ कोभिड’ भनिन्छ। जुन कोभिडकै कारण स्वास्थ्यमा लामो समयसम्म देखिइरहने समस्या हुन्।

‘थकान महसुस हुने, जिउ तातेजस्तो हुने, मुटुको धड्कन एकदम छिटो चलेजस्तो र अनियमित भएजस्तो हुने, खोकी लागिरहने, छातीमा गाह्रो हुने, जिउ दुख्ने, निद्रा नलाग्ने अनि मानसिक समस्याहरु देखिएका प्रशस्त उदाहरण छन’, डा. पुनले भने, ‘यो कोभिडकै कारण स्वास्थ्यमा रहिरहने समस्या हो। यसका कारण निको भइसकेपछि पनि दैनिकीमा असर गरिरहेको हुन्छ।’

पुनले लङ कोभिडले शरीरका ‘मल्टिपल सिस्टम’मा समस्या आउने भएकाले ढाड, छाती, मुटु, छालाजस्ता अंगहरुसँग सम्बन्धित समस्या ल्याउने र काम गर्ने क्षमतामा पहिलेभन्दा ह्रास ल्याउने गरेको बताए।

पुनका अनुसार दोस्रो लहरमा कालो ढुसीजस्तो अन्य संक्रमण पनि कोरोना निको भएका बिरामीलाई देखिएका छन्। जुन प्रत्यक्ष रुपमा कोरोना भाइरससँग सम्बन्धित नभए पनि त्यसकै असरका रुपमा देखिएको छ।

नेपालमा कोरोना संक्रमण भइसकेका १० जनाभन्दा बढी व्यक्तिमा कालो ढुसी (ब्ल्याक फङगस) देखिइसकेको र एक जनाको निधन भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु, चिकित्सकको सल्लाहविना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु, मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई कालो ढुसीको जोखिम बढी देखिएको डाक्टर पुनले बताए।

‘कति प्रतिशत नेपालमा लङ कोभिडको समस्या छ भनेर विस्तृत अध्ययन भएको छैन। पहिलो लहरमा थुप्रै देखिएको हो’, पुनले भने, ‘दोस्रो लहरमा लङ कोभिडसँगै कालो ढुसीजस्तो अन्य संक्रमणको पनि जोखिम देखिएको छ। कालो ढुसीको मृत्युदर पनि ५० प्रतिशत भएको बताइएको छ।’

नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालले अनुसार पछिल्लो समय नेपालमा पोस्ट कोभिडको समस्या विकराल बन्दै गएको बताए।

‘कोभिड संक्रमणबाट मुक्त भएपछि पनि विभिन्न समस्या देखापर्ने गरेका छन्। ती समस्यालाई बेवास्ता गर्दा कतिको ज्यानै जाने गरेको छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा कोभिड संक्रमणबाट मुक्त भएपछि देखिने समस्याहरुको समयमै निदान अत्यावश्यक हुन्छ।’

डा. जैसवालका अनुसार थोरै समय हिँड्दा नै स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाइ लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षणहरु कोरोना निको भएपछि पनि देखा पर्ने गरेका छन्। यी लक्षण देखिए अस्पताल जानुपर्ने सुझाव उनले दिए।

डा. जैसवालका अनुसार कोभिड ठीक भएपछि पनि कतिपयको मुटुमा रगत जमेर हृदयाघातसम्म हुनसक्ने, कतिपयलाई छारे रोग र पार्किन्सन्सका समस्या पनि देखा पर्नसक्छ।

यस्तै उनले कोभिडको उपचारका लागि धेरै दिनसम्म आईसीयू र सीसीयूमा बसेर बाहिर निस्किएकाहरुलाई ट्रमा (यातना) बाट निस्किएजस्तो समस्या देखिने गरेको बताए।

कति समय रहन्छ?
चिकित्सकका अनुसार कोभिड संक्रमणबाट मुक्त भएको चार हप्ताको अवधिमा केही लक्षणहरु देखिए त्यसलाई ‘पोस्ट कोभिड सिन्ड्रोम’ भएको ठान्नुपर्छ।

डा. पुनले नेपालमा अध्ययन नभए पनि विभिन्न देशमा प्रकाशित प्रतिवेदनका आधारमा तीन महिनामा अधिकांश बिरामी पूर्णरुपमा निको हुने र केही व्यक्तिमा ६ महिनासम्म समस्या देखिने बताए।

उपचार के?
कोभिडको संक्रमणबाट मुक्त भइसकेपछि पनि स्वास्थ्यमा देखा पर्नसक्ने लक्षणहरुलाई बेवास्ता गर्न नहुने चिकित्सकको सुझाव छ। बेलैमा स्वास्थ्य संस्थामा जान र आवश्यक चेकजाँच तथा परामर्श लिन डा. पुनले आग्रह गरे।

‘लङ कोभिडको समस्या केही संख्यामा बिरामीलाई हुन्छ भनेर बुझ्नुपर्यो र मनोवैज्ञानिक रुपमा तयार हुनुपर्यो’, डा. पुनले भने, ‘जुन अंगसँग सम्बन्धित समस्या छन्। ती अंगका चिकित्सक परामर्श गराएर उपचार गर्नुपर्छ।’

पोस्टकोभिड क्लिनिकमा आउने बिरामीहरुको छातिको सिटी स्क्यान वा एक्स–रे गरेर फोक्सो वा सम्भावित निमोनियाको अवस्था हेर्ने गरिएको डा. जैसवालले बताए।

बिरामीहरुको शरीरमा रोगप्रतिरोधी क्षमता कति छ भन्ने जान्न एन्टीबडी जाँचबाट गरिने, हेमाटोलोजी प्रोफाइल, सीआरपीलगायतका जाँच गरी त्यसका आधारमा परामर्श र औषधिहरु दिने गरिएको उनले बताए।

‘सामान्य लक्षण देखिए भने त्यसले केही असर गर्दैन। केही समयमा ठीक हुन्छ भनेर बिरामीहरु मनोवैज्ञानिक रुपमा तयार हुनुपर्छ’, सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘धेरै सिकिस्त, क्रिटिकल अवस्थामा पुगेकालाई केही समयसम्म समस्या देखिन्छ। ज्वरो आयो वा अप्ठ्यारो महसुस भयो भने तुरुन्तै अस्पताल गइहाल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .