भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार एक अध्ययनले अझै पनि ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको देखाएको हो।
राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने, ‘हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत भारतीयले मास्क नलगाउने गरेको पाइएको छ।’
मास्क लगाउनेमध्ये पनि झण्डै ६४ प्रतिशतले मात्रै पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको छ। भारतका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा कोरोनाका सक्रिय सङ्क्रमित छन्। सहसचिव अग्रवालका अनुसार अरु १९ राज्यमा भने ५० हजारभन्दा कम सक्रिय सङ्क्रमितहरू रहेका छन्।
कर्नाटक, पश्चिम बंगाललगायतका केही राज्यहरूमा २५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण नै देखिने गरेको उनको भनाई छ। ‘कुनै एउटा व्यक्तिले सामाजिक दुरी कायम गरेन भने औसतमा एक महिनामा ४०६ जनालाई सङ्क्रमित गराउन सक्ने देखिएको छ,’ उनले भने।
अध्ययनयनले सामाजिक दुरी कायम गर्न र मास्क लगाउन अति आवश्यक रहेकोमा जोड दिएको छ।
भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ९१ हजार ३३१ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोरोनाभाइरसको दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ।
भारतमा कोरोनाका कारण मृत्यु भएकाहरूको सङ्ख्या सरकारले सार्वजनिक गरेको विवरण भन्दा बढी हुनसक्ने विज्ञहरूले दावी गरेका छन्।
भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्या भने घटेको देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ५९ हजार ५९१ जना नयाँ संक्रमित देखिएका छन् भने तीन लाख ५७ हजार २९५ जना संक्रमणमुक्त पनि भएका छन्।
भारतमा अझै पनि ३० लाख २७ हजार ९२५ जनामा सक्रिय संक्रमण छ । भारतमा कोभिड देखिएयता २ करोड ६० लाख ३१ हजार ९९१ जना कूल संक्रमित भेटिएका छन्। त्यसमध्ये २ करोड २७ लाख १२ हजार ७३५ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया