ad ad

समाज


कोरोना संक्रमण : काठमाडौं महानगरको अवस्था डरलाग्दो, १०० परीक्षण गर्दा ७० पोजिटिभ!

कोरोना संक्रमण : काठमाडौं महानगरको अवस्था डरलाग्दो, १०० परीक्षण गर्दा ७० पोजिटिभ!

नेपालखबर
जेठ ३, २०७८ सोमबार ५:५,

पछिल्लो समय काठमाडौं महानगरपालिकामा पीसीआर परीक्षण गरिएकामध्ये ७० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ।

गत शनिबारसम्म ५ स्थानमा स्वाब संकलन केन्द्र राखेर काम गरिरहेको महानगरपालिकाले हरेक दिन संक्रमितको संख्या बढ्दै गएकाले आइतबारदेखि त्यस्ता केन्द्रं १६ वटा स्थापना गरेको छ।

महानगरपालिकाका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६ सय जनाको स्वाब परीक्षण हुने गरेको र तीमध्ये ४ सय २० व्यक्तिमा कोरोना पुष्टि हुने गरेको काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ। ल्याब टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा छ।

‘कोरोना शंका भएका र वडा कार्यालयले खटाएअनुसार अहिले परीक्षण व्यापक बनाइएको छ,’ कुँइकेलले भनिन्। संक्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नुनपर्ने मान्यता रहे पनि काठमाडौं महानगरपालिकाको हकमा भने १४ दिनपछि निको भएकाहरूले पनि पुनः परीक्षण गर्न माग राखेकाले केही समस्या भएको छ।

अहिलेसम्म काठमाडौं महानगरपालिकाले सबैको परीक्षण निःशुल्क गरिरहेको छ। परीक्षण मात्रै होइन, त्यस क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्ससमेत निःशुल्क उपलब्ध गराइरहेको छ। सेवा लिन हटलाइन नम्बर ११८० मा सम्पर्क गर्नुपर्ने हुन्छ।

काठमाडौं महानगरपालिकाका जनस्वाथ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरका अनुसार पछिल्लो समय यहाँ कोरोना संक्रमण दर निकै बढेको छ।, यो क्रम जारी रहने हो भने अवस्था जटिल हुन सक्ने उनले बताए।

‘त्यसैले सबैले बेलैमा सावधानी अपनाउन आवश्यक भएको छ,’ उनले भने।

उनका अनुसार गत वर्षको बन्दाबन्दीमा नागरिक बढी नै सचेत थिए, तर अहिले त्यस्तो छैन।

‘विभिन्न बहानामा घरबाहिर निस्किरहेको पाइन्छ, यसले जोखिम त बढाएको छ नै, नियन्त्रणका लागि कामपाले कठोर कदम चाल्नुपर्ने आवश्यकता पनि देखिएको छ,’ कुँवरले भने।

काठमाडौं महानगरपालिकाभित्र अहिले १० हजारभन्दा बढी सक्रिय संक्रमित छन्। हालसम्म यहाँ ५१ हजार ४१२ जनालाई कोरोना संक्रमण भइसकेको छ। तीमध्ये १० हजार ८०१ सक्रिय संक्रमित छन्। सबैभन्दा बढी वडा नं ३२ मा ४ हजार ७५५ संक्रमित छन् भने सबैभन्दा कम वडा १८ मा २०७ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी यहाँ हालसम्म ४० हजार २३६ जना यस रोगबाट मुक्त भएका छन्। कोरोना संक्रमणकै कारण ३ सय ४५ जनाको मृत्यु भएको छ। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .